News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ।
२८ माघ, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा ’नेपाल फर्मा एक्स्पो २०२६’ हुने भएको छ । एपोनले बुधबार पत्रकार सम्मेलन गरी नेपाल फर्मा एक्स्पोको दशौं संस्करण आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा हुने जानकारी दिएको हो ।
‘फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्सपोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखेको नेपाल फर्मा एक्सपो कोअर्डिनेटर सन्तोष बरालले जानकारी दिए ।
उनका अनुसार यस पटकको एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहनेछन् । त्यसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन गरिनेछ । विशेषतः यस एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहनेछ । जसले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्नेछन् । बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिने बरालले बताए ।
यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो भएको एपोनका अध्यक्ष विप्लव अधिकारीले बताए । ‘हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन्’ अधिकारीले भने ।
यस एक्स्पोमार्फत सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन उद्देश्य रहेको एपोनका महासचिव सन्तोष बरालले बताए । धेरैलाई अझै पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि बन्छ भन्ने थाहा नभएको उनको भनाइ छ ।
औषधि क्षेत्रको ज्ञान लिन चाहने जो– कोहीका लागि प्रवेश निःशुल्क गरिएको उनले जानकारी दिए । ‘सबैले नेपाली औषधिको क्षमता र सामर्थ्य बुझ्दै नेपालमै गुणस्तरीय औषधि उत्पादन भइरहेको विषयमा जानकारी पाउनुहुनेछ’ बरालले भने ।
यस पटकको एक्स्पोलाई संघले एउटा उत्सवका रूपमा मनाउँदै विभिन्न पूर्व–कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बरालले जानकारी दिए । पहिलो कार्यक्रम अन्तर्गत माघ २ र ३ गते १६ वटा उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सम्पन्न भइसकेको छ ।
आगामी फागुन ८ र ९ गते ८ वटा उद्योगहरूको सहभागितामा ’क्रिकसल’ प्रतियोगिता आयोजना गरिनेछ । खेलकुदसँगै शैक्षिक र व्यावसायिक विकासका लागि फागुन ४ र ५ गते नै १०० जना म्यानेजरहरू र बजारमा कार्यरत १०० जना औषधि बजार प्रतिनिधि (एमआर) हरूका लागि विशेष तालिम तथा सेमिनार सञ्चालन गरिनेछ ।
प्राविधिक पक्षलाई अझ सुदृढ बनाउन एक्स्पोको एक दिन अगाडि फागुन २७ गते नेपाली औषधि उद्योगमा कार्यरत क्वालिटी कन्ट्रोलका फर्मासिस्टहरूलाई लक्षित गरी गुणस्तरसम्बन्धी विशेष सेमिनार प्रदान गर्ने एपोनले जानकारी दिएको छ ।
प्रतिक्रिया 4