बङ्गलादेशमा भएको निर्वाचन केवल सामान्य लोकतान्त्रिक औपचारिकता मात्र थिएन। यो निर्वाचन अवामी लिगको १५ वर्षको एकछत्र शासनको अन्त्य अनि त्यसपछिको १८ महिना लामो अस्थिरता र सङ्क्रमणपछिको लोकतान्त्रिक पुनर्जन्म थियो।
सोमबार बिहानसम्म सार्वजनिक नतिजाहरूले बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई दुईतिहाइ बहुमतको नजिक पुर्याएको छ।
१७ वर्ष लामो निर्वासन र अनेकन मुद्दामामिला झेलेर स्वदेश फर्किएका तारिक रहमान अब बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
तर यो निर्वाचनको सबैभन्दा ठूलो आश्चर्य भनेको ‘जुलाई क्रान्ति’ का नायक विद्यार्थीहरूले बनाएका नयाँ दलहरूले अत्यन्त कमजोर प्रदर्शन गरेका छन्। बरु जमात-ए-इस्लामी (जेएमआई) जस्ता पुरातन शक्तिहरूको भने पुनरागमन भएको छ।
निर्वाचनको नेपथ्य अगस्ट २०२४ मा शेख हसिना हेलिकप्टर चढेर भारत पलायन भइन्। बङ्गलादेशका आलो रक्तगन्ध बोकिरहेका सडकहरूमा खुसीयाली छाएको थियो। आन्दोलनका नेतृत्वकर्ताहरू विजयभावमा उचालिएका थिए।
तर त्यो विजयभावसँगै जोडिएर एउटा ठूलो प्रश्न उठेको थियो, ‘अब के?’
नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले तत्कालीन सङ्क्रमणकाललाई १८ महिनासम्म सम्हाल्ने र प्रणालीलाई मर्मत गर्ने प्रयास गर्यो।
अन्तरिम सरकारको लक्ष्यअनुसार हिजो भएको निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाताहरूमध्ये ६० प्रतिशतभन्दा बढीले मतदान गरे। यो सन् २००८ पछिको सबैभन्दा उच्च सहभागिता हो।
मतदाताहरूले दुईवटा मतपत्रमा भोट हालेका थिए: एउटा नयाँ संसद्का लागि र अर्को संवैधानिक सुधार अर्थात् जुलाई चार्टरका लागि।
निर्वाचन नतिजा तारिक रहमानले नेतृत्व गरेको दल बीएनपीले २०० भन्दा धेरै सिट जितेर पहिलो स्थानमा छ। पार्टीले दुईतिहाइभन्दा अधिक मत प्राप्त गरेकाले अबको प्रधानमन्त्रीको रूपमा तारिक रहमानलाई हेरिएको छ।
दोस्रो स्थानमा शफिकुर रहमानले नेतृत्व गरेको पार्टी जमात-ए-इस्लामीले ६८ सिट जितेको छ। यद्यपि जमात-ए-इस्लामीले मत गणनाप्रति आफूहरू ‘सन्तुष्ट’ नरहेको बताएको छ र नतिजा प्रक्रियाको निष्पक्षतामाथि ‘गम्भीर प्रश्नहरू’ उठाएको छ।
तर जुलाई क्रान्ति गर्नमा सम्भवतः सबैभन्दा महत्त्वपूर्ण हात रहेको नेसनल सिटिजन पार्टी (एनसीपी) ले भने जम्मा ९ सिट प्राप्त गरेको छ।
एनसीपीको इतिहास अगस्ट २०२४ मा शेख हसिनाको १५ वर्षे शासनकाल ढलेपछि बङ्गलादेशमा राजनीतिक शून्यता पैदा भयो। सडकमा रगत बगाएका विद्यार्थी आन्दोलनकारीहरूले अब यो ऊर्जालाई राजनीतिक शक्तिमा बदल्नुपर्छ भन्ने महसुस गरे।
विद्यार्थीहरूले नेतृत्व गरेको यो आन्दोलनले अवामी लिगको शासनलाई अन्त्य गर्यो। पुराना दलहरूले देशलाई फेरि पुरानै बाटोमा लैजान सक्ने डर विद्यार्थीहरूमा थियो। त्यसैले, १० जनवरी २०२५ मा ढाका विश्वविद्यालयको प्राङ्गणमा ‘नेसनल सिटिजन पार्टी’ (एनसीपी) को घोषणा गरियो।
नाहिद इस्लाम, आसिफ महमुद र अन्य विद्यार्थी नेताहरूले स्थापना गरेको यस पार्टीको विचारधाराले लोकतन्त्र, भ्रष्टाचारविरोधी अभियान, राष्ट्रियता र युवा-केन्द्रित विकासलाई समेटेको थियो।
