नयाँबस्ती तनहुँ । टुक–टुक–टुक !
भानु नगरपालिका–१ नयाँबस्तीमा बिहान सखारैदेखि राति अबेरसम्म यही धुन निस्किरहन्छ। काठमा छिनो ठोक्किँदा उठ्ने आवाज हो यो। दिपक गन्धर्व निरन्तर काठ कुँदिरहन्छन् ।
बिस्तारै एउटा सुन्दर आकृति निकाल्छन्, अनि बल्ल बन्छ सारंगी । यही सारंगीले यहाँका मानिसका दुःख, अभाव र संघर्षका धुन निकाल्छ ।
हिउँदको उत्तरार्ध छ । बिहान १०–११ बजेसम्म कुहिरोले बस्ती छोड्दैन । तर कुहिरोभित्रको बस्तीको कल्याङमल्याङ बिहान ६ नबज्दै सुरु भइसकेको हुन्छ। झिल्के गन्धर्व सबेरै सारंगीको तार मिलाउँछन्, झोलामा राख्छन् र बाटोतिर लाग्छन् – गीत सुनाउन, कथा सुनाउन र छोराले बनाएको सारंगीका ग्राहक खोज्न । यसपटक पनि हामी बस्ती पुग्दा उनी सारंगी रेट्न निस्किसकेका थिए ।

देश फेरि चुनावमा छ । फागुन २१ गते हुने चुनावमा तनहुँ क्षेत्र नम्बर १ मा पर्ने नयाँ बस्तीका नागरिक पनि भोट हाल्न जाँदैछन् । त्यसैले यहाँ पनि छलफलको विषयबस्तु आउँदैगरेको चुनाव, अघिल्पटक नेताहरूले गरेको बाचा छ, यसपटक भोट माग्न आउँदा के भन्लान् भन्ने उत्सुकता छ ।
उम्मेदवारका नाम, पार्टीका झण्डा र भाषणहरूबारे आ-आफ्नै तर्क छ । मन परेका नेताहरूको समर्थन र मन नपरेका नेताको आलोचना अन्तजस्तै यहाँ पनि छ । नयाँबस्तीका गन्धर्वहरूका लागि चुनाव कुनै नयाँ अनुभव होइन, उनीहरूले यो दृश्य पटक–पटक देखेका छन् । यो अरू क्षेत्रका नागरिकको जस्तै समान दृष्य हो । यहाँका मान्छेहरूमा फरक एउटा पक्ष पनि छ- उनीहरूले राज्य र आफ्ना नेताहरूसँग गुनासो गर्न छोडिसके । तर सबै पुगिसरी आएर होइन, यी यस्तै त हुन नि भन्ने अनुभूति भएर हो ।

यसपटक तनहुँ–१ मा नेकपा एमालेबाट भगवती न्यौपाने उम्मेदवार बनेकी छन् । उनी यसअघि राष्ट्रिय सभा सदस्य भइसकेकी नेता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन्, जसले यसअघिको उपनिर्वाचन जितेका थिए ।
वाग्ले आगामी सरकारमा अर्थमन्त्री बन्दैछन् भनेर रास्वपाले उनका लागि भोट मागिरहेको छ ।
नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । नेकपाका विद्यानाथ ढकालसहित १३ दल र ३ जना स्वतन्त्र उम्मेदवारले यस क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् । सबै दलका नेताहरू विकास, समावेशीकरण र परिवर्तनका कुरा गर्दै मतदाता समक्ष पुगेका छन् । यहाँ नेताका कुरा साना छैनन्,जनताका माग ठूला छैनन् ।
घोषणापत्रमा निःशुल्क स्वास्थ्य, गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनाका वाचा छन्। दलित समुदायको जीवनस्तर सुधार्ने प्रतिबद्धता पनि छ । तर नयाँबस्तीका बासिन्दाले यी शब्दलाई कागजभन्दा बाहिर कहिल्यै देखेका छैनन् । उनीहरूलाई देशको अरू ठाउँभन्दा फरक व्यवहार चाहिएको पनि छैन-उनीहरू केवल आफूलाई पनि राज्यले देखोस् भन्ने चाहन्छन् ।

दिपक गन्धर्व राजनीति चिरफार गरेर बोल्ने मान्छे होइनन्। तर देशको गति किन सुस्त छ भन्ने प्रश्नमा उनी स्पष्ट छन् । ‘बाटोघाटो, पानी, बिजुलीको समस्या त देशकै समस्या हो,’ उनी भन्छन्, ‘यसको मूल समस्या राजनीति नै हो ।’
उनको स्वरमा गुनासोभन्दा स्वीकारोक्ति बढी छ ।
‘लास बोक्ने मान्छे पनि छैनन्,’ उनी थप्छन्, ‘तर कसैले केही गरिदिएन भनेर रोएको पनि छैनौँ। देश बन्यो भने यो गाउँ पनि बन्ला ।’
गन्धर्व समुदाय इतिहासमा गीत–संगीतमार्फत समाचार सुनाउने, गाउँ–गाउँ कथा बाँड्ने समुदाय थियो । रेडियो र सञ्चारमाध्यम नहुँदाको नेपालमा उनीहरू नै सूचना प्रवाहका माध्यम थिए । तर समय फेरियो । सञ्चार प्रविधि आयो, भूमिका फेरियो । भूमिका सकियो, तर राज्यले वैकल्पिक रोजगारी, सीप विकास वा सामाजिक सुरक्षाको व्यवस्था गर्न सकेन । त्यसैले आज पनि धेरै गन्धर्व परिवार बाध्यताले परम्परागत पेशामै अडिएका छन् ।
धनमाया गन्धर्वको घरबाट एउटै चुनावमा ८–९ वटा भोट जान्छ ।

