७ फागुन, काठमाडौं । नेकपा एमालेले युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिने प्रतिवद्धता जनाएको छ ।
२१ फागुनको निर्वाचनका लागि एमालेले ल्याएको चुनावी घोषणापत्रमा संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न परराष्ट्र नीति, शान्तिपूर्ण सहअस्तित्व, अहस्तक्षेप, पारस्परिक समझदारी र सहयोगलगायतका पञ्चशीलका सिद्धान्तमाथि विश्वास गर्ने उल्लेख छ । यहीँनेर भनिएको छ, ‘युद्धको विपक्षमा र विश्व शान्तिको पक्षमा निर्धक्क उभिन्छौं ।’
सार्वभौम समानता, स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान गर्दै विश्व शान्ति, सहअस्तित्व र सबैसँग मित्रतामा आधारित परराष्ट्र नीतिप्रति प्रतिबद्ध हुने पनि उसको प्रतिवद्धता छ ।
अगाडि भनिएको छ, ‘हामी सार्वभौम समानतामा विश्वास गर्दछौं । कुनै पनि राष्ट्रको स्वाधीनता, स्वनिर्णय, भौगोलिक अखण्डतामाथिको अतिक्रमण हस्तक्षेप अस्वीकार गर्दछौं ।’
सबै राष्ट्रसँग सम्मानजक सम्बन्ध राख्ने, सबै राष्ट्रको सार्वभौमसत्ता र स्वाधीनताको सम्मान गर्ने र अन्य राष्ट्रहरूबाट त्यस्तै व्यवहारको अपेक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।
संवाद र सद्भाव प्रेरित सबै प्रयत्नमा सहभागी हुने र विवेकपूर्ण योगदान गर्ने भन्दै एमालेले अगाडि भनेको छ, ‘छिमेकी देशहरूसँगको सम्बन्धलाई अझ विश्वासिलो र मित्रवत् बनाउने छौं ।’
छिमेकी मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई अझै मजबुत एवं सौहाद्र बनाउन र पारस्परिक सहयोग अभिवृद्धि गर्न निरन्तर प्रयास गर्ने पनि उसको प्रतिवद्धता छ ।
‘हामी कुनै पनि छिमेकीहरूको अहित चिताउँदैनौं र अहित हुने कुनै काम गर्दैनौं’ एमालेले भनेको छ, ‘सबै मित्रराष्ट्रहरूसँग अन्तर्राष्ट्रिय, क्षेत्रीय संघ–संगठनहरूसँग सहकार्य गर्नेछौं ।’
कुनै आग्रह पूर्वाग्रह राख्ने भन्दै एमालेले भनेको छ, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ हाम्रो विदेश सम्बन्ध सञ्चालनको आधारभूत नीति हो ।’
श्रम कुटनीतिलाई प्रभावकारीरूपमा प्रवर्द्धन गर्नका लागि श्रम गन्तव्यका सबै देशहरूमा सामाजिक सुरक्षाको प्रावधानसहित द्विपक्षीय श्रम सम्झौता गर्ने उसको प्रतिवद्धता छ ।
राज्यले आफ्ना नागरिकलाई दिने सेवा नेपालमा मात्र नभई जहाँ नेपाली छन्, त्यहीँसम्म विस्तार गर्ने बाचा गरिएको छ ।
उत्पादनका क्षेत्रमा वैदेशिक प्रत्यक्ष लगानी प्रवर्द्धन गरी नेपालमै रोजगारीको अवसरहरू बृद्धि गर्न विदेशस्थित नियोगहरूको आर्थिक कुटनीतिक क्षमता विकास गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4