News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजले नेपाल पर्यटन बोर्डको सहकार्यमा १४ देखि १६ फागुनसम्म २४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२६ आयोजना गर्ने भएको छ।
- २४औं हिमालयन ह्वाइट वाटर च्यालेन्जमा ३० अन्तर्राष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुने नाराले जानकारी गराएको छ।
- पर्यटन बोर्डले नदीजन्य साहसिक खेललाई पर्यटन उत्पादनका रूपमा विकास गरी सात वटै प्रदेशमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
२८ माघ, काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी १४ देखि १६ फागुनसम्म ‘२४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइट वाटर र्याफ्टिङ र कायाकिङ महोत्सव’ गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै नाराले २४औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२६ मा ३० अन्तर्राष्ट्रिय खेलाडी र १ सय ४० राष्ट्रिय खेलाडी सहभागी हुने जानकारी गराएको हो ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बोर्ड लामो समयदेखि ह्वाइटवाटर शृङ्खलासँग जोडिँदै आएको उल्लेख गर्दै विगतका शृृङ्खलामा देखिएका कमजोरी सच्याउँदै यसपालि नदीजन्य साहसिक खेललाई नेपालको सशक्त पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी गरिएको बताए ।
‘सगरमाथा र हिमालमात्र होइन, र्याफ्टिङ, कायाकिङ र क्यानोइङ जस्ता नदीमा आधारित साहसिक गतिविधिलाई पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने छ,’ ऐरले भने, ‘यसका लागि हाम्रा नदी संरक्षणमा पनि जोड दिन आवश्यक छ ।’
बोर्डले यसलाई छुट्टै पर्यटन उत्पादनका रूपमा विकास गर्दै सात वटै प्रदेशमा विस्तारका लागि सहजीकरण गर्ने प्रतिबद्धता समेत वरिष्ठ निर्देशक ऐरले जनाएका छन् ।
त्यसैगरी पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि जलविद्युत् आयोजना र नदीजन्य उत्खननका कारण नदीमा हुने साहसिक खेल गतिविधिमा असर परिरहेको बताए ।
‘नदीमा हुने साहसिक खेल गतिविधिका लागि सरकारले जलविद्युत् आयोजना निर्माण र पर्यटनका लागि नदी पहिचान गरी र्याफ्टिङ लगायत साहसिक खेल गतिविधि गर्न नदी छुट्याउनुपर्छ, यसका लागि नाराले पहल गर्ने विश्वास छ ।’
नाराका अध्यक्ष कमलबहादुर ठकुरीले हिमालयन ह्वाइट वाटर च्यालेन्ज केवल एक प्रतियोगिता मात्र नभई नेपालको ५०औं जलयात्रा इतिहासको उत्सव भएको बताए ।
यस महोत्सव अन्तर्गत कायाकिङतर्फ दुई र र्याफ्टिङतर्फ एक गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् । जसमा पहिलो दिन १ सयभन्दा बढी कायकरबीच रेस, दोस्रो दिन नकआउट सेसन र तेस्रो दिन र्याफ्ट सेसन सञ्चालन हुनेछ ।
समग्रमा खेलाडी, स्वयंसेवक, निर्णायक र दर्शक गरी ४ सयदेखि ६ जनाको उपस्थिति रहने अपेक्षा छ । कार्यक्रममा र्याफ्टिङको व्यावसायिक सुरुवात गर्ने हिमालयन रिभ एक्स्प्लोरेसनका संस्थापकहरूलाई विशेष सम्मान गरिने समेत आयोजकले जनाएको छ ।
नेपालमा र्याफ्टिङको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमन्ड हिलारीको टोलीले सुनकोशीमा गरेको जलयात्रा महत्त्वपूर्ण कोसेढुंगा बनेका थिए । १९७५ मा हिमालयन रिभर एक्स्प्लोरेसन मार्फत व्यावसायिक र्याफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो भने नारा २०४६ सालमा स्थापना भएको थियो ।
प्रतिक्रिया 4