+
+
Shares
विचार :

बुटवललाई नेपालको सिलिकन भ्याली बनाउन सकिन्छ

मेरो विकास अवधारणा मानिसलाई सक्षम बनाउने हो, उपभोक्ता वा दास बनाउने होइन। अहिलेसम्म देश र बुटवलको विकास कङ्क्रिट केन्द्रित र सिमेन्टको भयो। म यो फेर्न चाहन्छु।

विश्वदीप पाण्डे 'सुभाष' विश्वदीप पाण्डे 'सुभाष'
२०८२ फागुन १ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा फागुन २१ गते हुने निर्वाचन भदौ २३–२४ को जेनजी आन्दोलनबाट सिर्जित बाध्यात्मक परिणाम हो।
  • जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार अन्त्य र सुशासन सुनिश्चितता हो, तर निर्वाचनले परिवर्तनको आकांक्षा सम्बोधन गर्न सकेको छैन।
  • रूपन्देही–२ बाट उम्मेदवार पाण्डेले नयाँ पुस्ताको नेतृत्व र संवैधानिक सुधारमार्फत जेनजी आन्दोलनको मर्म न्याय गर्ने योजना बनाएका छन्।

आवधिक निर्वाचन लोकतन्त्रको आत्मा हो। आवधिक निर्वाचनले मात्रै लोकतन्त्र बाँच्ने त होइन तर, यो विना लोकतन्त्रको कल्पना असम्भव हुन्छ। त्यसैले आवधिक निर्वाचनलाई लोकतन्त्रको अनिवार्य पक्ष भनिन्छ। नेपाल अहिले त्यही निर्वाचनको सँघारमा छ। यद्यपि, यो आवधिक निर्वाचन होइन। न त यो संविधानले परिकल्पना गरेको कुनै अवस्था अनुसारको मध्यावधि निर्वाचन नै हो।

भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’बाट सिर्जित स्थितिको बाध्यात्मक परिणाम हो यो निर्वाचन। त्यसैले यो निर्वाचनसँग जति आकांक्षा र कामना जोडिएका छन् त्यति नै यसको नतिजा र त्यसले तय गर्ने देशको भविष्यबारे आशंका पनि छन्। अर्को कोणबाट भन्नुपर्दा, जेनजी आन्दोलनलाई आम नागरिकले कसरी बुझेका छन् भन्ने परीक्षण पनि हो यो निर्वाचन। निर्वाचनमा आम नागरिकले कसरी आफ्नो मताधिकार प्रयोग गर्छन् भन्नेले जेनजी आन्दोलनप्रतिको धारणा अभिव्यक्त गर्नेछ।

जेनजी आन्दोलनको अन्तर्य के थियो ? त्यसपछि राजनीतिक कोर्स कस्तो हुनुपर्‍थ्यो  ? राजनीतिक दलका राष्ट्रिय कार्यभार कस्तो हुनुपर्थ्यो ? यी प्रश्नबारे समाजमा फरक–फरक दृष्टिकोण छन्। एक थान नयाँ निर्वाचनका लागि मात्र यति ठूलो बलिदान र क्षति भएको थिएन भन्ने तर्कमा पर्याप्त दम छ ।

स्पष्ट छ, आन्दोलनपछिको ‘न्याय’ ठीक ढङ्गले अघि बढ्न सकेन। भदौ २३ को ‘दमन’ र २४ गतेको ‘विध्वंस’ दुवैका लागि कसैलाई जिम्मेवार ठानिएन। एक प्रकारको उन्मुक्ति दिइयो। दण्डहीनताको स्थिति सिर्जना गरिएको छ। पक्कै पनि, भदौ २३ को जेनजी प्रदर्शन भ्रष्टाचार र बेथितिको विरुद्ध थियो। दशक यताका ठूला भ्रष्टाचार काण्ड र अकुत सम्पत्ति आर्जनको छानबिन गर्न आन्दोलनकारीले विशेष आयोग चाहेका थिए। त्यो पनि भएन।

