८ फागुन, काठमाडौं । चुनाव भन्नेबित्तिकै लावालस्कर लगाएर गरिने तामझाम बुझिन्छ । सानोतिनो समूहमा प्रचार गरे प्रभाव नभएको अपजस समेत पाइन्छ ।
यसअघिका चुनावमा ‘एकला चलो रे’ शैलीमा हाते माइक लिएर भोट माग्ने हर्क साम्पाङसमेत दलबलसहित हिँड्न थालिसके ।
सुर्खेत क्षेत्र नम्बर २ बाट गतिशील लोकतान्त्रिक पार्टीबाट उठेका पवन थापा मगर भने यी प्रचलित चुनाव शैलीहरूबाट टाढा देखिन्छन् । पश्चभागमा नारा लगाउँदै पछ्याउने कार्यकर्ताहरूको लर्को उनीसँग छैन । अनुहारमा प्रतिष्ठाको प्रतीकस्वरूप पोतिने अबिर, ओढाइने खादा र पहिराइने मालाहरूबाट उनी बिलकुल टाढा छन् ।
प्रचलित परम्पराभन्दा बेग्लै शैली छ उनको । एक्लै ह्यान्ड माइक बोकेर आफ्नो क्षेत्रमा भोट माग्छन् । गाउँ-गाउँमा उनी पैदल पुग्छन् । स्थानीयको समस्या सुन्छन् । आफूले सक्ने प्रतिबद्धता व्यक्त गर्छन् । अनावश्यक सपना भने बाँड्दैनन् ।
मूलधारका पार्टीहरूको प्रतिस्पर्धाको आकलन गरिरहेको माहोलमा पनि उनी नसुनिएका झैँ देखिन पनि सक्छन् । तर उनी आफूलाई धेरै मुखहरूबाट उच्चारित भएको देख्न भन्दा पनि आम मानिसहरूमाझ आफ्नो एजेन्डाबारे संवाद गर्न पाएकोमा गर्व महसुस गर्छन् ।
‘जुन लोकप्रियतावादमा रमाइरहेको चुनाव छ, त्यसमा म सामेल हुन सक्दिनँ,’ उनको स्वीकारोक्ति छ, ‘मलाई तामझामको अलावा अन्य वैकल्पिक तरिकाबाट पनि चुनाव प्रचार हुन सकिन्छ भन्ने कुरा पनि देखाउनु छ ।’
आफूलाई पुराना शक्तिहरूभन्दा भिन्न ठान्ने शक्तिहरू नै पुराना शक्तिहरूको चुनाव प्रचारको शैली देखेर पवन अचम्म पर्छन् । यस्तो प्रचार शैलीले जनताको निर्णय स्वतन्त्रताको अवमूल्यन गरेको उनको ठम्याई छ ।
यातायात र खानेपानी प्रमुख मुद्दा
पवनले सुर्खेत-२ बाट उम्मेदवारी दिएका छन् । तर उनले उठाएका मुद्दाहरू भने सुर्खेत-२ मा मात्र सीमित भएका छैनन् । आफ्ना एजेन्डाहरूबाट उनले समग्र कर्णालीका आधारभूत समस्याहरूलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
अन्य उम्मेदवारभन्दा आफूले उठाएका विषयहरू नितान्त पृथक् भएको कुरामा पवन निश्चिन्त छन् । ती पृथक् मात्र छैनन्, अत्यावश्यक पनि छन् ।

उनको सबैभन्दा सुन्दर पक्ष भनेको नै के हो भने उनले आफूलाई कुनै ठूला-ठूला विकास र प्रगतिको मुद्दासँग आफूलाई जोडेका छैनन् । उनले सर्वप्रथम त कर्णालीको यातायातको समस्यालाई आफ्नो प्रमुख मुद्दाका रूपमा हेरेका छन् ।
कर्णालीले स्याहार-सम्भार गरेका विविध आन्दोलनहरू कर्णालीका विकट पहाडहरू छिचोल्दै राजधानी प्रवेश गरे । तर कर्णाली भने मानिसका आधारभूत सुविधाबाट नै वञ्चित हुँदै आयो । कर्णालीका जनताहरू आजसम्म पनि सुरक्षित यातायातको सेवा प्राप्त गरेका छैनन् । सुरक्षित मात्र होइन सम्मानजनक यातायात सुविधा पनि प्राप्त गरेका छैनन् ।
