News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको एम्स अस्पतालले खोकी र श्वास–प्रश्वासको आवाजबाट फोक्सोसम्बन्धी समस्या पत्ता लगाउने श्वासा नामक मोबाइल एप विकास गरेको छ।
पछिल्ला दिनमा मानवीय कार्यमा एआईको सहायता लिने क्रम तीव्र गतिमा बढिरहेको छ । यो प्रविधिले स्वास्थ्योपचारमा पनि नयाँ आयाम थपिरहेको छ । यसैबीच छिमेकी देश भारतका चिकित्सकहरूले एआईको प्रयोगबाट घरमा आफैँले फोक्सो सम्बन्धी समस्या चहिचान गर्न सक्ने प्रविधिको विकास गरेका छन्।
मोबाइल एपको सहयतामा खोकी र श्वास–प्रश्वासको आवाजबाट फोक्सोसम्बन्धी समस्या पत्ता लगाउने यो प्रविधिलाई अस्पतालले समेत स्वीकृति दिएको छ ।
भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालका चिकित्सकले यस्तो मोबाइल एप निर्माण गरेको हुन् । उक्त एपलाई सोही अस्पतालले स्वीकृतिसमेत दिइसकेको छ ।
फोक्सोसम्बन्धी रोगको सुरुवाती अवस्थाको स्क्रिनिङ गर्न यो उपयोग हुने दावी गरिएको छ ।
यस एपलाई ‘श्वासा(Swaasa)’ नाम दिइएको छ । एपको विकास गर्न एम्सका चिकित्सक प्रा.डा. हर्षल रमेश साल्वेलगायतका चिकित्सकहरूको संलग्नता रहेको छ । उनका अनुसार ४६० बिरामीका यो परीक्षण गरिएको थियो । उनीहरूमा यो एपको परीक्षण गरेर हेर्दा यसले दिने नतिजा धेरै हदसम्म सही देखियो ।
यसले श्वास–नलीमा भएको अवरोध तथा फोक्सोको असान्य अवस्थालाई पहिचान गर्न सफल भयो । खोकी तथा श्वास फेर्दाको आजावलाई सूक्ष्म विश्लेषण गरी ५ मिनेट भन्दा कम समयमै नतिजा देखिएको डा.साल्वले बताएका छन् ।
मेसिन लर्निङ प्रविधिको सहयोगमा, यो एपले प्रयोगकर्ताको खोकी, सास वा आवाजमा रहेको ढाँचा पहिचान गरी रोग पत्ता लगाउने बताइएको छ ।
कसरी प्रयोग गर्ने ?
स्मार्ट फोनमा एप डाउनलोड गरेर यसको प्रयोग गर्न सकिन्छ । स्मार्ट फोन चलाउने आम व्यक्तिले आफैँ यसको प्रयो गर्न सक्छन् ।
-प्रयोगकर्ताले एप खोलेर आफ्नो खोकी वा सास फेरेको आवाज रेकर्ड गर्नुपर्छ । यो रेकर्डिङलाई एपको एआई प्रणालीले प्रशोधन गर्छ र एल्गोरिथ्मले ध्वनिका ढाँचाहरूको विश्लेषण गर्छ ।
-केही सेकेन्डमा, एपले सम्भावित फोक्सोको अवस्था र जोखिम स्तरको विवरण सहितको रिपोर्ट देखाउँछ ।
-यदि कुनै असामान्य अवस्था देखिएमा, एपले जाँचका लागि डाक्टरकहाँ जान सिफारिस समेत गर्छ ।
कसका लागि उपयोगी ?
-दमका रोगी र फोक्सोसम्बन्धी दीर्घकालीन स्वास्थ्य समस्या भएका बिरामीका लागि यो उपयोगी हुने दावी गरिएको छ ।
-लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, वृद्धवृद्धा तथा प्रदूषित क्षेत्रमा बस्ने व्यक्तिहरूका लागि यो उपयोगी हुनेछ ।
-फोक्सोसम्बन्धी संक्रमण भएर निको भएका र निरन्तर निगरानी आवश्यक भएका व्यक्तिलाई पनि यसले सहायता गर्नेछ ।
फोक्सोसम्बन्धी स्वास्थ्य समस्या जाँचका लागि स्माइरोमिटरको आवश्यकता पर्दछ । यो धेरै महंगो हुन्छ र चलाउनका लागि विज्ञको आवश्यकता पर्छ । साना स्वास्थ्य संस्थाहरूमा यो राख्न असम्भव हुन्छन् ।
ग्रामीण भेगका सामान्य सेवा सुविधा भएका स्वास्थ्य संस्थामा फोक्सो सम्बन्धी रोगको पहिचान गर्न यो एप उपयोगी हुने डा.साल्वेको दावी छ ।
व्यक्तिले घरमै बसेर आफैँले पनि परीक्षण गरेर हेर्न सकिन्छ । यस कारण यसले फोक्सोसम्बन्धी स्वास्थ्य जोखिम समयमै पत्ता लाग्ने र समयमै उपचार गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।
यो एक स्क्रिनिङ उपकरण मात्रै भएकाले चिकित्सा परीक्षणको विकल्पको रूपमा यसलाई लिन नहुने चिकित्सकहरूले बताएका छन् । निरन्तर कुनै स्वास्थ्य समस्या देखिएको छ भने यसको रिपोर्टकै आधारमा निणर्यमा पुग्नु भन्दा तुरुन्दै चिकित्सककहाँ जान सुझाव दिइएको छ ।
यदि एपले समस्या देखाउँछ वा तपाईंको श्वासप्रश्वास समस्या जारी रहन्छ भने, तपाईंले निश्चित रूपमा विशेषज्ञसँग परामर्श गर्नुपर्छ।
प्रतिक्रिया 4