९ फागुन, काठमाडौं । आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू विभिन्न जिल्लामा पुर्याउन थालेको छ ।
निर्वाचन प्रहरीहरू सडकमा निस्किसकेका छन् । अन्य सुरक्षा तयारी पनि बलियो अवस्थामा रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । यसैबीच प्रधानमन्त्री सुशीला कार्की पछिल्ला केही दिन निर्वाचन तयारी र सुरक्षाबारे बुझ्न विभिन्न जिल्ला र प्रदेशहरूमा पुगिरहेकी छिन् ।
सुरूमा हिमाली जिल्लाहरूको अवस्थाबारे बुझेकी प्रधानमन्त्री कार्की अहिले प्रदेशहरूमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिइरहेकी छिन् ।
उनले साथमा प्रमुख स्वकीय सचिव आर्दशकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन् ।
शनिबार प्रधानमन्त्री काकीसहितको टोली लुम्बिनी प्रदेशमा छ । शुक्रबार भने यो टोली पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्म पुगेको थियो ।
पोखरामा प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका टोलीसँग केहीबेर घनिभूत छलफल गरिन् । छलफलमा सहभागी एक अधिकारीका अनुसार, प्रधानमन्त्री कार्कीले निर्वाचनको बेलामा हुनसक्ने जुनसुकै सुरक्षा जोखिमबारे सचेत रहन आग्रह गरेकी छिन् ।

पोखराको छलफलमा सहभागी ती सरकारी अधिकारीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूले स्पष्टसँग निर्वाचनको तयारीमा जुट्न भन्नुभएको छ ।’
सुरक्षा निकायका अधिकारीहरूले पनि त्यहाँका मतदाता, उम्मेदवार, मौसमको अवस्था र हिमाली–पहाडी जिल्लाको सुरक्षाबारे बताएका थिए ।
गण्डकीमा १८ लाख मतदाता, ३१४ उम्मेदवार छन् । ब्रिफिङ सुनेका एक अधिकारीका अनुसार, हिमाली जिल्लामा हिउँ पर्यो भने ४५ वटा मतदानस्थल प्रभावित हुनसक्ने सुरक्षा निकायले ब्रिफिङ गरेको थियो ।
गण्डकीमा कूल १२९९ मतदानस्थल छन् । जसमध्ये ४५ वटामा मात्रै हिउँ परेको अवस्थामा असहज हुनसक्ने उनीहरूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरे ।

अहिलेकै अवस्थामा भने ती क्षेत्रमा पनि कुनै समस्या नरहेको उनीहरूले सुनाएका थिए ।
उच्च हिमाली क्षेत्रमा हुनसक्ने जोखिमका लागि यसपटक निर्वाचन सामग्री पनि थप गरिएको छ । हाइ अल्टिच्युडमा खाने औषधि र पोर्टेबल औषधि पनि थप गरिएको छ ।
प्रधानमन्त्री कार्कीले केही व्यक्तिहरू अझै पनि निर्वाचन भाँड्न सकिन्छ कि भनेर लागिरहेको र त्यसमा सबै सुरक्षा निकायहरू चनाखो हुनुपर्ने बताएकी थिइन् ।
‘विभिन्न समूहरू चुनाव बिथोल्न सकिन्छ कि भनेर लागिरहेका छन् । चुनाव बहिष्कार भन्ने पनि एउटा पेशाजस्तै बनेको छ,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी ती अधिकारीले भने, ‘बहिष्कार भनेपछि केही गर्नु परेन । जनताको मत जित्न परेन । तर्सायो, खायो । यो अवस्था अन्त्य गर्नुपर्छ ।’
प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल उत्साहपूर्वक चुनावमा लागेको कुराले आफूलाई खुसी मिलेको पनि सम्बोधनको क्रममा भनिन् ।

उनले पछिल्ला समय राजावादी समूहहरूले गरिरहेका प्रयासतर्फ सजग हुन पनि सुरक्षा निकायलाई आग्रह गरेकी छिन् ।
विशेषगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले दिएका पछिल्ला अभिव्यक्ति र क्रियाकलापप्रति नजर राख्न सुरक्षा निकायलाई आग्रह गरेकी छिन् ।
‘केही व्यक्ति र संस्थालाई मूलधारमा ल्याउन धेरै प्रयास गरेँ । तर, धर्मको नाममा अनेकथरी अराजक गतिविधि झनै बढाउँदै गएपछि अवस्था सामान्य गर्नैपर्ने बाध्यतामा सरकार छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।
शुक्रबार गण्डकीमा छलफल गरेर त्यतैबाट लुम्बिनी पुगेकी प्रधानमन्त्री कार्कीले शनिबार बुटवलमा पनि छलफल गरेकी छिन् ।

प्रतिक्रिया 4