पवनलाई काठमाडौँ र कर्णालीको यातायात व्यवस्थाको तुलना गर्दा कहिल्यै सन्तोषको भाव पलाएन । कर्णाली जहाँ विपन्नता, अशिक्षा र अभाव मात्र सङ्ग्रहित हुन्छन्, त्यस ठाउँका नागरिकहरू भने काठमाडौँका नागरिकभन्दा महँगो गाडीभाडा तिर्न बाध्य छन् । यद्यपि, काठमाडौं सम्पन्न शहर हो । शिक्षा सुविधा भएको शहर हो । तर गाडी भाडामा समेत कर्णालीवासीहरू मारमा पारिनुले नेपालको राज्य संयन्त्रको दोहोरो मापदण्डलाई प्रकाश पार्छ ।
उनी भन्छन्, ‘बागमती प्रदेशमा पाँच किलोमिटरको भाडा १८ रुपैयाँ छ । १५ किलोमिटरसम्मको २९ रुपैयाँ । तर सुर्खेतमा भने दुई किलोमिटरकै १५० रुपैयाँ असुलिन्छ ।’ यसो भनिरहँदा उनको मुहारमा तीतो रेखा कोरिन्छ । उनलाई राजधानीको ‘कसैलाई काखा, कसैलाई पाखा’ नीतिप्रति आक्रोश पनि छ ।
खानेपानी उनले सम्बोधन गर्ने मुद्दाहरूमध्ये अर्को मुद्दा हो । अन्य नेताहरूले झैँ उनले गुणस्तरीय शिक्षाको चर्को नारा दिएका छैनन् ।
‘जब खानेपानी र यातायात नै राम्रोसँग पुग्न पाएको छैन, त्यस क्षेत्रमा गुणस्तरीय शिक्षाको चर्चा गरेर के गर्ने ?’ यसो भनिरहँदा उनको आवाज र भङ्गिमामा आलोचनाको सानो भय मात्र पनि देखिँदैन । ‘शिक्षा पनि अवश्य चाहिन्छ । समाजको मूल आवश्यकता के हो, त्यसलाई पहिला बुझ्नु पर्यो । प्राथमिकताको क्रम बनाउनु पर्यो,’ उनी भन्छन् ।

कुरा सुन्दा अतिरञ्जित सपना बाँडेर बहुप्रिय हुने उनको इच्छा छैन । उनी पर्यटनको कुरा पनि गर्छन् । काँक्रेबिहारलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने लक्ष्य पनि छ उनको । संसारका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनीमा मात्र सीमित नगराई काँक्रेबिहारसम्म पुर्याउने इच्छा पनि छ । तर यातायात र खानेपानी सुविधाको मूल्य तिरेर होइन ।
‘थारू गाउँ आफैमा संग्रहालय हो, केवल संग्रहालयको औपचारिकता मात्र नपुगेको हो,’ उनको गाम्भीर्यबाट यो आवाज निस्किन्छ । सामाजिक न्यायका मुद्दाहरूमा पनि उति नै प्रतिबद्ध पवनको मिहिन दृष्टिबाट यस्ता सामाजिक आयामहरू पनि छुटेका छैनन् ।
‘तामझाम देखाउने शैली पुरानो भइसक्यो’
एउटा काँधमा झोला बोकेर, झोलाभरि पर्चा र घोषणापत्र बोकेर हिँडेका पवनलाई उनका एजेन्डाबाहेक अर्को पनि प्रश्न नित्य सोधिने गरिन्छ । त्यो प्रश्न उनको चुनाव प्रचार शैलीलाई नै लिएर गरिन्छ ।
अघि माथि नै भनिसकियो पवनको चुनावशैलीबारे । एउटा छोटो वाक्यमा उनको चुनावप्रचारलाई व्याख्या गर्न सकिन्छ । एउटा झोला, केही पर्चा, पैदल यात्रा, स्थानीय नागरिकहरूसँग संवाद ।
जब उनको शैलीप्रति प्रश्न गरिन्छ, उनी भित्रको थकित कवि जुर्मुराउँछ । राहत इन्दौरीको प्रसिद्ध शेर सुनाउँछन् – सरहदों पर बहुत तनाव है क्या, कुछ पता करो चुनाव है क्या ।
उनी सरहदसम्म कम्पन फैलाउने प्रचारहरूदेखि रुष्ट छन् । उनको विचारमा यस्ता प्रचारहरू जनताको अवमूल्यन गर्ने तरिका हुन् । अझ उनी यो भन्दा एक पाइला अघि बढेर भन्छन्, ‘तामझाम देखाउने शैली पुरानो भइसक्यो ।’

