५ फागुन, रसुवा । देशकै सबैभन्दा कम मतदाता भएको निर्वाचन क्षेत्रमध्ये सातौं नम्बरमा पर्छ रसुवा । एक मात्र निर्वाचन क्षेत्र रहेको यो हिमाली जिल्लामा मतदाता थोरै भए पनि प्रत्येक चुनावमा प्रतिस्पर्धा भने दह्रै हुने गर्छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका मोहन आचार्य, नेकपा एमालेका प्रेम तामाङ र नेपाली कम्युनिस्ट पार्टीका माधव लामिछानेबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।
आचार्य र तामाङ तेस्रो पटक निर्वाचनमा होमिएका हुन् भने नेकपाका लामिछाने पहिलो पटक मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो जिल्लामा ९ राजनीतिक दल र ३ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
४१ हजार ४७१ मतदाता रहेको यस जिल्लामा कांग्रेस उम्मेदवार निर्माण व्यवसायी एवं इन्जिनियर आचार्य २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचन निर्वाचित भएका थिए ।
एमालेका तामाङ २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार थिए । तामाङ २०७४ सालमा भने कांग्रेसका उनै आचार्यको सहयोगमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
रसुवामा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बसन्त भट्ट पहिलो पटक युवा उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्दैछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट हरिप्रसाद घिमिरे, उज्यालो नेपाल पार्टीका तर्फबाट मानबहादुर तामाङ, मंगोल नेसनल अर्गनाइजेसनका विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबासाङ्बो तामाङ, कम्युनिस्ट पार्टी (माओवादी) का होमप्रसाद आचार्य गरी १२ उम्मेदवार रसुवाबाट प्रतिस्पर्धामा छन् । उज्यालोका तामाङ टिकट नपाएपछि रास्वपा जिल्ला सभापतिबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् ।
उत्तरगया, कालिका, गोसाइकुण्ड, नौकुण्ड र आमाछोदिङ गाउँपालिका गरी ५ स्थानीय तह रहेको रसुवा ८० प्रतिशत तामाङ बाहुल्य रहेको निर्वाचन क्षेत्र हो । रास्वपाको न्यून प्रभाव रहेको यहाँ मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच नै हुने अनुमान गरिएको छ ।
आचार्य र तामाङको लडाईंमा मौका खोज्दै लामिछाने
दुई पटक निर्वाचित कांग्रेसका उम्मेदवार मोहन आचार्य यो पटक निर्वाचन जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् भने एमालेका तामाङ आचार्यको निरन्तरता रोक्दै जित निकाल्ने कसरतमा देखिन्छन् । यी दुईबीचको प्रतिस्पर्धाबीच नेकपाका उम्मेदवार लामिछाने भने दुवैलाई रोकेर आफूले बाजी मार्ने रणनीतिमा देखिन्छन् ।
अघिल्ला दुई निर्वाचनमा आपसमा तालमेल गरेका यी तीन दलले यस पटक गठबन्धन बिना नै आफ्ना उम्मेदवार मैदानमा उतारेका छन् ।
२०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट आचार्यले जित निकालेका थिए । जतिबेला उनले १८ हजार २३५ मत प्राप्त गरेका थिए । समानुपातिकमा भने कांग्रेसले १२ हजार ५८६ मत पाएको थियो ।
२०७४ मा एमाले र माओवादीसहितको गठबन्धनलाई पनि उनले पराजित गरे । उनको निकटतम प्रतिस्पर्धी एमालेका छोवाङ तेन्जिन तामाङले ८ हजार ६१४ मत पाएका थिए । समानुपातिकमा ७ हजार ७०८ मत ल्याएको थियो ।
माओवादी, नयाँ शक्ति, कांग्रेस हुँदै एमालेमा आइपुगेका तामाङले कांग्रेसका आचार्यसँगको सहयोगमा २०७४ मा प्रदेशसभामा निर्वाचन जिते । त्यसलगत्तै कांग्रेसमा भित्रिएका उनी २०७९ पछि नेकपा एमाले प्रवेश गर्दै अहिले उनै आचार्यसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
२०७० को निर्वाचनमा माओवादीबाटै उम्मेदवार भएर तामाङ एमालेका उम्मेदवार जनार्दन ढकालसँग पराजित भएका थिए । अहिले एमालेमा आएपछि ढकालमाथि ज्यादती र आक्रमणसमेत गरी पार्टी छोड्न बाध्य बनाएको तामाङमाथि आरोप छ ।
ढकाललाई पार्टीमा आउना साथ पन्छाएर त्यो स्थान आफूले लिएका तामाङलाई एमाले भित्रैको असन्तुष्टिका कारण निर्वाचन जित्न सकस पर्नसक्ने विश्लेषण भइरहेको छ ।
कांग्रेसबाट दुई पटक चुनाव जितेका आचार्यको गढ भत्काउन पनि उनलाई कठिन देखिन्छ । बरु कांग्रेसको केही मत रास्वपाका भट्टलाई बाँडिन सक्ने आकलन भइरहेको छ ।
आफ्नै पार्टी भित्रको छिन्नभिन्न मतलाई व्यवस्थापन गर्न तामाङले नसकेमा अन्य उम्मेदवारलाई जित्नका लागि आवश्यक निर्णायक मत नै बाहिरिन सक्ने खतरा छ । यस्तो परिस्थिति आएमा २०७९ मा एमाले उम्मेदवारले पाएको करिब ९ हजार मतमध्ये ४० प्रतिशतभन्दा बढी मत गुम्न सक्ने स्वयं एमालेकै नेता–कार्यकर्ता बताउँछन् ।
यस्तो असन्तुष्ट मतलाई आफ्नो पक्षमा ल्याउन सक्ने अवसर नेकपाका नेता लामिछानेलाई देखिन्छ । २०७९ समानुपातिक मत परिणामअनुसार तत्कालीन माओवादी केन्द्र ३ हजार ६८६ मत ल्याएर यो जिल्लामा तेस्रो स्थानमा छ ।
तत्कालीन नेकपा एकीकृत समाजवादीसँग दल एकीकरण भइसकेको अहिलेको अवस्थामा उसले ल्याएको ९४६ मतसमेत थप हुँदा कांग्रेसका आचार्य र एमालेका तामाङका लागि लामिछाने मुख्य चुनौतीका रूपमा देखिने सम्भावना छ ।
एमालेको असन्तुष्ट मत तानिने र कांग्रेसबाट रास्वपालाई जान सक्ने मत बाँडिन सक्ने अवस्थामा हिजोको तेस्रो दल नेकपाका उम्मेदवार लामिछानेको पक्षमा आउने मतपरिणामले ‘सप्राइज’ दिएमा अनौठो नहुने जिल्लाका जानकारहरूको विश्लेषण छ ।
अहिलेको समग्र प्रभावले यहाँ रास्वपाको मत धेरै बढ्ने देखिए पनि विगतको मतपरिणाम हेर्दा रसुवामा कमजोर नै छ । रास्वपमा उम्मेदवारले यो जिल्लामा २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मत मात्रै पाएका थिए ।
प्रतिक्रिया 4