+
+
Shares

‘जालझेल गरेर जेलेन्स्कीहरू तयार पारिँदैछ’

अहिले नयाँ राजनीतिक दलहरूले विचार भन्दा व्यक्ति केन्द्रित अभियान चलाइरहेका बेला संयोजक प्रचण्डले उनीहरूका प्रवृत्तिमाथि संकेत गर्दै बोलेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते २०:००

१९ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विचारधाराबिना सोसल मिडियामा स्टन्ट गरेका भरमा नेपाली जनताको दिमाग खराब गर्ने प्रवृत्ति बढेको भन्दै त्यसले मलुकलाई बर्बादीमा लैजाने टिप्पणी गरेका छन् ।

चुनावका लागि उम्मेदवारी दर्तापछि जिल्ला घुमेर अहिले काठमाडौंमै आइपुगेका दाहालले अहिले देखिएका राजनीतिक परिदृश्यहरूबारे अनलाइनखबरसँगको विस्तृत अन्तर्वर्तामा यस्तो धारणा राखेका हुन् ।

अहिले नयाँ राजनीतिक दलहरूले विचार भन्दा व्यक्ति केन्द्रित अभियान चलाइरहेका बेला संयोजक प्रचण्डले उनीहरूका प्रवृत्तिमाथि संकेत गर्दै बोलेका छन् ।

‘बिना विचारधारा बिना सिद्धान्त बिना मान्यता सोसल मिडियामा स्टन्ट नै गरेको भरमा जनताको दिमाग खराब गर्ने जो प्रवृत्ति छ त्यो कुनै देशभक्त नेपालीको प्रवृत्ति हुन सक्दैन त्यो कुनै राष्ट्र र जनताप्रति माया गर्ने मानिसहरूको प्रवृत्ति हुन सक्दैन,’ संयोजक दाहालले भनेका छन् ।

लोकप्रियतावादको हावाहुरीले विश्वलाई छोइरहेको बेला त्यस्तै प्रवृत्ति नेपालमा पनि आएको उनले उल्लेख गरेका छन् । ठूला पुँजीतिहरूले यस्ता ‘भुइँफुट्टा’ वर्गलाई अगाडी ल्याउने गरेको उनको टिप्पणी छ ।

‘नवउदारवादी सिस्टम भित्रबाट ठूला ठूला पुँजीपतिहरुले विश्वभरि आफ्नो शासन सत्ता सुदृढ गर्ने उद्देश्यका साथ त्यस्ता भुइँफुट्टाहरूलाई अगाडि ल्याउने र तिनीहरूद्वारा आफ्नो स्वार्थ पूर्ति गर्ने एउटा प्रवृत्ति जो चलेको छ मेरो दृष्टिमा अहिले त जसलाई नयाँ भन्ने गरिएको छ । स्टन्ट दिने गरिएको छ । ती नयाँ होइन सबभन्दा पुराना हुन्,’ उनले भने,’ तिनीहरू विश्व साम्राज्यवादका रणनीतिका अंग बनेर देखा परेका छन् मैले नेपालमा मात्रै भन्या छैन विश्वभरि यो ट्रेन्ड देखा पर्दै छ मैले त्यसकारण म नेपाली जनतालाई र नेपाली राजनीतिमा नयाँ भनेको अहिले पनि हामी गणतन्त्रवादी नै हो संघीयतावादी नै हो पहिचानवादी नै हो समावेशी समानुपातिक मान्यता वाला नै हो ।’

उदारवादले सिर्जना गरेको विश्व साम्राज्यवादले सिर्जना गरेका भुइँफुट्टाहरू भनेर रास्वपालाई भन्न खोज्या हो ? प्रश्नमा उनले नाम चाहिँ लिएनन् । तर उनीहरूका प्रवृत्तिप्रति भने इंगित गरे ।

‘विश्वभरि नै साम्राज्यवाद संकटमा छ । त्यो संकटमा परेको पुँजीवादले यस्ता मान्छे खोजि राख्या छ पपुलिस्ट अथवा यस्तो विचारद्वारा उत्प्रेरित गरेर आफ्नो दलाल तयार पार्न खोज्दै छ जसले उसको इशारामा जे पनि गर्न तयार होस्, जलाउन पनि तयार होस्, मार्न पनि तयार होस्, मर्न पनि तयार होस्,’ दाहालले भनेका छन् ।

विश्व पुँजीवादले साम्राज्यवादले फैलाउन खोजेको र त्यसको बाछिटा नेपालमा पनि आउन खोजेको हो कि भन्ने सोच्नुपर्ने अवस्था आएको दाहालले बताएका छन् ।

‘प्रत्येक देशभक्त नेपालीले जसलाई राष्ट्रको माया छ जसलाई दशकौं देखि गरेको संघर्ष विद्रोह आन्दोलन त्याग बलिदानबाट स्थापित भएका मूल्य मान्यता छन् रातारात रातारात विध्वंस गरेर चाहिँ सिध्याउन खोज्ने प्रवृत्ति कहीँ त्यस्तो त होइन भनेर पनि आम नेपाली जनताले निधार खुम्च्याएर राम्रैसँग सोच्नु पर्ने बेला आएको छ,’ उनले भने ।

विश्वव्यापी रुपमा कमजोर राष्ट् माथि हैकम जमाउने र अनेक चल्खेल जालझेल गरेर जेलेन्स्कीहरु तयार पार्ने प्रवृत्ति बढेको उनले दाबी गरे ।

‘लोकप्रियतावादको नाममा इतिहासलाई बदनाम गर्ने त्याग तपस्या र निष्ठा को राजनीतिलाई निस्तेज पार्ने, पुराना पार्टी नेताहरु केही होइनन् भन्ने गरियो, आफ्नै आमाबाउलाई रुवाउने छोराछोरीले देश बनाउँछन् समाज बनाउँछन् भन्ने सोचियो भने त्यो पनि दुर्भाग्यपूर्ण हुन्छ ।’

(अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले संयोजक दाहालसँग गरेको पूर्ण अन्तर्वार्ता केहीबेरपछि प्रकाशन/प्रसारण हुनेछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?