News Summary
Generated by OK AI. Editorially reviewed.- आयामेली कवि वैरागी काइँलाले लिम्बु जाति, भाषा, संस्कृति र इतिहास समेटिएको \'हज्सन पान्डुलिपि\' पुस्तकमा \'पाङबोहाङको कथा\' प्रकाशित गराएका छन्।
आयामेली कवि वैरागी काइँला पछिल्ला दशकहरूमा याक्थुङ संस्कार र संस्कृति अनि वाङ्मय र इतिहास लेखनमा सक्रिय छन् । उमेरले ८५ पुगिसक्दा पनि उनको सक्रियता घटेको छैन । भर्खरै फिनिक्स बुक्सले प्रकाशन गरेको हज्सन पान्डुलिपि : लिम्बु जाति, भाषा, संस्कृति र इतिहास पुस्तकमा समेटिएको यो लोककथा ‘पाङबोहाङको कथा’ शीर्षकमा किताबभित्र प्रकाशित छ :
नेपालमा ब्रिटिस इस्ट इन्डिया कम्पनीका लागि रेजिडेन्ट भई बसेका ब्रायन हुटन हज्सनले मध्यकालको लिम्बू जातिको इतिहास, भाषा, संस्कृति, धर्म र लोकसाहित्य, भौगोलिक क्षेत्र र प्राकृतिक सम्पदा चिनाउने अनेक सामग्री सङ्कलन गरेका थिए । ती सबै सामग्री/पाण्डुलिपिहरू ब्रिटिस इन्डिया अफिस लाइब्रेरी (हालको ब्रिटिस लाइब्रेरी), लन्डन संगृहीत गराए । तिनै सामग्रीमध्येबाट लिइएको यो ऐतिहासिक जस्तो लाग्ने परीकथा वा दन्त्यकथा पाङबोहाङको कथा, हज्सन पाण्डुलिपि, भो. ८४, याक्थुंबाहां मुंथुं लिंबुहरूको दन्त्यकथा, २६।१३ (पृ. २२३–२३२) हो । यो पाङबोहाङ्को कथा (पृ. २२३–२३२) को नेपाली भाषामा अनुवाद यहाँ प्रस्तुत छ ।
उहिले नै पल्लोकिरात (लिम्बुवान) को वेराताप्पामा पाङबोहाङ नामक राजा थिए । उनी सधैं शिकार खेल्न जान्थे । उनको शिकार खेल्ने ठाउँहरू लावाखोला र रतुवा खोलाबीचका सुन्धोवा खोल्साको शिर र चुली (मैनाचुली ?) का जङ्गलहरू थिए ।
एकदिनको कुरा हो । राजा पाङबोहाङ शिकारमा जाँदा मृग देखा पर्यो । मृगलार्ई खेद्दैखेद्दै चुलीको बृन्दावनभित्र युम्फुमा नामक ठाउँमा पुग्दा मृगको पाइलाको डोब नै हरायो । बिस्तारै रात पनि पर्यो । बाटो पनि अलमलिएका उनले आठदिन जङ्गलमा बिताउनु पर्यो । एक रात अकस्मात् देवीले प्रकट भएर उनलाई भनिन्– “त्यो मुस्ली उखेलेर आँगनमा लगेर गाड्यौश भने त्यो उखेलेको ठाउँमा सुनको खानी निस्कन्छ है ।”
बिउँझेपछि खोज्दै जाँदा तसाँच्चै नै एक ठाउँमा सुनको मुस्ली गाडिएको भेटे । उनले उखेल्न दिनभरि बल गरे तर सकेनन् । लखतरान भएर राती मस्तसँग निदाएको बेला फेरि हिजोकै कन्या नै सपनामा आएर भनिन्– “सुनको मुस्ली कहाँ उखेलेर उसै लान सकिन्छ त ? देवी–देवताको सेवा–पुकार र धुप–धुँवार गर्नुपर्छ । त्यसपछि शुभ्येफाप्ये र राज्य (शक्ति) माग्नु पर्दछ । तब पो पाइन्छ त ।”
पाङबोहाङले पनि “उसो भए, साँच्चै देवी–देवताले दिने नै हो भने राम्रैसँग ज्ञान र अर्ती देऊँ भने । “त्यसो भए मेरो घर गएर राम्रोसँग भनुँला, जे माग्छौ, दिउँला” भनेर देवीले हातमा समातीकन उसलाई उठाएर त्यहाँदेखि हिँडाइन् । यतिकैमा ऊ झल्याँस्स बिउझँदा त देवीको रुपमा एउटी कन्यालाई सामुन्ने देखे । त्यसपछि उनै देवीको घर, नुनखानी (युम्फुमा) चुलीमा पुगे । त्यस चुलीमा पुग्दा त एउटा ठूलो दैलो देखियो । त्यस दैलोबाट भित्र उसलाई देवीले लिएर गइन् । भित्र त असङ्ख्य घोडा, हात्ती आदि थिए ।
