+
+
Shares

अन्ततः राजनीतिक कथाले जित्यो, ‘येलो लेटर्स’ बन्यो बर्लिनको शीर्ष विजेता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मन-टर्किश निर्देशक इल्कर चाताकको फिल्म ‘येलो लेटर्स’ले बर्लिन फिल्म फेस्टिभलमा गोल्डेन बेयर अवार्ड जित्यो।
  • फिल्मले टर्कीको सत्तावादी राजनीतिक भाषाको विरुद्धमा सिनेमाको सहानुभूतिपूर्ण भाषा व्यक्त गरेको जुरी अध्यक्ष विम वेन्डर्सले बताए।
  • फेस्टिभलमा ‘सल्भेसन’ र ‘क्विन एट सी’ लगायत राजनीतिक विषयवस्तु भएका अन्य फिल्महरूले पनि पुरस्कार जिते।

अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो ।

कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते ।

समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, जो आफ्नै शैलीको विरोधात्मक थिएटरका कारण राज्यको निशानामा पर्छन् ।

यो प्रभावशाली फिल्मले निर्माणमा केही रोचक प्रयोग पनि गरेको छ । कथा पूर्ण रूपमा टर्कीमै आधारित भए पनि फिल्मको सम्पूर्ण छायांकन निर्देशक चाताकको जन्मभूमि जर्मनीमै गरिएको छ, र त्यहाँका प्रमुख शहरलाई टर्कीका शहरको रूपमा प्रस्तुत गरिएको छ ।

अवार्ड प्रदान गर्नु अघि जुरी अध्यक्ष विम वेन्डर्सले फिल्मले ‘सत्तावादी राजनीतिक भाषाको विरुद्धमा सिनेमाको सहानुभूतिपूर्ण भाषा अत्यन्त स्पष्ट रूपमा व्यक्त गरेको’ भन्दै प्रशंसा गरे । उनले यसलाई ‘भविष्यतर्फको एक डर लाग्दो दृष्टि’ समेत बताए ।

फेस्टिभलको सुरुवातमै वेन्डर्सले सिनेमा र राजनीतिबीचको सम्बन्धबारे दिएको अभिव्यक्तिले आलोचना खेपेको सन्दर्भमा उनका यी शब्दहरू निकै अर्थपूर्ण थिए । इजरायल-प्यालेस्टाइन युद्धमा जर्मन सरकारको समर्थन र फेस्टिभलको कथित निकटताबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो धारणा राखेका थिए ।

उनले भनेका थिए, ‘हामी राजनीतिबाट टाढा रहनुपर्छ, किनकि यदि हामीले पूर्ण रूपमा राजनीतिक उद्देश्यका लागि फिल्म बनायौं भने हामी सीधै राजनीतिमै प्रवेश गर्छौं । तर हामी राजनीतिको विपक्षमा उभिन्छौं । हामी यसको विपरीत पक्ष हौं । हामीले राजनीतिज्ञको काम होइन, मानिसहरूको काम गर्नुपर्छ ।’

प्रतिस्पर्धा विधाका पुरस्कार वितरण हुनुअघि वेन्डर्सले यस विवादबारे सावधानीपूर्वक तयार गरिएको र पहिलेभन्दा बढी सन्तुलित धारणा सार्वजनिक गरे । आफूले पर्याप्त सक्रियतावादी अडान नलिएको भन्दै आलोचना गर्नेतर्फ संकेत गर्दै उनले भने :

‘सिनेमाको भाषा सहानुभूतिपूर्ण हुन्छ, सामाजिक सिनेमाको भाषा प्रभावकारी हुन्छ । मानव जीवनको गरिमा र यसको सुरक्षा– यी पनि हाम्रा मुद्दा हुन् । तपाईंहरूले आवश्यक र साहसी काम गरिरहनुभएको छ, तर के त्यो हाम्रो कामसँग प्रतिस्पर्धामै हुनुपर्छ ? के हाम्रा आवाज एकआपसमा ठोक्किनै पर्ने हो ?’

यो पुरस्कारले ४२ वर्षे चाताकलाई विश्व सिनेमाको अग्रपंक्तिमा स्थापित गरेको छ । उनको अघिल्लो फिल्म ‘द टिचर्स’ लाउन्ज’ ले सन् २०२३ को बर्लिनालेको प्यानोरामा खण्डबाट चर्चामा आएर उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधामा अस्कर मनोनयनसमेत पाएको थियो ।

सन् २००४ मा ‘हेड-अन’ का लागि जर्मन-टर्किश निर्देशक फातिह अकिनले जितेपछि २२ वर्षपछि बर्लिनमा शीर्ष पुरस्कार जित्ने उनी पहिलो स्थानीय मूलका निर्देशक बनेका छन् ।

