८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सभा सदस्यका लागि प्रत्यक्षतर्फ तीन हजार ४०६ जना उम्मेदवार छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या जम्मा ६६७ पुगेको छ । अझै २५३९ जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेर त्यसको जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि प्रतिनिधि सभा बैंक खाता खोल्न भनिएको छ ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । निवाचनसँग सम्बन्धित कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने प्रावधान छ ।
ऐन अनुसार निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ जारी भएको छ । यो कार्यविधि निर्वाचन आयोगबाट स्वीकृत भई कार्यान्वयनमा आएपछि दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्न थालेका हुन् ।
स्वीकृत कार्यविधि अनुसार निर्वाचनमा भाग लिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी र खर्च कारोबार सोही खातामार्फत गर्नुपर्ने हुन्छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकमा दुई जना उम्मेदवारले बैंक खाता खोलेका छन् । केहीले ग्लोबल आइएमई बैंकमा खाता खोलेका छन् । बाँकीले प्रभु बैंक, नेपाल बैंकमा खाता खोलेका छन् ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकिएको छ । सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक–फरक खर्च सीमा निर्धारण गरिएको छ ।
आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नम्बर १, ३, ६, ७ र ८ छन् ।
खर्चको सीमाअनुसार देशभरका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउनेछन् । ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख खर्च गर्न पाउँछन् ।
आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउँछन् ।
उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ ।
यो चुनावी खर्चको सीमाको आधार मा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको मतदाता संख्या छ । सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको मतदान केन्द्र अर्को आधार हो । सम्बन्धित निर्वाचन क्षेत्रको क्षेत्रफल (आकार)ले २० प्रतिशत प्रतिनिधित्व गर्छ ।
समानुपातिकतर्फको निर्वाचनको हकमा केही फरक छ । सम्बन्धित दलले कति जना उम्मेदवार समानुपातिक तर्फको बन्दसूचीमा कायम राखेका छन् । त्यस बमोजिम हरेक उम्मेदवार बराबर दुई लाख खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ ।
प्रतिक्रिया 4