धरती समान एउटा ठूलो मुलुक (राज्य) थियो । एक राजा पनि थिए । सुन–चाँदीले भरिपूर्ण थियो । “यो त देवलोक हो, यहाँ बस्नु हुँदैन” भनेर देवीले भनिन् । अब तिम्रो मुलुकमै जाऊ” भन्दै दुवै फर्केर पृथ्वीमा आए ।

आफ्नो देश युम्फुमा (युम्फेरेक्मा) फर्केर उनले ठूलो दरबार (घर) बनाए । देवीले त्यस घरलाई राम्ररी स्याहारेर सुख–सयलसँग बस्न हुने तुल्याइन् । त्यसपछि अघि देवीले सपनामा भनेझैं त्यस सुनको मुस्ली उखेलेर ल्याई आफ्नो घरको आँगनमा गाडे, रोपे । साँच्चै नै माथि युम्फुमा (युम्फेरेक्मा)मा नुनको खानी निस्कियो । त्यसरी नै पूर्वतिर सुन्धोवाको शिरमा सुनको खानी, युरुम्थाला ताप्पामा ताँबाको खानी र युनिङ्थाला ताप्पाको सिरमा तेलखानी पनि निस्कियो ।
त्यसपछि उनले दक्षिणतिरको काताक्थुप्पामा बिरुवाबारी तुल्याए, फुङ्नाम्नुमामा फूलबारी बनाए है । फेरि वेराताप्पामा खेतीपाती गर्ने ठाउँ पनि बनाए । देवी–रानीको दयाले नै घोडा, गाई, हात्ती, भैंसी आदि असङ्ख्य भएर बढे । सुनचाँदी धनद्रव्य बढेर आउँदा ऊ त सारै धनी र सम्पन्न भए । उनका नाम र धनको कुरा चारैतिर फिँजियो ।
केही कालपछि पाङबोहाङको जेठी स्वास्नी मनुष्य–रानीले डाहाले गर्दा पाप चिताउन थालिन् । “पछि देवी रानीले छोरालाई जन्म दिई भने त मेरा छोराहरू कहिले राजा हुने छैनन् । उसैकी छोरा नै राजा हुन्छ ।” यस्तो कुरा मनमा खेल्न थालेपछि एकदिन आफ्नो लोग्नेलाई भनिन्— “हामी त मनुवा हौँ । यी तिम्री स्वास्नी त देवी–रानी हो ।
देवताकी छोरी हो । पछि के हुन्छ, कसो हुन्छ । के हो, कसो हो । मर्नु र बाँच्नु कसले देखेको हुन्छ । त्यसैले उसको मरण–जीवन अर्थात् उसको काल केमा छ ? यो सोधी राखे राम्रो हुन्छ है” भनिन् । नभन्दै पाङबोहाङ राजाले पनि हो त नि भनेर देवी–रानीलाई सोध्यो । “हे देवी–रानी, तिमी त देवताकी छोरी हौ । हामी त मनुष्यको छोरा । पछि हामी तिमीबीच के कसो होला ? तिम्रो मर्नु र बा“च्नु कहाँ र केमा छ ? तिमीले नभनी हामीलाई थाहा हुँदैन । तिम्रो मरण र जीवनबारे बताइराख है” भन्यो ।
देवी–रानीले सबै कुरा बुझेकीले दुखित भएर भनिन्— “तिमी मनुष्यलाई मैले त बडो केके न बनाउँला, राजा नै बनाउँला भनेर चिताईकन साथमा आउँदा त अहिले मेरो काल केमा छ भनी सोधनी गर्न थाल्यौ, होइन ? हे मनुक्खे, तिमीले ममाथि पाप चितायौ । तिमीले नसोध्नु पर्ने, तिम्री मनुक्खे स्वास्नीले सिकाएर सोध्यौ । ठीकै छ । तिमीलाई नकहेर कोसित कहुँला त ? हे पाङबोहाङबा राजा, तर म भएको जस्तो त पछि कदापि हुँदैन, आफैँ देखौला है ।” त्यसपछि “सोधिहाल्यौ, सुन, मेरो काल केमा छ ? देखाउँछु।
म कुनै हतियारले काटेमा वा काँडले हानेमा पनि मर्दिनँ, कपट र नास लागे पनि मर्र्दिनँ ।
कहिल्यै पनि नमर्ने मेरो काल भनेको मधेसबाट काँचो हिङ ल्याई मेरो सिरानीमा हाली दियौ भने मात्र मर्छु । मेरो मरण त्यसैमा मात्र छ है” भनेर देवी–रानीले गुह्य बताइन् । आफ्नो मनुक्खे लोग्नेको पालो आफ्नी मनुक्खे स्वास्नीलाई सबै भनिदियो । देवीको दयाले धनदौलत धेरै भएको थियो मनुक्खे रानीसँग । त्यसैले व्यापारमा जानेहरूलाई रुपैयाँ घुस दिएर जेठीरानीले फकाइन् । व्यापारमा जानेहरूले पनि खुसी भएर मधेसबाट हिङ ल्याइदिए ।