आजसम्म तामझाम बाहेक केही बन्न नसकेका चुनावी अभियानलाई पुरानो तोकिदिनु आफैंमा अचम्मको कुरा हो । नयाँ, पुराना, साना, ठूला सबै दलहरूको नवैपकालिक प्रचार शैलीलाई पुरानो शैलीको नाम दिने पवनलाई लाग्छ – प्रचार त एजेन्डाको हुनुपर्छ, आफ्नो लोकरिझ्याइको होइन ।
हुन पनि पवन आफू एक्लै प्रचारमा जाँदा नागरिकहरूसँग झन् निकट भएको अनुभव गर्छन् । त्यहाँ उनलाई नागरिकहरूसँगको संवादमा खलल पुर्याउने कार्यकर्ताको भीड छैन । नागरिकका मुद्दाहरूसँग सम्बन्ध स्थापना गर्दा टीका, माला आदिले अवरोध पुर्याउँदैनन् । आफू एक्लै हुँदा झन् जनसम्पर्कको अवसर पाएको पवनको अनुभव छ ।
‘हामी लिडर हौँ, लेड होइनौँ । लिडरले लिड गर्ने हो, अनि एक्लै हुँदा पनि लेड हुने होइन.’ लौहपुरुष गणेशमानको उद्धरण सापटी लिँदै पवन भन्छन् ।
विगतको चुनाव अनुभव : दुई भोटको खोजी
त्यसो त यो पवनको पहिलो चुनाव भने होइन । २०७९ सालको स्थानीय चुनावमा पनि पवन उम्मेदवार थिए । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै स्वतन्त्र उम्मेदवारको रूपमा वडाबाट चुनाव लडे ।
त्यस निर्वाचनमा भने उनले जम्मा नौ भोट प्राप्त गरे । ७ भोट त आफ्नै चिरपरिचितले दिए । तर बाँकी दुई भोट कसले दिए, पवनलाई अझै थाहा छैन । उनलाई लाग्छ, उनले कतै न कतै परोक्ष रूपमा त्यही दुई भोट आजसम्म नि खोजिरहेका छन् ।
तर त्यो दुई भोटले पवनलाई भने पराजयको बोध दिन सकेन । बरू उल्टै, त्यस दुई भोटको कदर स्वरूप नयाँ-नयाँ काम गर्ने उत्साह पलाएर आयो ।
यही दुई भोटलाई उनले जनताका लागि नीति बनाउने शक्तिमा परिवर्तन गरे ।
प्रदेश सरकारमा यातायात सम्बन्धी ऐन पास गराउन उनी एक्लै लडे । कर्णालीवासीको लागि गाडीभाडा धेरै भयो भनेर एक्लै लडे । फलस्वरूप उनी भाडा घटाउने अभियानमा सफल पनि भए । कर्णालीका दुर्गम ठाउँहरूमा बिजुलीका पोलहरू पनि पुर्याउन सफल भए ।
प्रदेश र स्थानीय शक्तिहरू निरीह भएको हाम्रो संघीयताको मोडेलमा स्थानीय सरकारको पहलमार्फत काम गर्नाले संघीय सरकारमा पनि केही असर परेको पवनको बुझाइ पनि छ ।
राजनीतिक चेतनाको निर्माण
कोही कसैले पवनको फेसबुक प्रोफाइलमात्र पनि स्क्रोल गर्यो भने एक झमटमा त उनी राजनीतिक प्राणी नै होइनन् कि भन्ने पनि लाग्छ । यदि राजनीतिक प्राणी नै भए पनि संसद नै ताक्ने खालका मान्छे होइनन् जस्तो लाग्छ ।
उनी साहित्य र सिनेमाका गम्भीर अध्येता हुन् । फिल्म निर्माणमा उनको डिप्लोमा डिग्री पनि छ । राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक तहमा अध्ययन पनि गरिरहेका छन् । उनी राम्रा-राम्रा आलेख लेख्ने लेखक पनि हुन् । यसो हेर्दा राजनीतिसँग त सम्बन्ध नै नहुनुपर्ने मान्छे जस्ता लाग्छन् ।
अझ उनको जीवनको रोचक पक्ष भनेको थाइल्याण्डमा ५ वर्ष बौद्ध दर्शनको अध्ययन समेत गरेका छन् । भिक्षु जीवनको अभ्यास र अनुभव पनि लिएका छन् । कहाँ धार्मिक जीवन कहाँ राजनीतिक !