‘जित्ने बेला नेताहरू आउँछन्,’ उनी भन्छिन्, ‘देश बनाउँछु भन्छन्। भोट पनि दिएका हौँ, जिताएर पठाएका हौँ । तर जितेर गएपछि फर्केर आउँदैनन् ।’
उनका लागि यो नयाँ अनुभव होइन । अघिल्लो चुनावमा पनि यही कुरा र वाचा सुनिन् । अहिले पनि भाषण उस्तै छन् । ‘देश बनाउने कोही नेता यहाँ आएनन्,’ उनी भन्छिन् ।

दलित समुदायको औसत जीवनस्तर राष्ट्रिय औसतभन्दा तल छ। स्वास्थ्य र शिक्षामा पहुँच कमजोर छ। नीति निर्माण तहमा प्रतिनिधित्व न्यून छ। संविधान र घोषणापत्रमा समावेशी अधिकार लेखिएपनि व्यवहारमा परिवर्तन देखिँदैन । गन्धर्व समुदाय पनि यही यथार्थभित्र बाँचिरहेको छ ।
रेखा गन्धर्व विकास शब्दसँग परिचित छिन्, तर विकासको अनुभूति छैन । ‘जिन्दगीको गुजारा हामी आफैंले दुःख–सुख गरेर गरिरहेकै छौँ,’ उनी भन्छिन् । राज्यप्रति ठूलो अपेक्षा नराखे पनि आधारभूत विषयमा उनको स्वर बदलिन्छ ।
‘स्वास्थ्य र शिक्षामा समस्या छ,’ उनी भन्छिन्, ‘निःशुल्क गरिदिए हुन्थ्यो ।’ चुनावमा भोट दिएको सम्झाउँछिन्, जिताएर पठाएको बताउँछिन् । ‘तर जितेर गएपछि कोही फर्केर आउँदैन,’ उनी भन्छिन्, ‘सबैको एउटै छ।’

भवानी गन्धर्वका दुवै मृगौला फेल भएका छन्। सुकुम्बासी आयोगले दिएको सानो जग्गामा उनको घर छ । ‘सरकारले हेरेको छैन,’ उनी भन्छिन्, ‘आफैँ गर्नुपर्छ।’
हप्तामा १५–२० हजार रुपैयाँ उनको उपचारमै जान्छ। यस्तो बेलामा बस्तीभन्दा पर काठमाडौंको खबर आइपुग्छ—राज्य स्वास्थ्य बीमा कार्यक्रम धान्न नसक्ने अवस्थामा पुगेको छ। सरकारी अस्पतालमा पनि परीक्षण र औषधिको खर्च गरिब परिवारको पहुँचबाहिर छ।
‘भोट माग्न आउँदा सबै चिनेजस्तो गर्छन्,’ भवानी भन्छिन्, ‘नचिनेकाले पनि दाइ, काकी भन्छन् । जितेर गएपछि फर्किन्नन् ।’
विशाल गन्धर्व आफ्नो जीवनलाई गणितमा राख्छन् । ‘३० दिन काम गर्यो भने ३० वटा सारंगी बन्छ,’ उनी भन्छन्, ‘दालभात खान पुग्छ।’

तर त्यो गणितमा शिक्षा, उपचार र भविष्य अट्दैन। सरकार लोकवाद्य संरक्षणको कुरा गर्छ, तर वाजा बनाउने र बजाउने कलाकारको जीवनस्तर सुधार्ने स्पष्ट नीति देखिँदैन।

‘सामान्य स्कुल पढ्दा पनि फिस लाग्छ,’ विशाल भन्छन्, ‘सामान्य अस्पताल गयो भने ५० हजार रुपैयाँ पुग्छ ।’ उनको माग ठूलो छैन । ‘स्वास्थ्य र शिक्षा फ्रि हुनैपर्छ,’ उनी भन्छन्, ‘अहिले युवाले खोजेको नै त्यही हो ।’
अनिल गन्धर्व हरेक बिहान मुग्लिनतिर लाग्छन् । ‘डुम्रेबाट खैरेनी, खैरेनीबाट मुग्लिन,’ उनी भन्छन्, ‘गीत गाउँछु, सारंगी बजाउँछु।’ तर उनी स्पष्ट छन्,‘सारंगी बजाएर रोजगारी पुग्दैन ।’
यहाँका छोरीहरू ११–१२ कक्षा पढेर पनि काम नपाएर घरमै छन् । शिक्षा रोजगारीसँग जोडिएको छैन । सीप तालिम बस्तीमा पुगेको छैन । यो केवल गरिबी मात्रै होइन, राज्यको नीतिगत असफलताको प्रत्यक्ष परिणाम हो ।
फागुन २१ गते तनहुँ–२ का मतदाता फेरि मत हाल्न जाँदैछन् । एमालेकी भगवती न्यौपाने, रास्वपाका स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई यस बस्तीका लागि नयाँ र अपरिचित नाम होइनन् न त नयाँबस्तीका गन्धर्वहरूले सुन्दै आएको वाचा नै नयाँ हो । अघिल्लो चुनावमा जे भनिएको थियो, अहिले पनि त्यही दोहोरिएको छ ।

यहाँका मानिसहरू क्रान्ति मागिरहेका छैनन् । उनीहरू मागिरहेका छन्-व्यवहारिक स्वास्थ्य सेवा, शुल्कबिना शिक्षा, सीप र रोजगारीसँग जोडिएको नीति । संस्कृति संरक्षण होइन, संस्कृति बोक्ने मानिसको जीवन संरक्षण ।
सारंगी उनीहरूको पहिचान हो। तर यी नागरिक चाहँदैनन् – गरिबी नै आफ्नो नियति बनोस् ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4