एनसीपीले आफूलाई परम्परागत राजनीतिक दलहरूभन्दा फरक ढङ्गमा प्रस्तुत गर्यो।
पार्टीको मुख्य एजेन्डा भनेको अगस्ट २०२४ को क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्नु थियो। यसका लागि पार्टीले ‘जुलाई चार्टर’ को अवधारणा ल्यायो।
यसमा प्रधानमन्त्रीको कार्यकालमा सीमा तोक्ने, न्यायपालिकाको स्वतन्त्रता र भ्रष्टाचारमुक्त शासन सामेल थिए। युवा शक्तिको प्रतिनिधित्वका लागि पार्टीले युवाहरूलाई अवसर, बेरोजगारी भत्ता र शिक्षामा सुधारलाई आफ्नो मुख्य मुद्दा बनायो।
एनसीपी पराजयका सम्भावित कारणहरू लोकतान्त्रिक प्रक्रियामा व्यक्ति र लोकप्रियताभन्दा संरचना शक्तिशाली हुन्छ।
एनसीपीको समयसान्दर्भिक लोकप्रियताका बाबजुद दलको साङ्गठनिक संरचना कमजोर थियो। नयाँ उदाएको पार्टी हुनाले लोकतान्त्रिक अभ्यासको अभाव हुनु स्वाभाविक पनि मानिन्छ।
उत्तरी बङ्गलादेशको ग्रामीण इलाकाहरूमा जनसङ्ख्याको ठूलो हिस्सा छ। एनसीपीका उम्मेदवारहरूलाई चिन्ने मानिसहरूको सङ्ख्या नगन्य थियो। यसको विपरीत बीएनपीको हरेक गाउँमा पहिलेदेखि नै स्थापित कार्यकर्ता सञ्जाल थियो।
कम जिल्लाहरूमा सक्रिय साङ्गठनिक संरचना हुनु र ग्रासरुट (जनस्तर) मा आफ्नो प्रभाव कायम गर्न नसक्नु एनसीपीको हारको अर्को कारण बन्न पुग्यो।
सन् २०२५ को डिसेम्बरको उत्तरार्धमा एनसीपी जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ‘इलेभेन पार्टी एलायन्स’ (११ दलीय गठबन्धन) मा सामेल भयो।
क्रान्तिको भूमिबाट नयाँ दलको रूपमा उदाएको एनसीपीले कट्टरपन्थी दलहरूसँग सम्झौता गर्नु वैचारिक र व्यावहारिक दुवै कोणबाट घातक सिद्ध भयो। यस निर्णयले प्रगतिशील युवा समर्थकहरूलाई पार्टीबाट टाढा पुर्यायो।
अवामी लिग निर्वाचनमा सामेल नभए पनि एनसीपीको पराजयमा यसको परोक्ष हात रहेको विश्लेषकहरूले अनुमान गरेका छन्।
आन्दोलनपछि अवामी लिग प्रतिबन्धित थियो। विश्लेषकहरूका अनुसार, अवामी लिगका समर्थकहरूले बीएनपीलाई भोट दिनुको साटो जमात-ए-इस्लामीलाई भोट दिएका हुन सक्छन्। किनभने उनीहरू बीएनपीलाई आफ्नो पुरानो प्रतिद्वन्द्वी मान्थे।
एनसीपीले अवामी लिग विरोधी तर बीएनपी नचाहने मतदातालाई आफ्नो पक्षमा ल्याउन सकेन।
एनसीपीका नेताहरूबाट समय-समयमा क्षुद्र अभिव्यक्ति पनि आइरहेका थिए।
सन् २०२५ को डिसेम्बरमा एनसीपीका नेता हस्नात अब्दुल्लाले भारतलाई समेत चेतावनी दिएका थिए। भारतका ‘सेभेन सिस्टर्स’ (सात बहिनी राज्यहरू) लाई टुक्र्याउन सक्नेहरूलाई शरण दिने खालका अभिव्यक्तिहरू दिएका थिए। यस्ता किसिमका अभिव्यक्तिहरू राजनीतिक अपरिपक्वताका सङ्केतहरू हुन्।
निर्वाचनपश्चात् एनसीपीले चुनावी हारपछिको निराशा र आन्तरिक कलहलाई व्यवस्थापन गर्नुपर्नेछ। नवोदित (नयाँ उदाएका) पार्टीहरूको लागि यो समय कम चुनौतीको कुरा भने हुने छैन।
गतिलो प्रतिपक्षबिना संसद्ले आफ्नो लक्ष्य पूरा गर्न सक्दैन। एनसीपीले आफूलाई बलियो प्रतिपक्षीको रूपमा उभ्याउने अवसर भने पाउनेछ।
निर्वाचनको यस हारले एनसीपीलाई ग्रासरुट लेभलमा आफूलाई परिचित बनाउन अवसर दिनेछ। पार्टीको सङ्गठन र संरचनामा सुधार ल्याउने मौका समेत दिनेछ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4