News Summary
Generated by OK AI. Editorially reviewed.- स्टार क्रिकेट प्रतियोगिताको दोस्रो सिजन फागुन ३० गते काठमाडौंको मुलपानी मैदानमा आयोजना हुने आयोजकले जानकारी दिएका छन्।
- प्रतियोगितामा ८ महिला र ८ पुरुष क्रिकेटर सहित नेपाली सेलिब्रेटी, इन्फ्लुएन्सर, मिडियाकर्मी र राष्ट्रिय खेलाडी सहभागी हुनेछन्।
- प्रतियोगिताले महिला डिजिटल सशक्तिकरण अभियानलाई समर्थन गर्ने र आगामी वर्ष फ्रेन्चाइज फर्म्याटमा विस्तार गर्ने योजना रहेको आयोजकले बताए।
११ फागुन, काठमाडौं । सेलेब्रेटीहरुसहितको सहभागितामा हुने स्टार क्रिकेट प्रतियोगिताको दोस्रो सिजन यही फागुन ३० गते (मार्च १४) मा आयोजना हुने आएको हो ।
आयोजक आइडिया पिक्सेलको सहायक कम्पनी आइडिया स्पोर्ट्सले सोमबार काठमाडौंको होटल अलफ्टमा पत्रकार सम्मेलन गर्दै स्टार क्रिकेट सिजन–२ को मिति घोषणा गरेको हो ।
यस पटक महिला डिजिटल सशक्तिकरणको अभियानको लागि यस संस्करणको प्रतियोगिता हुने आयोजक संस्थाका संस्थापक पवन राज जोशीले जानकारी दिए । एक दिने क्रिकेट प्रतियोगिता काठमाडौंको मुलपानी मैदान (तल्लो) मा आयोजना हुनेछ ।
टी–१० फर्म्याटमा आयोजना हुने प्रतियोगितामा विभिन्न नामका ८ टोलीको सहभागिता रहने पवन जोशीले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइनेछ । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।
प्रतियोगितामा ८ महिला र ८ पुरुष क्रिकेटरहरुलाई पनि समावेश गर्ने तयारी रहेको आयोजकले जनाएको छ । हरेक टिममा नेपाली सेलिब्रेटी, इन्प्लुएन्सर, क्रिएटर्स, मिडियाकर्मी र राष्ट्रिय खेलाडी तथा क्रिकेटरहरु समावेश हुने छन् ।
स्टार क्रिकेट सिजन–२ कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत रहेको आयोजकले जनाएको छ ।
आयोजक समितिका संस्थापक पवन राज जोशीले पहिलो संस्करण भव्य सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएको बताए । ‘पहिलो संस्करण भव्यरुपमा सफल भएपछि दोस्रो संस्करण गर्न तयार भएका हौं,’ उनले भने, ‘दोस्रो संस्करणले क्रिकेटको माध्यमबाट चलचित्र क्षेत्रका कलाकार, खेलाडी, मिडिया व्यक्तित्व, कर्पोरेट प्रोफेशनलहरू तथा डिजिटल क्रिएटरहरू सबै एकै मैदानमा उत्रिएर क्रिकेट खेललाई अगाडी बढाउन प्रोत्साहन हुने तथा पर्यटन प्रवर्द्धन समेत टेवा पुग्ने विश्वास गरेका छौं । हामी क्रिकेटलाई मनोरञ्जन, व्यवसाय र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गर्दछौं ।’
जोशीले सन् २०२१ मा यो संस्था स्थापना गरेर क्रिकेटमा केही योगदान दिने लक्ष्यसहित यसअघि चितवनमा पहिलो संस्करणको स्टार क्रिकेट आयोजना गरेको जानकारी दिए ।
आर्थिक देखि प्राविधिक कारणले गर्दा बीचमा केही ग्याप भएपनि अब यस प्रतियोगितालाई निरन्तर दिने लक्ष्यसहित अगाडि बढेको उनले जानकारी दिए ।
यो प्रतियोगिता प्रतिस्पर्धा भन्दा पनि फरक क्षेत्रका सेलेब्रेटीहरुलाई एकै स्थानमा जम्मा गरेर क्रिकेट खेल्ने र फन इभेन्टको रुपमा गरिने जोशीले बताए । जोशीले अर्को वर्षदेखि यसलाई व्यावसायिक रुपमै आयोजना गर्ने लक्ष्य रहेको पनि बताए ।
‘अर्को संस्करणबाट यसलाई फ्रेन्चाइज फर्म्याटमा लैजाने योजना छ र त्यसलाई निरन्तरता दिने लक्ष्य छ ।’ उनले भने, ‘यसलाई सेलेब्रेटीहरुको क्रिकेट लिग बनाउने योजना हो । भारतमा सेलेब्रेटीहरुको छुट्टै लिग हुन्छ । त्यो कन्सेप्टबाट नै हामीले यसको सुरुवात गरेका हौँ ।’
पत्रकार सम्मेलनमा आइडिया स्पोर्ट्सका संयोजक जोशी र शृष्टि फाउन्डेसनकी अध्यक्ष शृष्टि मदन कार्की, नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ पनि सहभागी थिए ।
फुटबलर अनिल गुरुङले पहिलो सिजनको अनुभव राम्रो रहेको र फरक क्षेत्रका धेरै व्यक्तित्वहरुसँग भेटघाट र चिनजान हुने अवसर मिलेको बताए । ‘पहिलो सिजनमा म सहभागि भएको टिमले उपाधि जितेको थियो र म नै बेस्ट प्लेअर पनि घोषित भएको थिएँ ।’ अनिलले भने । ‘दोस्रो संस्करणका लागि पनि म निकै उत्सहित छु ।’
यस्तै कार्कीले यो प्रतियोगिता महिला शसक्तिकरणका लागि र नेटवर्किङ बढाउनका लागि सहयोगी हुने बताइन् ।
प्रतियोगिताको लागि आयोजकले श्रृष्टि फाउन्डेसनसँग पनि सहकार्य गरेको छ । प्रतियोगिताबाट ग्रामीण नेपालका महिलाहरु सूचना प्रविधिमा शिक्षित, सशक्तिकरण र प्रोत्साहित हुने आशा गरिएको छ ।


प्रतिक्रिया 4