फेब्रुअरी ११ मा बंगलादेशको ढाकामा राष्ट्रिय निर्वाचनको एक दिन अघि एउटा सडकमा चुनावी प्रचारका पोस्टरहरू झप्पक झुण्डिएका थिए ।
हुन त संसारभरि निर्वाचन कुनै पार्विक उत्सव झैँ मनाउने गरिन्छ । तर बंगलादेशको लागि आज भइरहेको निर्वाचन पर्वभन्दा महत्वपूर्ण विषय हो । आज बंगलादेशको इतिहासमा एउटा नयाँ अध्याय कोरिएको छ।
राजधानी ढाकाका सडकहरूदेखि चटगाउँका पहाडहरू र सुन्दरवनका तटवर्ती गाउँहरूसम्मका मतदान केन्द्रहरूमा आज बिहानैदेखि मतदाताहरूको लामो लाम लागेको छ।
सन् २०२४ को अगस्टमा भएको अभूतपूर्व ‘मनसुन क्रान्ति’ ले १५ वर्ष भन्दा लामो शेख हसिनाको शासन सत्ता पल्टाएपछि आज बंगलादेश पहिलो पटक आफ्नो नयाँ नेतृत्व छान्न मतदान गर्दैछ।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले छ महिनाको गृहकार्यपछि आयोजना गरेको यो १३ औँ संसदीय निर्वाचनलाई विश्वभरका राजनीतिक विश्लेषकहरूले ‘बंगलादेशको लोकतन्त्रको पुनर्जन्म’ को संज्ञा दिएका छन् ।
सडक आन्दोलनदेखि मतपेटिकासम्म
यो निर्वाचन सामान्य आवधिक चुनाव मात्र होइन। सन् २०२४ मा विद्यार्थीहरूले सरकारी कोटा प्रणाली विरुद्ध सुरु गरेको आन्दोलनको परिणति हो । जसले पछि शेख हसिनाको राजीनामा र बहिर्गमनको माग गर्यो ।
करिब १ हजारभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको उक्त हिंसात्मक कदमपछि हसिना भारत निर्वासित भइन् ।
त्यसयता बंगलादेशमा ‘अवामी लिग’ बिनाको राजनीतिक वातावरण तयार भयो । अन्तरिम सरकारले निर्वाचन आयोग, प्रहरी प्रशासन र न्यायपालिकामा व्यापक फेरबदल गरी आजको निर्वाचनका लागि वातावरण तयार पारेको हो ।
प्रमुख प्रतिस्पर्धी र राजनीतिक समीकरण
यसपटकको चुनावको सबैभन्दा ठूलो विशेषता भनेको विगत १५ वर्षदेखि सत्ताको बागडोर सम्हालेको ‘अवामी लिग’ को अनुपस्थिति हो।
अदालतको आदेश र जनस्तरको विरोधका कारण हसिनाको पार्टीलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ। यसले बंगलादेशको राजनीतिमा ठूलो रिक्तता र नयाँ अवसर दुवै सिर्जना गरेको छ।

पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था कमजोर रहेकाले लण्डनबाट पार्टी चलाइरहेका उनका छोरा तारिक रहमान बीएनपी (बंगलादेश नेशनल पार्टी ) का प्रमुख प्रतिनिधि अनुहार हुन् । बीएनपी यसपटक सबैभन्दा ठूलो शक्तिको रूपमा उदाउने अपेक्षा गरिएको छ।
अर्कोतर्फ हसिनाको समयकालमा निकै पछाडी परेको दक्षिणपन्थी दल जमात-ए-इस्लामीले यसपटक बलियो संगठनका साथ चुनाव लडेको छ। बीएनपीसँग यसको चुनावी तालमेल नभए पनि वैचारिक निकटताले गर्दा यसलाई निकै चासोका साथ हेरिएको छ।