तर पवनको जीवनले भने अर्कै थोक भन्छ । उनको जति पनि राजनीतिक चेतना निर्माण गराउने तत्वहरू छन्, तिनको अधिकांश हिस्सा भने फिल्म, साहित्य र बौद्ध दर्शनले ढाकेका छन् ।
हिन्दी र नेपाली साहित्यहरू पढेर आफूले समाजको वास्तविकता बोध गर्न सकेको पवनको बुझाइ छ । उनी सिनेमाबाट समाजका अन्यायहरूप्रति अवगत भएको कुरा बताउँछन् ।
बौद्ध दर्शनमा राजनीतिक चेत कसरी आउँछ भन्ने कुराप्रति उनी आलोचनात्मक शैलीमा भन्छन्, ‘नेपालका कम्युनिस्टहरू जस्तो खालको समाजको परिकल्पना गर्छन्, ती कुराहरू त बौद्ध दर्शनमा लेखिएका छन् त ! शब्द र भाषा फरक प्रयोग गरिएको होला तर सार त एकै त हो नि ।’
बौद्ध दर्शनलाई राजनीतिक दृष्टिले हेर्न नसक्दा मौलिक र व्यवहारिक विचारहरू मरिरहेको उनको तर्क छ । जीवनको सात वर्षको साम्यवादको अध्ययनमा बिताएका पवनले बौद्ध दर्शनलाई साम्यवादीहरूले नै अराजनीतिक दृष्टिले हेरिरहेको समेत पाएका छन् ।
‘बौद्ध धर्मले त झन् हामीलाई समावेशी र उत्तरदायी बन्न सिकाउँछ,’ पवन मुस्कुराउँदै भन्छन्, ‘आखिरमा लेफ्टहरूले पनि त्यही त चाहेका हुन् नि त ।’
उनका व्यक्तिगत जीवनका अनुभूतिहरू पनि कम सहायक छैनन्, राजनीतिक चेत निर्माण गर्नका लागि ।
उनले आमाको नामबाट नागरिकता बनाउनु पर्दा लामो हण्डर खाएका थिए । आमाको नामबाट रेमिट्यान्स प्राप्त गर्न मिल्ने मुलुकमा आमाको नामबाट नागरिकता भने लिन वर्षौँ खटिनुपर्ने दोहोरो मापदण्डबाट उनले समाजका व्याप्त असमानताको बोध गरेका थिए ।
उनलाई चुनाव उठाउन प्रेरित गर्ने अनुभवहरू अझै पनि उनको दृष्टिपटलमा नाचिरहन्छन् । जीर्ण स्कुलको चर्केको भित्ता । औषधिविहीन हेल्थ पोस्ट । रोजगार नपाएर कालापहाड हिँडेका तन्नेरीहरू । सदरमुकाम जान चर्को शुल्क तिर्ने यात्रु । समयमै उपचार नपाएर बाटोमै मरेर स्ट्रेचरमा ढलेका मुर्दाहरू । चेपाङ्गको मुटुबाट बग्ने क्रसरको दोहनमा परेको भेरी ।
राजनीतिक अभियान
सामाजिक सञ्जालमा पवन र डा. गोविन्द केसीको एउटा भिडियो लोकप्रिय बनेको छ ।
केसी पवनसँगै सुर्खेतको धुलाम्य सडकमा हिँडिरहेका छन् । अनि पवनको इमान्दारिताको तारिफ गरिरहेका छन् । पवनको योग्यतालाई प्रकाश पारिरहेका छन् ।
‘पवन सुर्खेत-२ को मात्र उम्मेदवार होइन, देश नै प्रतिनिधित्व गर्ने उम्मेदवार हुन्,’ डा. केसीले भनेका छन् ।

पवन डा. केसीको अभियानमा ७/८ वर्षदेखि नै जोडिँदै आएका छन् ।
