+
+
Shares

मनाङमा सातौं ‘आइस क्लाइम्बिङ’ तालिम सुरु

तालिममा ३६ जना सहभागी छन् भने उनीहरूलाई ११ अनुभवी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले नेपाल माउन्टेन इन्स्ट्रक्टर्स एसोसिएसनसँग सहकार्यमा मनाङ हुम्देमा सातौं आइस क्लाइम्बिङ लेभल–वान तालिम सुरु गरेको छ।
  • तालिम १३ देखि २२ माघसम्म हिमाली क्षेत्रमा प्राविधिक तथा व्यावहारिक अभ्यासमा केन्द्रित गरी सञ्चालन हुँदैछ।
  • तालिम सफलतापूर्वक सम्पन्न गर्नेले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गर्नेछन् जसले रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको छ।

१४ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल माउन्टेन इन्स्ट्रक्टर्स एसोसिएसन (एनएमआईए) को सहकार्यमा मनाङ हुम्देमा सातौं ‘आइस क्लाइम्बिङ लेभल–वान’ तालिम सुरु गरेको छ ।

१३ देखि २२ माघसम्म सञ्चालन हुने तालिम हिमाली क्षेत्रमा हुने प्राविधिक तथा व्यावहारिक अभ्यासमा केन्द्रित छ ।

कार्यक्रम ९ माघमा काठमाडौंमा ‘सफ्ट ओपनिङ’ गर्दै सुरु भएको थियो । उक्त औपचारिक कार्यक्रममा सहभागीलाई सैद्धान्तिक कक्षा तथा व्यावहारिक पाटोबारे अभिमुखीकरण प्रदान गरी उच्च हिमाली क्षेत्रमा हुने फिल्ड–आधारित तालिमका लागि तयार पारिएको थियो ।

तालिमको उद्देश्य आइस क्लाइम्बिङ सम्बन्धी प्राविधिक सिप सुदृढ गर्नु, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रवर्द्धन गर्नु तथा पर्वतारोहण क्षेत्रमा रोजगारीका अवसर विस्तार गर्नु रहेको छ ।

यो कार्यक्रम हिमालयबाट विश्वस्तरीय, सुरक्षित र व्यावसायिक पर्वतारोहण सेवा प्रदान गर्ने नेपालको दीर्घकालीन दृष्टिकोणसँग मेल खाने बोर्डले जनाएको छ । नेपाली आरोही तथा गाइडहरू विश्वमै उत्कृष्ट मानिँदै आएका छन् ।

तालिममा ३६ जना सहभागी छन् भने उनीहरूलाई ११ अनुभवी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । पाठ्यक्रममा आइस एक्स, क्र्याम्पोन, हार्नेस, हेल्मेट, क्याराबिनर, बेलय डिभाइस, स्लिङ र डोरीजस्ता आवश्यक उपकरण प्रयोग, डोरी फिक्सिङ, एंकर निर्माण, सुरक्षा तथा संरक्षण प्रणाली, उद्धार प्रक्रिया र उच्च हिमाली तथा प्राविधिक पर्वतारोहणका लागि आवश्यक व्यावहारिक अभ्यास समावेश छन् ।

हुम्देमा भइरहेको फिल्ड–आधारित तालिम अवलोकनमा पुगेका बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर र प्रबन्धक विमल कँडेलले पर्वतारोहण क्षेत्रमा क्षमता अभिवृद्धि र व्यावसायिक विकासप्रति बोर्ड र एनएमआईएको साझा प्रतिबद्धताले सकारात्मक परिणाम ल्याउने बताएका छन् ।

तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले नेपाल तथा अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा उनीहरूको व्यावसायिक विश्वसनीयता र रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?