नयाँ शक्तिको रूपमा विद्यार्थी आन्दोलनका प्रमुख अनुहारहरू जस्तै नाहिद इस्लाम र आसिफ महमुदको समर्थनमा बनेको यो नयाँ दल नेशनल सिटिजन पार्टी (एनसीपी )ले युवाहरूको प्रतिनिधित्व गरिरहेको छ। उनीहरूले ‘पुरानो राजनीतिक ढाँचा’ लाई चुनौती दिँदै नयाँ बंगलादेशको नारा अघि सारेका छन्।
‘जुलाई चार्टर’ र संवैधानिक जनमत संग्रह
आज केवल संसदका ३०० सदस्य मात्र छानिने छैनन्, मतदाताले देशको भविष्यको ऐना पनि तय गर्दैछन्। संसदीय निर्वाचनसँगै मतदातालाई एउटा ‘गुलाबी मतपत्र’ दिइएको छ, जुन संवैधानिक सुधारका लागि जनमत संग्रह हो। यस मतपत्र जुलाई चार्टरकोे निर्णायक हो ।
जुलाई चार्टर अन्तरिम सरकारद्वारा सुझाइएका ८४ वटा सुधारहरूको प्रस्ताव हो।
यसले भविष्यमा बंगलादेश कसरी शासित हुनेछ भन्ने खाका प्रस्तुत गर्दछ । यसको उद्देश्य कार्यकारी निकायमा केन्द्रित शक्तिलाई कम गर्ने, नियन्त्रण र सन्तुलनलाई सुदृढ गर्ने र हालैका दशकहरूमा देशलाई आकार दिने किसिमको राजनीतिक प्रभुत्वलाई रोक्ने रहेको छ ।

यस चार्टरले बंगलादेशका संस्थाहरूको भूमिका स्पष्ट पार्छ, माथिल्लो र तल्लो सदन भएको संसद् सिर्जना गर्न सुझाव दिन्छ र नयाँ सरकारले गर्नुपर्ने सुधारहरूको सूची तयार गर्दछ।
यसले हालको एक सदनात्मक व्यवस्थालाई बदलेर माथिल्लो सदनको व्यवस्था गरी दुई सदनात्मक प्रस्ताव गरेको छ ।
प्रधानमन्त्रीको कार्यकाल सीमा पनि प्रस्तावमा छ। कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था प्रस्ताव छ ।
शक्ति सन्तुलनलाई कायम राख्न राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्तिको बाँडफाँड गर्ने व्यवस्थाको प्रस्ताव पनि गरेको छ ताकि भविष्यमा कुनै पनि शासक निरंकुश बन्न नसकोस्।
आर्थिक पक्ष : मतदाताको मुख्य चिन्ता
राजनीतिक स्वतन्त्रताको चर्चा भइरहँदा सर्वसाधारण मतदाताका लागि भने महँगी र बेरोजगारी मुख्य मुद्दा बनेको छ।
‘म नयाँ सरकारले म जस्तै जागिर खोज्ने युवाहरूलाई बुझोस् भन्ने अपेक्षा गर्छु,’ पहिलोपटक मतदान गरिरहेकी बोगुरा जिल्लाकी २४ वर्षीया मोनिका अख्तरले रोयटर्ससँग भनिन्,’हामीलाई निष्पक्ष र पारदर्शी भर्ना तथा परीक्षा प्रक्रिया चाहिन्छ। विशेष गरी नेसनल युनिभर्सिटीका स्नातकहरू – हामी सबैभन्दा बढी पीडित छौँ।’
कतिपय स्थानहरूमा भने अझै पनि ‘ब्रेड एन्ड बटर’ प्रमुख समस्या छ । रोयटर्सले गरेको रिपोर्टमा केही जेनजी मतदाताहरू दैनिक जीवनका आधारभूत मुद्दाहरूमा बढी केन्द्रित थिए ।
‘हामी बिउ र मलमा धेरै खर्च गर्छौँ, तर जब हामी तरकारी बेच्छौँ, हामीले उचित मूल्य पाउँदैनौँ,’ बोगुरको एक कृषक परिवारकी २१ वर्षीया फरहानाले भनिन्, ‘हामी एकै दिनमा चमत्कारको अपेक्षा गर्दैनौँ, तर बिस्तारै-बिस्तारै कुराहरूमा सुधार हुनेछ भन्ने आशा राख्छौँ।’