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा संवैधानिक तथा कानूनी सुधार पनि हुन सकेन। कतिसम्म भने विदेश र अपायक बस्ने नागरिकको मताधिकार समेत सुनिश्चित गरिएन। तसर्थ, फागुन २१ गतेको चुनावको एउटा मात्र स्पष्ट औचित्य देखिन्छ– ‘डिरेल’ भएको संवैधानिक प्रक्रियालाई ‘लिक’ मा ल्याउने।

त्यसैले आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य र सुशासनको सुनिश्चितताका लागि निर्वाचनकै भर पर्नुबाहेक अरू कुनै उपाय तत्कालका लागि देखिंदैन। तर, निर्वाचनले परिवर्तनको आकांक्षा सम्बोधन गर्न सकेन, भदौ २३–२४ बेलाका शासक दल र नेता नै जस्ताको त्यस्तै फर्किए भने भविष्य झन् अन्धकार हुने जोखिम छ।

जेनजी आन्दोलनको एउटा मुख्य माग हो, पुरानो र काम गर्न नसक्ने नेतृत्व परिवर्तन। खासगरी ओली–देउवा प्रवृत्तिको पराजय र अन्त्य नवयुवाले चाहेका थिए। शेरबहादुर देउवा अहिले पार्टी नेतृत्वबाट हत्याइएका छन्। तर, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रबाट पुनः अनुमोदित भएर चुनावी मैदानमा छन्। निर्वाचनबाट ओलीको पुनरोदय भए परिवर्तनका प्रक्रिया अवरुद्ध हुने त छन् नै आन्दोलनमाथि नै प्रतिशोध साधिने खतरा छ।

नवपुस्ताको माग, आकांक्षाको सम्बोधन र जेनजी आन्दोलनको मर्म आत्मसात् गर्दै राजनीतिक प्रक्रिया मार्फत अभिव्यक्त गर्ने उद्देश्यले म पनि यो निर्वाचनमा उम्मेदवार बनेको छु। मैले रूपन्देही–२ नै रोज्नुको पनि कारण छ।

अवश्य यो म हुर्के, बढेको ठाउँ हो। यहाँका चोक, चौतारी, खेत, खलिहानसँग म चिरपरिचित छु। त्योभन्दा पनि बढी मैले राजनीतिमा नयाँ पुस्ता आउनुपर्छ, तीन दशकदेखि एउटै व्यक्तिको सेपमा पर्नुहुँदैन भन्ने मान्यताले उम्मेदवारी दिएको हुँ।

अधिनायकवाद यत्तिकै आउने होइन, प्रश्नविहीन नेताहरूका कारण हो। यस्तो प्रवृत्तिले देशमा आसेपासे पूँजीवादलाई मलजल गरिरहेका हुन्छन्। जसले राज्यका स्रोत, साधन सीमित व्यक्तिको मुठ्ठीमा कैद गराउने अभ्यासलाई निरन्तरता दिनुहुँदैन। सीमित मानिसले राज्यस्रोतको दोहन गरेर पूँजी थुपार्ने र लाखौं युवा दैनिकी चलाउन विदेशिनुपर्ने अवस्थाले अब निरन्तरता पाउनुहुँदैन।

यही बुझाइले नै मलाई रूपन्देही–२ मा उम्मेदवार बन्न प्रेरित गर्‍यो। व्यक्तिगत रूपमा एकजना नेता पराजित भएर मात्र हुँदैन। देशभरबाट गलत प्रवृत्तिलाई बिदा गर्न सकियो भने मात्रै जेनजी आन्दोलनलाई न्याय हुनेछ।

यहाँबाट निर्वाचित भए मैले जेनजी आन्दोलनका मर्म र भावना, माग र मुद्दालाई न्याय गर्ने क्रममा केही योगदान गर्न सक्नेछु। पक्कै पनि युवा भएकाले मेरो विजयले नेतृत्व परिवर्तनको मुद्दालाई पनि सम्बोधन गर्नेछ। तर, अनुहार र उमेरले मात्र होइन विचार, सिद्धान्त र कार्यक्रमले पनि युवा हुन जरूरी छ। मैले तीन, चारवटा ठोस कदम चालेर जेनजी आन्दोलनको मर्म सम्बोधन गर्ने योजना बनाएको छु।

