धनुषा–३ मा त्रिपक्षीय प्रतिस्पर्धा छ । एमालेका निवर्तमान सांसद जुलीकुमारी महतोसँगै कांग्रेसका समानुपातिक सांसद विमलेन्द्र निधि र रास्वपाका समानूपातिक सांसद मनिष झा प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचनको एजेन्डा, प्रत्यक्षतर्फ महिलाहरूको घटदो उम्मेदवारी र पार्टीको समग्री अवस्थाले पार्ने असरका बारेमा धनुषा–३ का एमाले उम्मेदवार जुलीकुमारी महतोसँग अनलाइनखबरका कृष्ण ज्ञवालीले जनकपुरमा गरेको कुराकानी :
धनुषा–३ मा अरू दलहरूबाट पनि हेविवेट उम्मेदवारहरू छन् । तपाईंको एजेन्डा के हो ?
मेरो उम्मेदवारी यो क्षेत्रमा नयाँ होइन । लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष निर्वाचन प्रणालीमा मेरो सुरुवात नै यो क्षेत्रबाट भएको छ । म यो क्षेत्रको जनतासँग सुख र दु:खमा सधैं साथमा छु । यो क्षेत्रका क्षेत्रवासीसँग मेरो लगाव छ ।
मलाई सुख र दु:खमा मतदाताहरूले साथ दिनुभएको छ र मैले पनि जनताको सुखदुःखमा साथ दिएको छु । म आइसकेपछि महिला सशक्तिकरण, युवा, किसानका लगावका विषयहरू जोडिन्छन् ।
उहाँहरूले सुशासनका कुरा गर्नुहुन्छ, समृद्धिको कुरा गर्नुहुन्छ, दिदीबहिनीको रुपमा यो क्षेत्रबासीले मलाई लिनुभएको छ । त्यो रूपमा मेरो उम्मेदवारी छ ।

नेपालको मानव विकासका कतिपय सूचकहरूमा निकै कमजोर अवस्थामा भएका निर्वाचन क्षेत्रहरूमा धनुषा ३ पनि पर्दो रहेछ । यी मुद्दाहरू हिजो किन सम्बोधन भएनन् ?
म आएपछि धेरै कुरा सम्बोधन भयो । २०७० सालमा म यो निर्वाचन क्षेत्रमा आएँ । मैले सुनिरहेको थिएँ, कर्णाली जिल्ला पछाडी परेको छ । यहाँ आइसकेपछि लाग्यो कर्णाली होइन, त्यो भन्दा पछि परेको धनुषा–३ हो ।
मैले शिक्षामा, स्वास्थ्यमा र महिलाको आर्थिक समृद्धि र सशक्तिकरणको मुद्दा उठाउने निधो गरे । महिलाको राजनीतिक उपस्थितिदेखि सामाजिक र आर्थिक क्षेत्रलाई धेरैतिर जोड्ने काम गरे । हिजोको दिनभन्दा आज फरक छ ।
आज महिला दिदीबहिनी धेरै सक्षम हुनुभएको छ । म आएपछि उहाँहरूलाई मेरो कोही छ भन्ने विश्वास जागेको छ । बालविवाह र शिक्षाको पहुँचमा कहिँ न कहिँ राज्यले जति व्यवस्थित गर्नुपथ्र्यो, त्यसमा कमी छ ।
स्कुलहरूमा पूर्वाधारदेखि प्रविधिको पहुँच विस्तार हुन सकेको छैन । मेरो अढाई वर्षको कार्यकालमा लगभग धेरै स्कुलमा पूर्वाधारदेखि प्रविधिसम्म बजेटको व्यवस्थापन गरेँ । तर त्यतिले मात्रै पुग्दैन । बाल विवाह, घरेलु हिंसा, दहेज प्रथा विस्तारै अन्त्य हुँदैछ ।
यस्ता विषयमा कडाइ गर्न मैले सदनदेखि प्रशासनसम्म आवाज उठाउँदै आएको छु । यो विषयलाई मैले अभियानको रुपमा लिएको छु । बालविवाह र दाइजो प्रथा अन्त गरेरै छोड्छु ।
यी कुरा त अरू प्रतिस्पर्धीले पनि उठाएका छन् । तपाईं उनीहरूभन्दा कसरी फरक हो ?
नयाँ त कोही पनि होइन । मसँग जति प्रतिस्पर्धीहरू हुनुहुन्छ उहाँहरू सांसदको रुपमा काम गरिसक्नु भएको छ । उहाँहरूले यो क्षेत्रबासीका लागि के गर्नु भएको छ भनेर केलाउन सकिन्छ । जनताले हेरेर हिसाबकिताब गरिरहेका छन् ।
उहाँहरू सांसद भएरै सदनमा पुग्नुभएको थियो । म प्रत्यक्ष जनताको भोट लिएर पुगे, कोही समानुपातिक भएर पुग्नुभयो । त्यहाँ पुगिसकेपछि त बराबरी अधिकार हो । तर सदनमा उहाँहरूले किसानका मुद्दा, युवाका मुद्दा, महिलाका मुद्दा, बेरोजगार समस्याहरूका मुद्दा कति उठाउनुभयो ?
