१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तयार हुँदै गरेको घोषणापत्रमा ‘भिजन–१०’ समेटिने जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताएका हुन् ।
चालिसेका अनुसार कांग्रेसको घोषणापत्र आकांक्षा र प्रतिवद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ। ‘घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,’ उनले भने।
हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको चालिसेले जानकारी दिए । स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ ।
‘कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,’ चालिसेले भने, ‘यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ ।’
प्रतिक्रिया 4