रूपन्देही–२ मा दशकौंदेखिको परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्न सक्दछु। जेनजी आन्दोलनका मर्म र भावना, माग र मुद्दालाई न्याय गर्न थोरै भए पनि योगदान गर्न सक्दछु। त्यसका लागि महत्वपूर्ण संवैधानिक तथा कानूनी सुधारको पैरवी गर्न सक्दछु। जसले आफ्नै ‘नेपाली कम्युनिष्ट पार्टी’मा पनि नयाँ रक्तसञ्चार गर्नेछ। जोश, जाँगर भर्नेछ।

अर्को, कुशासन र भ्रष्टाचारको अन्त्य आजको प्रमुख मुद्दा हो। साथै यो हाम्रो पार्टीले लामो समयदेखि उठाउँदै आएको विषय पनि हो। नबिर्सौं, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नै भ्रष्टाचार र कुशासन विरुद्ध जबर्जस्त अभियान थालेको हो। ‘नक्कली भुटानी शरणार्थी प्रकरण’देखि अन्य थुप्रै ठूला भ्रष्टाचार काण्डको छानबिन र कारबाही त्यही समयमा भएको हो।

रूपन्देही–२ मा स्थानीय र राष्ट्रिय दुवै दृष्टिकोणबाट विकल्प अत्यावश्यक भइसकेको छ। नयाँ अनुहार हुँदैमा विकल्प हुँदैन। न त स्टन्टबाजी र लोकप्रियतावादले नै विकल्प दिनसक्छ। स्पष्ट दृष्टिकोण, स्पष्ट मार्गचित्र विनाको नयाँ अनुहारले पुरानै असफलता दोहोर्‍याउने जोखिम हुनेछ।

मेरो प्राथमिकता स्पष्ट छ– ‘मानिसलाई केन्द्रमा नराखी विकास हुँदैन।’ मानिसको अर्थ मुठ्ठीभरका धनाढ्य नभई आम जनता हुन्। हामीलाई विकास चाहिन्छ तर, मान्छेलाई रुवाएर, बेघरबार बनाएर हैन।

नेपाली नागरिकले ग्ल्यामर होइन सही नक्शा बोकेर उचित दिशामा डोर्‍याउने अगुवा खोजिरहेका छन्। विचार सहितको विकल्पका रूपमा मैले त्यो भूमिका निभाउन सक्छु भन्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको हुँ।

राष्ट्रिय राजनीतिमा परिपक्व विचार, स्पष्ट कार्यदिशा र स्पष्ट मार्गचित्र प्रस्तुत गरेर देशलाई अगाडि बढाउन मैले योगदान गर्ने नै छु। स्थानीयस्तरमा पनि मेरा विशेष मुद्दा छन्।

रूपन्देहीको विकास तथा आर्थिक समृद्धिका लागि जनप्रतिनिधिको बहुपक्षीय समन्वय र सहजीकरण जरूरी छ। विश्वसम्पदा सूचीमा रहेको लुम्बिनी र व्यापारको केन्द्र बुटवल यही निर्वाचन क्षेत्रमा पर्छन्। दशकौंदेखि तमाम सम्भावना बोकेका यी क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेनन्। मलाई विश्वास छ; बुटवल, तिलोत्तमा र सैनामैनाका लागि हामीले धेरै काम गर्न सक्ने छौं। विशेषतः नवयुवा पुस्ता, उद्योगी व्यवसायी, शहरिया मध्यम, बौद्धिक तथा श्रमिक वर्ग लक्षित कार्य गर्न सक्नेछौं।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त बन्यो तर, राम्ररी प्रयोगमा आउन सकेन। मूलतः बौद्ध सर्किट देशका तीर्थयात्रीलाई बुद्ध जन्मस्थल लुम्बिनी ल्याउने प्रयोजनले यो अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरिएको हो। नभए आन्तरिक उडानका लागि मात्र यति ठूलो लगानी र संरचना जरूरी थिएन। तर, अहिले यो विमानस्थल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको छ। भारतसँगको सम्बन्धलाई विश्वासमा नराखी भैरहवा विमानस्थलमा सघन अन्तर्राष्ट्रिय उडान उपलब्ध गराउन गाह्रो छ।