मुखले मात्रै ‘म नयाँ हुँ, परिवर्तन गर्छु’ भनेर हुँदैन, जनतालाई प्रष्ट पार्नुपर्छ । मेरा प्रतिस्पर्धीहरू कोही पनि नयाँ होइन, उहाँहरू सांसद बनिसक्नुभएको छ । यस भेगका जनतालाई उहाँहरूले के-के गर्नुभयो, त्यो भन्नुपर्छ । मैले जनताको सेवा गर्दै आएको वर्षौं भइसक्यो ।
यहाँ जनता र नेता फरक देखिन्थ्यो । अहिले देख्छ कि जनताको सेवक भएकै मान्छे नेता हुनेछन् । राजनीति पेशा होइन भन्ने कुरा मैले अरु नेताहरूलाई पनि सिकाए । नेता र जनता भनेको नङमासु हो, हामीले उहाँहरूको दुःख सुख सुन्नुपर्छ भन्ने संस्कार बसाए ।
अहिले परिवर्तनको नाउमा उहाँहरूले जनतालाई भ्रम छर्नुभएको छ जस्तो लाग्छ ।
यस क्षेत्रवासीले बुझ्नु हुनेछ कि, चुनाव २१ गतेसम्म मात्रै होइन । बाँचुन्जेल यस क्षेत्रका जनतासँग प्रतिबद्धता जसले गरेको छ, जसले आफ्नो विगतमा पनि काम गरेर देखाएको छ, त्यसले जनताको विश्वास पाउनेछ ।
अहिले परिवर्तनको नाउमा व्यक्ति परिवर्तन हो कि विचार परिवर्तन ? उद्देश्य के हो, नीति के हो ? त्यो स्पष्ट पार्नुपर्छ ।
प्रत्यक्षतर्फ अघिल्ला वर्षहरूको तुलनामा महिला उम्मेदवारहरूको अनुपात निकै घटेको छ । अन्य दलहरूका साथै एमालेमा पनि त्यो अवस्था छ । किन होला ?
मैले २०७० सालदेखि प्रतिस्पर्धा गरिसकेको छु । मेरो पार्टीभित्र उम्मेदवारीमा भेद्भाव भएको छैन । जसले आफ्नो कार्यक्षेत्रमा काम गरेको छ, उनीहरूमाथि महिला र पुरुष विभेद छैन । हामीले त पार्टीभित्र प्रत्यक्षमा आधा महिलाहरूलाई उम्मेदवार बनाउनुपर्छ भनिरहेका छौं ।
अहिलेको संविधानमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था छ । हामी त प्रत्यक्षमा आधा हुनुपर्छ भनेका छौं । एमालेले काम देखाउने नेता कार्यकर्तालाई उम्मेदवारी दिन कञ्जुस्याई गरेको छैन । मेरो क्षेत्रमा त कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएको छैन ।
दलहरूले महिलालाई अघि बढाउन खोजेका छन् भने टिकट दिएर मात्रै हुँदैन, मत दिएर जिताउनुपर्छ । पौराणिक सीताको नगरीमा यहाँ एकजना महिलाको मात्रै उम्मेदवारी परेकाले निर्वाचित गराउने दायित्व पनि मतदाताहरूकै हो ।

नेतृत्वको अभिव्यक्तिले उम्मेदवारहरूको प्रचारप्रसारमा असर पर्ने रहेछ, हैन ?
प्रतिस्पर्धामा होमिएपछि अर्को उम्मेदवारको केही न केही खोट निकाल्नुपर्ने रहेछ । म यहाँ प्रतिस्पर्धामा छु, मैले नराम्रो बोल्ने, नकारात्मक टिप्पणी गर्ने काम गरेको छैन । म यदि गलत छु भने मसँग प्रतिस्पर्धा गर्नेहरूले मेरो खोट निकाल्नुपर्छ ।
चुनावी मैदानमा अन्यत्रका कुरा ल्याएर यहाँका उम्मेदवारलाई गाह्रो पार्न खोज्नु ठिक होइन । मेरा प्रतिस्पर्धीहरूलाई मप्रति खोट लगाउने ठाउँ छैन, त्यसपछि उहाँहरूले अन्यत्रका कुरा यहाँ जोडेर व्याख्या गर्नुहुन्छ ।
नेताहरूले अलिकति सचेत भएर बोल्नुपर्दो रहेछ । सायद कहिलेकाही सरस्वती पनि बिग्रिँदो रहेछ । एक-दुई जना नेताको सरस्वती बिग्रिएकै हो । मैले आलोचना गरिसकेको छु । मेरो क्षेत्र धनुषा–३ का बासिन्दासँग उहाँहरूको तर्फबाट र व्यक्तिगततर्फबाट क्षमायाचना पनि गरेको छु ।
यहाँका जनतालाई केही नेताहरूको भनाइले मन दुःखेको छ भने म यसमा दुःखी छु । म क्षमा चाहन्छु र यहाँहरूको भावनालाई ठेस पुग्न दिन्न । म जहाँ छु जुन पार्टीमा छु त्यो पार्टीभित्र माथि उठेर पनि उहाँहरूसँग गर्नुपर्ने संघर्ष गर्छु ।
यहाँहरूले साथ दिनुभयो भने त्यो पार्टी भित्र नकारात्मक बोल्नेहरूसँग पनि म संघर्ष गर्न तयार छु । पार्टीभन्दा माथि उठेर भएपनि यहाँहरूको भावनामा चोट पुग्न दिन्न । अहिले चुनावमा आएर मैले गरेको राम्रो कामहरूलाई नराम्रो बनाउन खोज्ने प्रवृतिले पनि यो कुरा उचालिएको छ, त्यसलाई यहाँहरूले पहिचान गर्नुस् भनेको छु ।
परिवर्तन वा जे भनिए पनि यहाँ नयाँ उम्मेदवार कोही पनि हुनुहुन्न । उहाँहरू संसद्मा गएर काम गरिसक्नुभएको छ । त्यसले नकारात्मक बोल्नेहरूलाई मैले खबरदारी गरिसकेको छु । धनुषाबासीहरूले बुझिसक्नुभएको छ, कि यो चुनावी फन्डा हो ।
प्रतिक्रिया 4