‘मैले एउटा भाषण तयार पारेको थिएँ, त्यो राजनीतिक पनि थियो,’ चाताकले भने, ‘तर अहिले त्यो भाषणमा नजाने अनुमति दिनुहोस्, किनकि धेरैले धेरै बुद्धिमानी कुरा भनिसक्नुभएको छ । म यो मञ्च आफूले यो फिल्म बनाउँदा साथ दिने अद्भुत टोलीलाई छोड्न चाहन्छु, किनकि यो पुरस्कारका साँचो नायक उनीहरू नै हुन् । उनीहरूबिना म यो फिल्म बनाउन सक्दिनथेँ । मलाई लाग्छ, यसको राजनीतिक सन्देश, वा भनौं प्रश्नहरू- फिल्मले आफैं बोल्छ ।’

‘येलो लेटर्स’बारे आफ्नो समीक्षामा भेराइटीका समीक्षक सिद्धान्त अदलखाले लेखेका छन्, ‘यो फिल्म आफैं राजनीतिक निर्वासनमा रहेको जस्तो अनुभूति हुन्छ ।’ उनले यसलाई ‘अप्रत्याशित रूपमा सार्वभौमिक प्रभाव भएको नाटक’ भन्दै प्रशंसा गरेका छन्, जहाँ सुसम्पन्न दम्पती टर्कीको शासनविरुद्ध राजनीतिक रूपमा ‘गलत सोच’ राखेको आरोपमा अन्यायपूर्ण बर्खास्ती र उत्पीडनको निशानामा पर्छन् ।

निसन्देह, संयोगवश वा फेस्टिभलमा देखिएको विवादको प्रभावका कारण, निर्णायक मण्डलले सामूहिक रूपमा ‘स्पष्ट रूपमा राजनीतिक’ भन्न सकिने कृतितर्फ झुकाव देखायो । दोस्रो ठूलो सम्मान ग्रान्ड जुरी प्राइज पनि टर्कीमै आधारित अर्को तीखो फिल्म, एमिन अल्पेरको ‘सल्भेसन’ ले जित्यो ।

भेराइटीकी क्याथरिन ब्रेले आफ्नो समीक्षामा यसलाई ‘जमिन विवादपछि लामो समयसम्म देखिने प्रभावबारे बनेजस्तो देखिए पनि मूलतः हिंसा कसरी जन्मिन्छ भन्नेबारेको फिल्म’ भनेर वर्णन गरेकी छन् ।

यो फिल्म सन् २००९ मा टर्कीको कुर्द क्षेत्रका वास्तविक घटनाबाट प्रेरित भए पनि ‘सल्भेसन’ ले ग्रामीण क्षेत्रमा भएको क्रूर नरसंहारलाई व्यापक द्वन्द्वको रूपकका रूपमा प्रस्तुत गर्छ । निर्देशक एमिन अल्पेरले आफ्नो निर्देशक वक्तव्यमा यसलाई स्पष्ट गर्दै भनेका छन्, ‘मलाई लाग्छ यो कथाको विश्वव्यापी सान्दर्भिकता छ । हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ जातीय वैमनस्य, जमिनमाथिको ‘बाँच्नका लागि’ दाबी र ‘शत्रु’ बाट निरन्तर खतरा भएको अनुभूतिले अन्ततः प्यालेस्टाइनमा नरसंहारसम्मको अवस्था सिर्जना गर्‍यो ।’

अल्पेरले आफ्नो वक्तव्यलाई थप जोड दिँदै ‘गाजामा अत्यन्त कठिन अवस्थामा बाँचिरहेका र मर्न बाध्य भइरहेका प्यालेस्टिनीहरू’ र ‘कठोर दमन झेलिरहेका इरानका जनता’ लाई समर्पित जोशिलो भाषण गरे । उनले दिनप्रतिदिन अधिकार गुमाउँदै गइरहेका र आफूलाई मानव नै नठान्ने शक्तिबाट आक्रमण झेलिरहेका अन्य समूहहरूको पनि उल्लेख गर्दै अन्त्यमा भने, ‘तपाईंहरू एक्ला हुनुहुन्न ।’ उनको यो भनाइमा दर्शकदीर्घाबाट ठूलो ताली बज्यो ।

मुख्य प्रतिस्पर्धा अन्तर्गतका अन्य निर्णायक पुरस्कार कम उत्तेजक देखिए पनि उत्तिकै धारिलो विषयवस्तु भएका कृतिहरूले जिते । तेस्रो स्थानको जुरी प्राइज अमेरिकी निर्देशक लान्स ह्यामरले आफ्नो दोस्रो फिचर फिल्म ‘क्विन एट सी’ का लागि पाए । सन् २००८ को डेब्यू फिल्म ‘ब्यालास्ट’ पछि उनी फेरि बर्लिनको प्रतिस्पर्धामा फर्किएका हुन् ।

