+
+
Shares

उदयपुर-२ : दोहोरिने दाउमा एमालेका रायमाझी, अवसर खोज्दै अन्य 

यस क्षेत्रमा यस पटक १३ उम्मेदवारमध्ये १० जना जनजाति समुदायका छन्।

अभिमन्यू लामिछाने अभिमन्यू लामिछाने
२०८२ माघ १९ गते १७:४८

१९ माघ, उदयपुर । आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू मतदाता समक्ष पुगिरहेका बेला टोलटोलसम्मै पार्टीका सम्पर्क कार्यालयहरु स्थापना भइरहेका छन् ।

क्षेत्रको केन्द्र रहेको कटारी बजारमा सबै दलहरुले क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालयहरु खोलेर गतिविधि अगाडि बढाएका छन् । यसअघि कम्युनिस्ट पार्टीहरुले चुनाव जितेको यस क्षेत्रमा यसपटकको चुनावको नतिजा कसको पक्षमा जाला आकंलन गर्न भने कठिनाइ छ ।

२०७४ र २०७९ को निर्वाचनमा कम्युनिस्ट प्रभाव देखिएको यहाँ यसपटक एमालेका निवर्तमान सांसद अम्बरबहादुर रायमाझी पुनः उम्मेदवार बनेका छन् ।

उनीसँगै नेपाली कांग्रेसबाट रामकुमार राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुरेशकुमार राई ‘हिमाल’, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्य लामा, श्रम संस्कृति पार्टीबाट बलराज राई र स्वतन्त्र उम्मेदवार मेजरकुमार राईसहित १३ जना चुनावी मैदानमा छन् ।

२०७९ को निर्वाचनमा ४२ हजार १६१ मत सदर हुँदा रायमाझीले १५ हजार २५१ मत ल्याएर जितेका थिए । तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत पाएर पराजित भएका थिए ।

कांग्रेसबाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवार बनेका रामकुमार राईले १० हजार ३७९ मत ल्याउँदा खतिवडाको हार भएको थियो । राई अहिले कांग्रेसका आधिकारिक उम्मेदवार हुन् ।

यस क्षेत्रमा बहुदलपछि पनि कम्युनिस्ट र गणतन्त्रपछि ०७० सालमा भएको संविधानसभाको एक चुनावमा मात्र कांग्रेसका नारायणबहादुर कार्की विजयी भएका थिए भने बाँकी सबै निर्वाचनमा कम्युनिस्ट पार्टीका उम्मेदवार नै विजयी हुँदै आए ।

समानुपातिकतर्फ ४२ हजार ३५६ मतमध्ये एमालेले १३ हजार ९०३, कांग्रेसले १० हजार ५१५, माओवादी केन्द्रले सात हजार ४०६ र एकीकृत समाजवादीले दुई हजार २३५ मत पाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ८०६ मत पाएको थियो । क्षेत्र नम्बर २ अन्तर्गत उदयपुरगढी गाउँपालिकामा २० हजार ८७९, रौतामाईमा १४ हजार ९९३, लिम्चुङबुङमा आठ हजार ६८९, कटारी नगरपालिकामा ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा १० हजार १५५ गरी कुल ९६ हजार १२२ मतदाता छन् ।

बदलिँदो राजनीतिक वातावरणसँगै यस क्षेत्रमा पनि मत परिवर्तनको संकेत प्रष्ट छ । यसले एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीजस्ता पुराना दललाई चुनौती थपेको छ भने नयाँ दललाई अवसर देखिएको छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षतर्फ मत बढेमा पुराना दलका उम्मेदवार अप्ठ्यारोमा पर्न सक्छन् । त्यसैगरी श्रम संस्कृति, राष्ट्रिय परिवर्तन पार्टी पनि यहाँ आफूलाई बलियो बनाउने प्रयासमा देखिन्छन् ।

यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार मेजरकुमार राई मैदानमा छन् । राई ‘भँगेरो चरा’ चिह्न लिएर मत मागिरहेका छन् । उनी तत्कालीन माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकामा दुईपटक अध्यक्ष निर्वाचित जनप्रतिनिधि हुन् । गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएर उनी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

अधिकांश उम्मेदवार जनजाति

यस क्षेत्रमा यस पटक १३ उम्मेदवारमध्ये १० जना जनजाति समुदायका छन्। जसमा कांग्रेसबाट रामकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई (हिमाल) श्रम संस्कृति पार्टीबाट बलराज राई, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई, स्वतन्त्रबाट मेजरकुमार राई, मंगोल नेशनल अर्गनाईजेसनबाट भाष्कर राई ६ जना त राई समुदायकै छन् ।

त्यसैगरी रास्वपाबाट सूर्य लामा, आम जनता पार्टीबाट बमबहादुर मगर , नेकपा माओवादीबाट दुर्गा बहादुर तामाड्ढ , जनता समाजवादी पार्टी बाट केशवबहादुर मगर गरी १० उमेदवार जनजाति समुदायबाट हुँदा एमालेबाट अम्बरबहादुर रायमाझी, राप्रपाबाट विष्णुबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर खड्का खस आर्य समुदायबाट उम्मेदवार छन् ।

यस क्षेत्रमा यस पटक १ स्वतन्त्रसहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । कटारी नगरपालिका , उदयपुरगढी , रौतामाई , ताप्ली र लिम्चुङबुङ गाउँपालिका गरी ५ स्थानीय तह रहेको यस निर्वाचन क्षेत्रमा ९६ हजार १ सय २२ मतदाता छन् । ५१ मतदान स्थलका १ सय १५ मतदान केन्द्रमार्फत मतदाताले यस क्षेत्रमा मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?