डा. केसीको अभियान प्रतिको उनको आकर्षणका कारणहरू छन् । कर्णाली जुन हिसाबले स्वास्थ्य सेवासुविधामा पछाडि परेको थियो, त्यो एउटा सानो स्ट्रोकमा कोरिएको चित्र झैँ थियो । स्वास्थ्य क्षेत्रमा जुन व्यापक असमानता छ त्यसलाई नियाल्ने दृष्टि भने डा. केसीको अभियानले दिएको थियो । स्वास्थ्य सेवामा मात्र होइन, मेडिकल क्षेत्रको अध्ययन-अध्यापनको नाममा जुन असमानता थियो त्यसको पनि अवस्था भने भयावह थियो ।
यस्ता अभियानमा पवन जोडिनुको कारण उनी सरल वाक्यमा भन्छन्, ‘उपचार गर्न कसैले घरखेत बेच्नु नपरोस्, डाक्टर पढ्न कसैले घरखेत बेच्नु नपरोस् ।’
पवन सामाजिक न्यायसँग जोडिएका मुद्दाहरू उठेका अभियानहरूमा लामो समयदेखि संलग्न छन् । उनी वृहत नागरिक आन्दोलनको पनि हिस्सा बन्दै आइरहेका छन् । अविछिन्न रूपले समाजलाई बुझ्ने क्रममा यी अभियानहरू पवनका सहायक बनेका छन् ।
संसद् नै किन
साहित्य, सिनेमा, धर्म र अभियानहरूमा संलग्न पवनलाई आफ्नो मुद्दा उठाउन, एजेन्डा प्रस्तुत गर्न संसद नै किन चाहियो ?
समाजमा एउटा धारणा छ, जसले समाजमा योगदान पुर्याउन सांसद नै हुनुपर्छ भन्ने कुरामा विश्वास राख्दैन। पवनले यी धारणाहरूको अपर्याप्तता बुझेको कुरा बताए।

अभियानको क्रममा सडकबाट मुद्दाहरू उठाएका पवनले मुद्दाहरूलाई वैधानिक रूप दिन संसद् नै आवश्यक रहेको बताए। व्यवस्था अनुसार आफ्नो लडाई वैधानिक तरिकाले लड्नु पर्नेमा उनको जोड छ।
पवनले विगतको समयमा संसद् लगभग प्रतिपक्षहीन झैँ भएको अवस्था पनि देखेका छन्। प्रतिपक्षको भूमिका निभाउनु पनि ठूलो उत्तरदायित्व रहेको कुरा उनले बुझेका छन्।
त्यसकारण सरकारको नेतृत्वभन्दा प्रतिपक्षको महत्त्वलाई झर्न नदिन पनि पवन आफू संसदमा जान चाहेको स्वीकारोक्ति छ।
‘म प्रतिपक्ष नै भए पनि म आफ्ना मुद्दा र आवाजहरू भने निरन्तर उठाइरहन्छु। आफ्नो आवाजलाई वैधानिक रूप दिन चाहन्छु,’ पवन भन्छन्।
पपुलिज्म ट्रेन्डबारे
लोकतन्त्र जनताको शासन भइसकेपछि सबैभन्दा बढी सचेत र उत्तरदायी भने जनता हुनुपर्ने हो । तर पवन भने त्यो अवस्था नेपाली समाजमा पाउँदैनन् ।
यही चुनावमा प्रचारको क्रममा रास्वपा नेता बालेन कर्णाली आएका थिए । ‘बालेन दाइ’ को क्रेजमा अझ रमझम थप्न कर्णालीबासीहरू बालेनको चुनावी अभियानमा होमिए । तर कर्णालीवासीहरूले बालेनलाई कुनै प्रश्न सोधेनन् । एजेन्डा र घोषणापत्र सोधेनन् । तर चुनाव प्रचारको तामझाम घट्न नदिन भने कुनै कसर छाडेनन् ।
