News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले सवारीसाधन हायर-पर्चेज कर्जाको ऋण-मूल्य अनुपात ६० प्रतिशतबाट ८० प्रतिशत पुर्याउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई अनुरोध गरेको छ।
- नाइमाले उच्च प्रारम्भिक भुक्तानीले उपभोक्ताको सवारीसाधन खरिदमा बाधा पुर्याएको र यसले आर्थिक गतिविधि तथा राजस्व संकलनमा नकारात्मक प्रभाव पारेको उल्लेख गरेको छ।
- सवारीसाधन बिक्रीले सहायक उद्योग र रोजगारीमा सकारात्मक प्रभाव पार्ने भएकाले नाइमाले यस क्षेत्रमा नीतिगत सहजीकरण आवश्यक रहेको बताएको छ।
८ फागुन, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सबै प्रकारका सवारीसाधनमा सवारीसाधन हायर-पर्चेज कर्जाको ऋण-मूल्य अनुपात ८० प्रतिशत पुर्याउन माग गरेको छ ।
नाइमाले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमक्ष औपचारिक अनुरोध गर्दै अहिलेको ६० प्रतिशतलाई बढाउन आग्रह गरेको हो ।
नाइमाका अनुसार हालको ६० प्रतिशतको सीमा अटोमोबाइल बजारमा देखिएको सुस्तताको प्रमुख कारणमध्ये एक हो । उच्च प्रारम्भिक भुक्तानी आवश्यकताका कारण धेरै उपभोक्ता सवारीसाधन खरिद गर्न असमर्थ भएका छन्, जसले बिक्रीमा कमी ल्याएको मात्र नभई समग्र आर्थिक गतिविधि तथा राजस्व संकलनमा समेत प्रत्यक्ष प्रभाव पारेको नाइमाको भनाइ छ ।
अटोमोबाइल क्षेत्र भन्सार महसुल, अन्त:शुल्क तथा मूल्य अभिवृद्धि करमार्फत सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्याउने क्षेत्रमध्ये एक रहेको नाइमाको दाबी छ ।
सवारीसाधन बिक्री वृद्धि हुँदा राजस्व संकलनमा ठोस तथा सकारात्मक प्रभाव पर्ने नाइमाको विश्वास छ । बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलताको अवस्था ध्यानमा राख्दा सवारीसाधन कर्जामा ऋण-मूल्य अनुपात वृद्धि गर्नु पूँजी परिचालनको व्यावहारिक तथा प्रभावकारी उपाय हुन सक्ने नाइमाको धारणा छ ।
हायर-पर्चेज कर्जा किस्ताबन्दी प्रणालीमा आधारित र धितो सुरक्षा सहित प्रवाह गरिने भएकाले यसलाई तुलनात्मक रूपमा सुरक्षित कर्जा खण्ड मानिन्छ ।
सवारीसाधन बिक्रीले सर्भिस केन्द्र, स्पेयर पार्ट्स, बीमा, वित्तीय सेवा, ढुवानी, प्राविधिक सेवा लगायत सहायक उद्योगलाई सक्रिय बनाउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने भएकाले यस क्षेत्रमा नीतिगत सहजीकरण आवश्यक रहेको नाइमाले जनाएको छ ।
प्रतिक्रिया 4