News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर कौशलटारस्थित चाहना पाउरोटी उद्योगको उत्सव ब्रान्डका ६२४ प्याकेट फिर्ता गर्न निर्देशन दिएको छ।
- उद्योगको स्थलगत निरीक्षणमा उत्सव ब्रान्डको मिल्क ब्रेडको उत्पादन र उपभोग्य मिति गलत तरिकाले छापिएको फेला परेको विभागले जनाएको छ।
- विभागले गुणस्तर परीक्षणका लागि सर्भिलेन्स नमुना संकलन गरी प्रयोगशाला पठाएको छ र उद्योगलाई आधिकारिक प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ।
१४ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर कौशलटारस्थित चाहना पाउरोटी उद्योग प्रालिले उत्पादन गरेको ‘उत्सव’ ब्रान्डका ६ सय २४ प्याकेट पाउरोटी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले प्राप्त उजुरीका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम ११ माघमा उक्त उद्योगको स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षण क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य पाइए पनि उत्पादित वस्तुको लेबलमा भने गम्भीर त्रुटि भेटिएको विभागले जनाएको छ ।
अनुगमन क्रममा उक्त उद्योगले उत्पादन गरेको उत्सव ब्रान्डको मिल्क ब्रेडको लेबलमा उत्पादन र उपभोग्य मिति गलत तरिकाले छापिएको फेला परेको थियो ।
ब्रेडको प्याकेटमा उत्पादन मिति ‘२३.०२.२६’ र उपभोग्य मिति ०१.०२.२६ उल्लेख गरी बिक्री वितरण भइरहेको पाइएको हो । यस्तो गल्ती प्रिन्टका कारण उपभोक्ता झुक्किने र स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि विभागले तत्काल कदम चालेको प्रवक्ता डा. बालकुमारी शर्माले बताइन् ।
विभागले लेबलमा त्रुटि देखिएका उत्सव ब्रान्डका ६ सय २४ प्याकेट पाउरोटी बजारबाट तत्काल फिर्ता ल्याई त्यसको आधिकारिक प्रमाण सहित विभागमा उपस्थित हुन उद्योगलाई निर्देशन दिएको छ ।
साथै, उक्त पाउरोटीको गुणस्तर परीक्षणका लागि विभागले सर्भिलेन्स नमुना संकलन गरी प्रयोगशाला पठाएको छ ।
प्रतिक्रिया 4