भारत, भुटान, श्रीलंका, म्यानमार, कम्बोडिया, चीन, ताइवान जस्ता बौद्ध बहुल जनसंख्या भएका देशसँगको सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यस प्रयोजनका लागि अन्तर्राष्ट्रियस्तरमै पहलकदमी र सहकार्य जरूरी हुन्छ। त्यसका लागि परिपक्व नेतृत्वको खाँचो छ। अपरिचित र नवीन अनुहारले कूटनीतिक सम्बन्धमा विश्वास सिर्जना गर्न असम्भवप्रायः हुन्छ। कूटनीतिलाई निरन्तरता पनि चाहिन्छ जुन हाम्रो पार्टीको विजयले सुनिश्चित गर्न सक्छ

बुटवलको अर्को समस्या हो, अव्यवस्थित बसोबासको। यो समस्याको समाधान हैन, भावनात्मक दोहन गरिएको छ। अव्यवस्थित बसोबासीलाई अमूक दलको भोट बैंक बनाउने तर, समस्या समाधान भने कहिल्यै नगर्ने प्रवृत्ति अब रहनुहुँदैन। संविधानले नै भूमि अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसक्दा पनि के कारण यो समस्या दशकौंदेखि ज्यूँका त्यूँ छ ? जवाफ स्पष्ट छ, भोटका लागि। अब यस्ता अवस्था रहन दिनुहुँदैन।

तिनाउ–दानव करिडोर निर्माण गर्दा स्थानीय बासिन्दालाई अनावश्यक र विना क्षतिपूर्ति वा विना मुआब्जा विस्थापन गरिनुहुन्न भन्ने मेरो दृढ मत छ। विकासका नाममा विस्थापन किमार्थ सह्य हुन सक्दैन। विकासको अर्थ जनतालाई उठीबास लगाउनु वा रुवाउनु हैन। विस्थापित हुने हरेक परिवारलाई उचित क्षतिपूर्ति र मुआब्जा दिनुपर्छ। नजिकै ‘मोडल हाउजिङ’ मा सम्मानजनक पुनर्स्थापना गरेर मात्र करिडोरको काम अगाडि बढ्छ।

मेरो प्राथमिकता स्पष्ट छ– ‘मानिसलाई केन्द्रमा नराखी विकास हुँदैन।’ मानिसको अर्थ मुठ्ठीभरका धनाढ्य नभई आम जनता हुन्। हामीलाई विकास चाहिन्छ तर, मान्छेलाई रुवाएर, बेघरबार बनाएर हैन। अर्थशास्त्री अमर्त्य सेनको ‘क्षमता निर्माण नै विकास हो’ (क्यापाविलिटी अप्रोच) मेरो विकास दृष्टिकोण हो। म मानिसलाई आफ्ना जीवनका आवश्यकता सम्बोधन गर्न सक्षम बनाउने विकासमा विश्वास गर्छु। नाफाको उत्पादन र पुनरुत्पादनमा सीमित अभ्यास विकास हैन विनाश हो।

अबको विकासको मोडेल नै मानव केन्द्रित हुनुपर्छ। विकासको नाममा एउटा पनि नागरिक बेघरबार भएर सडकमा आउने स्थिति हुनुहुँदैन। नागरिकको निजी सम्पत्तिमाथि राज्यले अनधिकृत खेलबाड गर्ने अधिकार राख्दैन। राज्य नागरिकका लागि हो, नागरिक राज्यका लागि हैन।

पछिल्लो दुई दशकमा रूपन्देही–२ (बुटवल, तिलोत्तमा र सैनामैना) मा घर त बढे, तर मान्छेका खुशी घटे। म ती हराएका खुशी खोज्ने र फर्काउने प्रयासमा छु।