लन्डनमा बसोबास गर्ने वृद्ध दम्पती डिमेन्सियाको असरसँग जुधिरहेको संवेदनशील पारिवारिक कथामा आधारित यस फिल्मले सहायक भूमिकामा उत्कृष्ट अभिनयका लागि लैंगिकरुपमा तटस्थ अवार्ड पनि जित्यो, जुन अनुभवी कलाकार टम कोर्टने (जसले २०१५ मा ‘४५ इयर्स’ का लागि बर्लिनाले उत्कृष्ट अभिनेता जितेका थिए) र एना काल्डर–मार्शललाई प्रदान गरियो ।

जर्मन अभिनेत्री सान्द्रा हुलरले, जसले दुई वर्षअघि ‘एनाटोमी अफ अ फल’ का लागि अस्कर मनोनयन पाएकी थिइन्, अस्ट्रियन निर्देशक मार्कुस श्लाइनजरको ऐतिहासिक त्रासदी ‘रोज’ मा १७औँ शताब्दीकी पुरुषको रूपमा जीवन बिताइरहेकी महिलाको असाधारण अभिनयका लागि लैंगिकरुपमा तटस्थ देखिने उत्कृष्ट मुख्य अभिनय पुरस्कार जितिन् ।

भेराइटीले आफ्नो प्रशंसात्मक समीक्षामा उनको अभिनयलाई फिल्मको ‘मानवीय केन्द्र’ भन्दै वर्णन गरेको छ- ‘एकैसाथ कठोर आवरणमा सुरक्षित, सतर्क र गहिरो रूपमा संवेदनशील ।’

यो हुलरको बर्लिनालेमा दोस्रो जित हो । ठीक २० वर्षअघि उनले आफ्नो डेब्यू फिल्म ‘रेक्वियम’ का लागि उत्कृष्ट अभिनेत्री अवार्ड जितेकी थिइन् । भाषणका क्रममा उनले सम्झिँदै भनिन्, “यो मेरो जीवनकै पहिलो फिल्म फेस्टिभल थियो, के हो भन्ने पनि थाहा थिएन, म त मरिहाल्छु जस्तो लागेको थियो,’ जसमा हलभरि हाँसो गुञ्जियो ।

संगीत भिडियो र डकुमेन्ट्रीका लागि परिचित बेलायती निर्देशक ग्रान्ट जीले आफ्नो पहिलो कथानक फिल्म ‘एभ्रिबडी डिग्स बिल इभान्स’ का लागि उत्कृष्ट निर्देशक पुरस्कार जिते । दिवंगत अमेरिकी ज्याज पियानोवादकको जीवनमा आधारित यो सुक्ष्म र सौम्य बायोपिकमा नर्वेजियन अभिनेता एन्डर्स ड्यानियलसेन ली मुख्य भूमिकामा छन् ।

फेस्टिभलको डेब्यू फिचरलाई समर्पित सहायक प्रतिस्पर्धा ‘पस्र्पेक्टिभ्स’ मा पनि राजनीति पुनः केन्द्रमा आयो । यहाँ प्यालेस्टिनी-सिरियाली निर्देशक अब्दल्लाह अलखातिबले ‘क्रोनिकल्स फ्राम द सिज’ का लागि शीर्ष पुरस्कार जिते । युद्धग्रस्त क्षेत्रको दैनिकीलाई शक्तिशाली छोटा कथांशमार्फत देखाउने यो फिल्म कुनै देशको नाम नलिए पनि स्पष्ट रूपमा प्यालेस्टाइनलाई संकेत गर्छ । (यद्यपि यसको छायांकन भने अल्जेरियामा गरिएको हो ।)

यसै विधामा फ्रान्सेली निर्देशक मानोन कुबियाको ‘फरेस्ट हाई’ ले विशेष उल्लेख (अनरेबल मेन्सन) पायो । दुर्गम अल्पाइन क्षेत्रमा रहेको हाइकर्स लज चलाइरहेका महिलाहरूको शान्त तर आकर्षक त्रिपक्षीय चित्रण प्रस्तुत गर्ने यो फिल्मले पनि जुरीको ध्यान खिच्यो ।

समारोहको सुरुवातमै फेस्टिभल निर्देशक ट्रिसिया टटलले आफ्नो उद्घाटन मन्तव्यमा यो वर्ष कडा अभिव्यक्ति आउने अनुमान गरिएको संकेत दिएकी थिइन् । उनले भनिन्, ‘यस वर्ष हामीलाई सार्वजनिक रूपमा चुनौती दिइयो, त्यो सधैं सहज महसुस हुँदैन, तर राम्रो कुरा हो । आलोचना र आवाज उठाउनु लोकतन्त्रको हिस्सा हो, असहमति पनि त्यत्तिकै आवश्यक हुन्छ ।’

उनले थपिन्, ‘यदि यो बर्लिनाले भावनात्मक रूपमा तीव्र देखिएको छ भने त्यो बर्लिनालेको असफलता होइन, सिनेमाको पनि असफलता होइन । यही बर्लिनालेले आफ्नो काम गरिरहेको प्रमाण हो, र यही सिनेमा पनि आफ्नो काम गरिरहेको प्रमाण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?