सोही चुनावी रमझमको बीच जुम्लामा भने अत्यन्त हृदयविदारक घटना घट्यो ।
जुम्लाको दुर्गम तिला गाउँपालिका-९ की २७ वर्षीया रमिता थापाले सुत्केरी गराउन बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै बच्चा जन्माइन् । उनले आफन्तले हिउँमै बोकिरहेको अवस्थामा चायापाटनमा छोरी जन्माएकी थिइन् ।
तर बालेन चुनाव प्रचारमा ओइरिएको मानवसागरको हल्लाबीच उक्त घटनाको मसिनो चित्कार भने बिलायो । र, बालेन अनि रास्वपालाई कसैले सोधेन कि हिउँका थुप्राहरूमा बच्चा जन्माउनु पर्ने स्थिति कसरी परिवर्तन गर्ने हो भनेर ।
पवनलाई यो दृश्यले पीडा र आक्रोश एकै पटक दिएको थियो । उनलाई आफूलाई कर्नालीको मानिस भनेर चिनाउन समेत लाज लगेर आयो । लोकप्रियतावादको रतिमा रत्तिँदा विचार र एजेन्डाहरू पछि परेको देख्दा उनलाई दुःख लागेर आएको छ ।
तर उनी यसमा भने नागरिकको पनि दोष देख्छन् । ‘आफ्नो आवश्यकता के हो, आफूलाई थाहा हुनुपर्छ, नेताले भनेर हुन्न,’ पवन भन्छन्, ‘सधैँभरि राज्यसत्तालाई मात्र थर्काएर नसकिने रहेछ, आम जनताहरू पनि आफैंप्रति सचेत हुनुपर्यो ।’
देशभरि फैलिएको पपुलिज्म ट्रेन्डलाई उनी लोकतन्त्रमा पसेको व्याधीको संज्ञा दिन्छन् । निर्वाचन मार्फत लोकतन्त्रका आधारहरूमाथि पपुलिज्मले प्रहार गरिरहेको देख्छन् । यस पटकको निर्वाचनमा उम्मेदवार भन्दा बढी जनता सचेत हुनुपर्ने उनको बुझाइ छ ।
पवनका चुनौतीहरू
चुनाव जित्नलाई मात्र होइन, लोकतन्त्रलाई संस्थागत गर्नका लागि बलियो पार्टी हुन जरूरी छ ।
तर गतिशील लोकतान्त्रिक पार्टी खुलेको दुई महिनाजति मात्र भएको छ । संगठनबिना पनि चुनाव लड्न सकिन्छ भन्ने पुरानो युवाआवेगमा अब उनलाई भरोसा छैन ।
त्यसैले पवनको प्रतिस्पर्धा ती दलहरूसँग हुँदैछ, जसले नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेका छन् । ती दलहरूसँग पनि हुँदैछ जो नयाँ शक्तिको रूपमा उदाउने छन् । जुन कुरा सहज भने हुने छैन ।
‘पुराना दलहरूलाई आफ्नो संगठन विस्तार गर्न जस्तो कठिनाइ थियो, हामीले त्यही कठिनाइ भने अतिरिक्त भोग्नु परेको छ,’ पवन भन्छन् ।
पवनको राजनीतिक यात्रा चुनाव जित्न प्रयत्न गर्नु सम्ममा मात्र सीमित भने छैन । उनले संगठनात्मक चुनौती पनि सामना गर्नु पर्ने छ । कर्णालीका समस्याहरूलाई राष्ट्रिय समस्याको रूपमा स्थापित गर्न सामान्य परिश्रमले पुग्ने पनि छैन ।
प्रतिक्रिया 4