+
+
Shares

निर्वाचन आयोगले भन्यो– अब ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन

‘सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन । निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ । यहाँ कसैले बिथोल्न सक्दैन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते ११:०४

२३ माघ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् ।

‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ’, कावा प्रमुख आयुक्त भण्डारीले भने ।

भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । त्यसक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका हुन् ।

यसकारण प्रारम्भमा सुरक्षाको विषयमा धेरैको चासो रहनु स्वाभाविक रहेको कावा प्रमुख आयुक्त भण्डारी बताउँछन् । ‘विद्रोहपछिको सरकार हो । संविधान जीवित छ,’ उनी भन्छन्, ‘पुरानो भइरहेको शक्ति र नयाँ आएका शक्तिहरूको बिचमा सन्तुलित वातावरण कायम भएन भने निर्वाचन शान्तिपूर्ण वातावरणमा हुँदैन् ।’ सुरक्षाका चुनौती पहिचान गरेर सरकारसँग पटक–पटक छलफल गरिएको उनले जानकारी दिए ।

शान्ति सुरक्षाका सन्दर्भमा दलको नेता, दलले छानेको उम्मेदवारको विषय आउने गरेको पनि उनले स्मरण गरे । ‘अझ निर्वाचन प्रक्रियामा भाग लिन, मतदान गर्न जाने मतदाताको सुरक्षाको विषयकेन्द्रित छलफल पनि हुँदै आएका छन्,’ उनले भने ।

सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग आयोगले गर्दैआएका छलफलका आधारमा अहिले मतदाताको सुरक्षा गर्न सुरक्षा निकाय सक्षम रहेको पाइएको उनले बताए ।

‘सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन,’ कावा प्रमुख आयुक्त भण्डारीले भने, ‘निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ । यहाँ कसैले बिथोल्न सक्दैन् ।’ बिथोल्नखोज्ने तत्त्व सुरुमै परास्त भएपछि कुरा सकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?