जेठी मनुक्खे रानीले आफ्नी सौता त्यो देवी–रानीलाई दासीजस्तै काममा जोत्दथिन् । एक दिन जेठी रानीले सौता भएर आएकी देवी–रानी मेलोमा लागिरहेकै बखत पारेर कसैले नदेखीकन उसको कोठाको सङ्घारमाथि र सिरानीमा हिङ हालिदिइन् । त्यति नै बेला देवी–रानी मेलामा नै बिसञ्चो भएजस्तो भइन् । उनलाई अलिअलि दुखेकोजस्तो भएर आयो । मेलोमा लागिरहन नसक्ने भएपछि मानिसहरू आएर घरतिर लिएर आउँदा आँगनमा पुग्दा–नपुग्दै हिङ हिङ गनायो ।
“अब मलाई मार्न नै चिताएका रहेछन् मानिसहरूले” भन्ने उनलाई मनमा लाग्यो र उनले भनिन्– “म अब मर्छु । म मरेपछि त नुनखानी पनि हराउने छ, सुनखानी पनि पहिरोले पुर्नेछ है ।” यति भनेर घरभित्र पस्नेबित्तिकै उसको प्राण गइहाल्यो ।साँच्चै नै ऊ मरेपछि तत्कालै नुनखानी पहिरो गएर पुरियो, सुनखानी पनि पुरियो । धनद्रव्य, घोडा–हात्ती, गाई, भैंसी सबै अलप भए ।
विरहले व्याकुल पाङबोहाङ राजा रोए, कराए । अघि देवी–रानी सुत्ने, डुल्ने, हिँड्ने ठाउँमा डुल्दै, रुँदै कराउँदै गर्न थाले । पाङबोहाङ राजाको विलाप सुनेर सपनामा प्रकट भई देवी–रानीले भनिन्– “किन रुन्छौ ? नरोऊ । तिमीलाई राज्य दिउँला, राजा नै बनाउँला भन्थे“ तर तिमीले जानेनौ, बुझेनौ । मायाले तिमीलाई कति अर्ती दिए“ तर पनि तिमी मानेनौ । हाम्रो लहनामा नै छुट्टिनु लेखेकाले यसो भयो । तिमीले पाप चितायौ, मैले त पाप चिताएको छैन है । अब किन पछुताउँछौ ? मैले कसो गर्नु ? विधिको विधानले गर्दा म देवताकी छोरी, तिमी मनुक्खे । तर पनि हिजो तिम्रो–हाम्रो घरमा नै मरेँ । मरेकीलाई अब माया गरेर हुँदैन । भो, नरोऊ” भनी सम्झाइन् । उतिबेला माया र मोहले अन्धा भएका पाङबोहाङले देवी–रानीलाई समात्न खोजे तर देवीरानी अलप भइन् । पाङबोहाङ ता रोई–रोईकन मरे है ।
आदौमा त खाम्बोहाङबाहरूका पालामा देवी–देवतासित मान्छेको बोलीचाली मिल्थ्यो र भेटघाट पनि हुन्थ्यो । पाङबोहाङले देवी–रानीसित भेट्न सत्यहार गरेकाले देवी–रानीले प्राण–त्याग गरेर कन्यानुका अथवा कन्यालुकुवा नामक ओढारको दुलोभित्र अलप भएदेखि यता देवी–देवता र मानिसको बीच सदाका लागि भेटघाट बन्द भयो । त्यसरी नै देवी–रानीको काल भएको हिङलाई चुली (मैनाचुली तथा चुलाचुली) देखि पश्चिम वाराहक्षेत्रदेखि पूर्व ल्याउन हुँदैन भन्ने आहान जन्मियो । यी ठाउँमा हिङ ल्याएमा देवी–देवताले सहँदैन भनेर जान्ने–बुझ्नेहरूले आज पनि लैजाँदैनन् । नजान्नेले लगे भने पनि दोष लाग्छ, दुःख–पिराउ आइलाग्छ भन्ने बूढापाकाहरूको भनाइ सुनिन्छ ।
देवीरानीले प्राण त्यागी अलप भएपछि पहिरो भत्केर गए पनि युम्फुमा (युम्फेरेक्मा) अझै छ । तर, नुन अब पाइँदैन । त्यसरी नै सुन्धोवाको पानीमा सुन पाइँदैन र युरुमथाला ताप्पामा ताँबा निस्कँदैन भनिन्छ । विचरा पाङबोहाङ राजा पनि अपुताली भयो ।
प्रतिक्रिया 4