News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चिकित्सक संघको परिषद् बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्म बढाउने प्रस्ताव विवादमा परेको छ।
६ माघ, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को परिषद् बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्म बढाउने प्रस्ताव विवादमा परेको छ ।
बुधबार बसेको परिषद् बैठकमा प्रस्तुत उक्त प्रस्तावको विरोध गर्दै पाँच जना परिषद् सदस्यले फरक मत दर्ता गरेका छन् । परिषद्का सदस्य डा. दिपेन्द्र पाण्डेले बैठकमा ल्याएको प्रस्तावमा असमति भएको बताए ।
उनका अनुसार कार्यकारिणी समितिको कार्यकाल अर्को निर्वाचन नभएसम्म थप गर्ने प्रस्ताव नेपाल चिकित्सक संघको विधान, २०४७ विपरीत रहेको छ ।
‘यदि केन्दीय कार्यकारिणी समितिको निर्वाचन हुन सकेन र कार्यकाल समाप्त भयो भने संघ सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी परिषद्मा रहनेछ’ डा. पाण्डेले भने । डा. पाण्डेसँगै परिषद् सदस्य डा. छवि पन्थी, डा. अमित उप्रेती, डा. अपिल उप्रेती र डा. सन्जितकुमार साहले पनि फरक मत दर्ता गरेका हुन् ।
उनीहरूले कार्यकारिणी समितिको कार्यकाल समाप्त भएमा संघ सञ्चालन गर्ने जिम्मेवारी परिषद्मा रहने विधानअनुसार निर्णय गर्नुपर्ने माग गरेका छन् । संघको कार्यकारिणी समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।
जसअनुसार हालको कार्यकाल आगामी २० फागुनमा समाप्त हुँदैछ । २१ फागुनदेखि नेतृत्व रिक्त हुन नदिन ‘परिषद् कार्यसमिति’ गठन गर्नुपर्ने उनीहरूको माग छ ।
विधान मिचेर निर्णय गरिएमा विधानको संरक्षकको हैसियतमा विधानसम्मत रूपमा नयाँ परिषद् कार्यसमिति गठन गरी निर्वाचन प्रक्रिया सुनिश्चित गर्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया 4