१० फागुन, काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्सको अग्रणी संस्था ओपन एआईले आफ्नो आईपीओ निष्कासनको तयारी तीव्र पारेको छ ।
यसले कम्पनीको मूल्य १ ट्रिलियन डलर पुर्याउन सक्ने विश्लेषण गरिएको छ । रोयटर्स र सीएनबीसीका अनुसार, कम्पनीले सन् २०३० सम्म कम्प्युटिङ शक्तिमा मात्र ६०० अर्ब डलर खर्च गर्ने लक्ष्य राखेको छ।
सन् २०२५ मा ओपन एआईको आम्दानी १३.१ अर्ब डलर पुगेको छ, जुन यसको १० अर्ब डलरको प्रारम्भिक लक्ष्यभन्दा बढी हो। कम्पनीले यस वर्ष ८ अर्ब डलर खर्च गरेको छ।
विश्वकै प्रतिष्ठित चिप निर्माता न्युभिडियाले ओपन एआईमा ३० अर्ब डलर लगानी गर्ने अन्तिम तयारी गरिरहेको छ। यस लगानीपछि कम्पनीको कुल मूल्य करिब ८३० अर्ब डलर पुग्नेछ।
कम्पनीले सन् २०३० सम्म आफ्नो कुल आम्दानी २८० अर्ब डलर पुर्याउने लक्ष्य राखेको छ। यो आम्दानी मुख्यतया ‘च्याटजीपीटी’ का प्रयोगकर्ता र व्यावसायिक संस्थाहरूबाट हुने अपेक्षा गरिएको छ।
आम्दानी बढे पनि एआई मोडलहरू चलाउन लाग्ने खर्च सन् २०२५ मा चार गुणाले बढेको छ। यसले गर्दा कम्पनीको नाफाको मार्जिन ४० प्रतिशतबाट घटेर ३३ प्रतिशतमा झरेको छ।
ओपन एआईका प्रमुख साम अल्टम्यानले एआई पूर्वाधार विकासका लागि ३० गिगावाट बिजुली खपत हुने गरी कम्प्युटिङ स्रोतहरू निर्माण गर्ने योजना बनाएका छन्, जुन २५ करोड अमेरिकी घरहरूलाई उज्यालो पार्न पर्याप्त हुनेछ।
प्रतिक्रिया 4