बंगलादेशको गार्मेन्ट उद्योग देशको अर्थव्यवस्थाको मेरुदण्ड हो । यद्यपि आन्दोलनका समयमा भने यो उद्योग नराम्रो सँग प्रभावित भएको थियो । नयाँ सरकारले विदेशी मुद्रा सञ्चिति बढाउनु पर्ने र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ ) सँगको ऋण सम्झौतालाई व्यवस्थापन गर्नुपर्ने ठूलो चुनौती छ।
सुरक्षा , प्रविधि र आचारसंहिता
निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन दिन शान्ति सुरक्षा कायम राख्न सेना, नौसेना र वायुसेनाका १ लाखभन्दा बढी सैनिकहरूले झण्डै २ लाख प्रहरीहरूलाई सहयोग गर्नेछन्।
बंगलादेशको सेनाले ‘स्ट्राइकिङ फोर्स’को रूपमा काम गरिरहेको छ।
इतिहासमै पहिलो पटक धेरै मतदान केन्द्रहरूमा सीसीटिभी क्यामेरा जडान गरिएको छ । निर्वाचन आयोगले ‘स्मार्ट इलेक्सन म्यानेजमेन्ट’ एपमार्फत प्रत्यक्ष अपडेट दिइरहेको छ ।
यद्यपि बीएनपी र जमात-ए-इस्लामीले मतदान हुनु केही समय अघिसम्ममएकअर्का विरुद्ध आरोप-प्रत्यारोप लगाइरहेका थिए ।
बीएनपीले जमातका नेता र कार्यकर्ताहरू विरुद्ध १२७ वटा उजुरी दर्ता गराएको छ, जसमा निर्वाचनको अघिल्लो रात पैसा दिएर भोट किनेको, नक्कली भोट हालेको र हिन्दू मतदाताहरूलाई धम्की दिएको जस्ता आरोपहरू छन्।
जमातको सहयोगी दल एनसीपीले बीएनपीमाथि निर्वाचनको अघिल्लो रात मतदान केन्द्रहरूमा आतङ्कको वातावरण सिर्जना गरेको आरोप लगाएको छ।
ढाका प्रहरीका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा पाँच जनालाई पक्राउ गरी विभिन्न सजाय सुनाइएको छ।
एआइ र डीपफेकको प्रयोग
यो निर्वाचनमा सामाजिक सञ्जालमा एआईद्वारा निर्मित राजनीतिक सामग्रीहरू भने प्रचुर मात्रामा प्रयोग गरिएको छ ।
बीबीसीको न्यूज रिपोर्ट अनुसार, जनवरीदेखि फेसबुकमा गरिएका अनुगमनमा एआईद्वारा निर्मित सयौं राजनीतिक भिडियोहरू फेला परेका छन् जसमध्ये धेरैजसोमा ती कृत्रिम सामग्री हुन् भनेर उल्लेख गरिएको छैन ।
यी क्लिपहरूमा अत्यन्तै वास्तविक देखिने तर कृत्रिम समाचार प्रस्तोताहरू, कम्प्युटरद्वारा सिर्जित आम नागरिकहरू र प्रहरीको जस्तो पोसाक लगाएका व्यक्तिहरू छन्। भिडियोहरूको उत्पादनको परिष्कृत गुणस्तरले गर्दा भिडियोहरू वास्तविक प्रतीत हुन्छन् ।

गुगलको आफ्नै एआई डिटेक्टर उपकरण, ‘सिन्थआईडी’ प्रयोग गरेर एआई-निर्मित भनी प्रमाणित गरेको एउटा भिडियो झण्डै ८० लाख पटक हेरिएको छ। यसमा नीलो पोसाक लगाएको एक व्यक्तिले अधिकारीको रूपमा पक्षपाती राजनीतिक सन्देश दिइरहेको देखिन्छ।
झण्डै २ लाख पटक हेरिएको अर्को व्यापक रूपमा शेयर गरिएको क्लिपमा एक कृत्रिम पसल सञ्चालकले किन एक निश्चित उम्मेदवारलाई भोट नदिने भनेर व्याख्या गरिरहेका छन्।
बंगलादेशको निर्वाचन आचारसंहिता अनुसार भ्रामक एआई-निर्मित सामग्री सिर्जना गर्नु वा शेयर गर्नु निषेध गरिएको छ। यद्यपि त्यस्ता सामग्रीहरूलाई अनलाइनमा कसरी अनुगमन वा कार्यान्वयन गरिँदैछ भन्ने बारेमा सीमित स्पष्टता छ।
