+
+
Shares

पुल नबनाएको विरोधमा प्रधानमन्त्री, सीडीओ र ठेकेदारको पुत्ला दहन

चार वर्षदेखि अलपत्र पुल निर्माणमा चासो नदेखाएको भन्दै स्थानीयले सोमबार बिहान भेला भएर पुत्ला जलाएका हुन् । पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुको साटो सरकारले म्याद थपेर संरक्षण गरेको आरोप स्थानीयको छ ।

सुरेश राय सुरेश राय
२०८२ माघ २६ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा चार वर्षदेखि अलपत्र पुल निर्माणको माग गर्दै स्थानीयले प्रधानमन्त्री, सीडीओ र ठेकेदारको पुत्ला जलाएका छन्।
  • अलपत्र पुल नजिक आइतबार राति भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् भने दुई महिनामा त्यही स्थानमा तीन दुर्घटना भइसकेका छन्।
  • ठेक्का सम्झौताअनुसार २५ मिटर लम्बाइको पुल १५ मंसिर ०८१ भित्र सम्पन्न हुनुपर्ने थियो, तर ३९ प्रतिशत मात्र काम भएको र ठेकेदार सम्पर्कविहीन छन्।

२६ माघ, सिरहा । सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा पुल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले प्रधानमन्त्री, प्रमुख जिल्ला अधिकारी (सीडीओ) र ठेकेदारको पुत्ला जलाएका छन् । उनीहरुको प्रदर्शनका कारण हुलाकी सडक अवरुद्ध भएको छ ।

चार वर्षदेखि अलपत्र पुल निर्माणमा चासो नदेखाएको भन्दै स्थानीयले सोमबार बिहान भेला भएर पुत्ला जलाएका हुन् । पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुको साटो सरकारले म्याद थपेर संरक्षण गरेको आरोप स्थानीयको छ ।

स्थानीय दिपेन्द्र यादवले पटक–पटक आन्दोलन गर्दा पनि ठेकेदारलाई कारबाही नगरी सामान्य काम गराएर फेरि अलपत्र छोड्न दिने प्रवृत्ति सरकारकै संरक्षणमा भइरहेको आरोप लगाए । ‘सरकारले कारबाही गर्नुको साटो म्याद थप गरेर ठेकेदारलाई भाग्न सजिलो बनाइरहेको छ,’ यादव भन्छन्, ‘जबसम्म ठेकेदार र सीडीओ, एसपी आन्दोलनकारीसम्म आएर निर्माण कार्यबारे जवाफ नदिएसम्म आन्दोलन जारी रहन्छ ।’

बारम्बार दुर्घटना

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत औरही गाउँपालिका–४ इँटाटारस्थित सहजा खोलामा निर्माणाधीन पुल चार वर्षदेखि अलपत्र छ । अलपत्र पुल नजिक आइतबार राति पुन: सवारी दुर्घटना भएको छ । पूर्वबाट सिरहातर्फ आउँदै गरेको बागमती प्रदेश ७८२१ नम्बरको कार राति करिब १२ बजे खोलामा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार डाइभर्सनतर्फ मोडिनुपर्ने ठाउँमा सिधै जाँदा कार खोलामा खसेको अनुमान गरिएको छ । दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–१४ निवासी २२ वर्षीय अभिषेककुमार राय, ३९ वर्षीया दीपिका कुमारी उपाध्याय र २० वर्षीया प्रिती पटेल घाइते भएका छन् । उनीहरूको सिरहा प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो स्थानमा पछिल्लो दुई महिनामा तीन दुर्घटना भइसकेका छन्, जसमा एक प्रहरी जवानको मृत्यु भएको छ ।

गत २७ कात्तिकको राति ड्युटीमा जाँदै गरेका करिब २६ वर्षीय प्रहरी जवान सागर हास्दाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको थियो । त्यसको भोलिपल्ट २८ कात्तिकमा बा. १५ च ३६७ नम्बरको कार दुर्घटना हुँदा चालक राकेश यादव घाइते भएका थिए ।

पुल निर्माण नहुँदा बारम्बार दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले आक्रोशित छन् ।

४ करोड ४८ लाख रुपैयाँ भुक्तानी, जम्मा ३९ प्रतिशत काम

ठेक्का सम्झौताअनुसार २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको आरसिसी पुल १५ मंसिर ०८१ भित्र सम्पन्न हुनुपर्ने थियो । तर पुलको दुवैतर्फ पाइल ढलानपछि काम अलपत्र छोडिएको छ ।

२०७९ माघ १५ गते ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा.लि., महेन्द्रनगर धनुषाले पुल तथा कल्भर्ट निर्माणको ठेक्का पाएको थियो । एक पटक म्याद थप भइसके पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

निर्माण कम्पनीले करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि जम्मा ३९ प्रतिशत काम मात्र सम्पन्न भएको छ । दरैयामा निर्माण हुने बक्स कल्भर्टको काम त सुरु नै भएको छैन ।

हुलाकी सडक निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार ठेकेदार हाल सम्पर्कविहीन छन् । एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने तयारीमा रहेको उनले बताए ।

सिरहामा हुलाकी सडकअन्तर्गत रहेका पाँच योजनामध्ये हालसम्म लगदीगढियानी सडकको काम मात्र अघि बढेको छ । अन्य योजनाहरूको सुरुआत अझै अनिश्चित छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?