मोतीपुर औद्योगिक क्षेत्रको विवादलाई पनि निकास दिनु छ। मोतीपुरमा रगत बग्नुहुँदैन, उद्योग बन्नुपर्छ। स्थानीय बासिन्दाको जग्गाको ग्यारेन्टी र उनीहरूलाई नै शेयरधनी बनाएर मात्र औद्योगिक क्षेत्र अगाडि बढ्छ। हामी कसैको घर भत्काएर कारखाना बनाउने पक्षमा छैनौं। पक्कै पनि नेपाल जस्तो विकासशील देशका लागि उत्पादनमा आधारित अर्थतन्त्र अनिवार्य छ। तर, उत्पादक विनाको उत्पादनको परिकल्पना हुनसक्दैन।

हाम्रो अर्को चासो पर्यावरण हो। ज्योतिनगरको पहिरो र चुरे दोहन बुटवलका लागि ठूलो खतरा हुन्छ भन्ने वातावरणविद्को चेतावनी छ। यसको स्थायी समाधानका लागि ‘बायो–इन्जिनियरिङ योजना’ जरूरी छ।

त्यस्तै बुटवल व्यवसाय र प्रविधिको लागि उच्चतम सम्भावना भएको शहर हो। यसलाई नेपालको ‘सिलिकन भ्याली’ बनाउने मेरो सपना छ। मैले यो भोटका लागि बाँडेको सस्तो सपना हैन, सम्भावना देखेर नै यो मुद्दा उठाएको हुँ। बुटवलमा हाई–स्पीड इन्टरनेट सेवा सहितको विश्वस्तरीय आईटी पार्क असम्भव छैन।

लोकतन्त्रको आत्मा आवधिक निर्वाचन हो भने पारदर्शिता र जवाफदेहिता अक्सिजन। तर, आजको डिजिटल युगमा यो भनाइले मात्र हुने कुरा होइन। डिजिटल प्रविधिको प्रयोगले मात्रै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सकिन्छ। त्यसैले मैले ‘पारदर्शिता एप’को मुद्दा उठाएको छु। निर्वाचन क्षेत्रमा हुने हरेक विकास निर्माण योजना सम्बन्धी विवरण हरेक स्थानीय बासिन्दाको मोबाइलसम्म पुर्‍याउन सकियो भने नागरिक निगरानी बढ्छ। भ्रष्टाचार, कमिसनतन्त्र, कम गुणस्तरको विकास निर्माण असम्भव हुँदै जान्छ। त्यही एप मार्फत जनगुनासो लिने, त्यसको सम्बोधन के–कति भयो भनेर रेकर्ड राख्ने र जानकारी दिने प्रणाली भयो भने जवाफदेहिता पनि हुनेछ।

त्यस्तै सुशासनका लागि सबै सरकारी कार्यालयको डिजिटल प्रणाली एकीकृत गरी राष्ट्रिय परिचयपत्र भएपछि कार्यालय पिच्छे बायोमेट्रिक गरिरहनुपर्ने झन्झट नहुने सुनिश्चितता सिर्जना गर्न आवश्यक छ।

दोहोर्‍याउन चाहन्छु, मेरो विकास अवधारणा मानिसलाई सक्षम बनाउने हो, उपभोक्ता वा दास बनाउने होइन। अहिलेसम्म देश र बुटवलको विकास कङ्क्रिट केन्द्रित र सिमेन्टको भयो। म यो फेर्न चाहन्छु। म मानवीय, प्रविधिमैत्री र नागरिकमुखी विकासमा जोड दिन चाहन्छु। ‘भ्यूटावर’ र ‘सिमेन्ट’ को विकास मोडेल होइन, मेरो प्राथमिकताको विकास ‘सेन्टिमेन्ट र सिस्टम’ को हुनेछ।

पछिल्लो दुई दशकमा रूपन्देही–२ (बुटवल, तिलोत्तमा र सैनामैना) मा घर त बढे, तर, मान्छेका खुशी घटे। म ती हराएका खुशी खोज्ने र फर्काउने प्रयासमा छु। ठूला घर, ऋण, किस्ता र अनेक तनावमा फसेको निन्याउरो बुटवल होइन, आफ्ना सम्भावना परिचालन गरेर प्रफुल्ल बुटवल मेरो सपना हो।

(पाण्डे रूपन्देही–२ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हुन्।)

bishwadeep.pandey@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?