अन्तर्राष्ट्रिय समुदायको नजर
यस निर्वाचनलाई भारत, चीन, अमेरिका र युरोपेली युनियनले नजिकबाट नियालिरहेका छन्। हसिनाको समयमा भारतसँग बंगलादेशको सम्बन्ध राम्रो थियो।
अब बन्ने नयाँ सरकारले भारतसँगको सीमा सुरक्षा र जलस्रोत सम्झौतालाई कसरी अगाडि बढाउँछ र चीनको लगानीलाई कसरी सन्तुलन गर्छ भन्ने विषय दक्षिण एशियाको भू-राजनीतिको लागि महत्त्वपूर्ण हुनेछ।
संयुक्त राष्ट्र संघका पर्यवेक्षकहरूले आजको मतदानलाई ‘बंगलादेशमा प्रजातन्त्रको वास्तविक परीक्षण’ भनेका छन्।
‘जेनजी’ को निर्णायक भूमिका
यसपटकको चुनावमा करिब १ करोड ५० लाख नयाँ मतदाता छन्। यी ती युवा हुन् जसले गत जुलाई-अगस्टमा सडकमा रगत पसिना बगाएका थिए।
निर्वाचन आयोगका अनुसार दर्ता भएका १२ करोड ८० लाख मतदातामध्ये करिब ४५ प्रतिशत १८ देखि ३३ वर्ष उमेर समूहका छन् ।

तीमध्ये लगभग ५० लाख पहिलो पटक मतदान गर्ने मतदाता छन्, जसमध्ये केहीले २०२४ को मतदानमा भाग नलिने निर्णय गरेका थिए । यसलाई व्यापक रूपमा एकपक्षीय भनी आलोचना गरिएको थियो ।
सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहले पनि यस वर्षको निर्वाचनमा युवा आकांक्षीहरूलाई उम्मेदवार बन्न प्रेरित गरेको छ। उम्मेदवारहरूको औसत उमेर अब ५१.८ वर्ष पुगेको छ, जुन २००८ को निर्वाचनमा ६७ वर्ष थियो।
नवयुवाहरू राजनीतिक दलहरूको पुरानो प्रतिशोधको राजनीतिभन्दा पनि सुशासन र मेरिटोक्रेसी चाहन्छन्।
000
साँझ ४ बजे मतदान सकिएपछि मतगणना सुरु हुनेछ। प्रारम्भिक नतिजाहरू भोलि बिहानसम्म आउने अनुमान गरिएको छ।
तर जित जसको भए पनि बंगलादेशका सामु ठूला चुनौतीहरू छन्। अवामी लिगका समर्थकहरूको असन्तुष्टि सम्बोधन गर्नु, विधिको शासन स्थापना गर्नु र राजनीतिक स्थिरता कायम गर्नु नयाँ प्रधानमन्त्रीको पहिलो परीक्षा हुनेछ।
बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले पनि ढाकाको एउटा मतदान केन्द्रमा मतदान गरेका छन् ।
मतदान गरेपछि सञ्चार माध्यमहरूसँग कुरा गर्दै ८५ वर्षीय युनुसले यस निर्वाचनलाई ‘स्वतन्त्रताको दिन’ को रूपमा वर्णन गरे ।

‘यस मार्फत हामीले दुःस्वप्नको अन्त्य गरेका छौं र नयाँ सपनाको सुरुवात गरेका छौं,’ उनले भने।
युनुसले अगस्ट २०२४ मा अन्तरिम प्रशासनको प्रमुख सल्लाहकारको रूपमा शपथ लिएका थिए। अर्को सरकारले कार्यभार सम्हालेपछि उनी पदमुक्त हुनेछन्।
आजको यो घाम लागेको बिहीबार बंगलादेशका लागि केवल एउटा चुनावी दिन मात्र होइन यो एक नयाँ राष्ट्र निर्माणको प्रस्थान विन्दु हो। १२ करोड मतदाताको औँलामा लागेको मसीले बंगलादेशको आगामी समयको बाटो तय गर्नेछ।
प्रतिक्रिया 4