+
+
Shares

मनाङमा चुनावी तयारी : हिउँ पन्छाएर बाटो खुलाइँदै, मतदातालाई गाउँ जान आह्वान

‘हामीलाई अप्ठ्यारो भयो भने मौसम नै हो । प्राकृतिक समस्याबाहेक मानव सिर्जित समस्या छैन,’  सीडीओ पौड्यालले भने, ‘तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा  छौँ । अन्य कारणले चुनाव रोकिने छैन ।”

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते २१:००

११ फागुन, मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी छ । हालसम्म सडक सञ्जालको पहुँच नपुगेको मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटो बाक्लो हिउँ जमेर बन्द भएको थियो ।

हाल उक्त हिउँ पन्छाएर बाटो खुलाइएको छ । आसन्न निर्वाचनको तयारीका लागि तीनै तहका सुरक्षाकर्मीको टोलीले पाँच दिन खटिएर यहाँको हिउँ पन्छाएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौड्यालले जानकारी दिए ।

मौसमबाहेक मनाङमा अन्य चुनौती नरहेको उनले बताए । ‘हामीलाई अप्ठ्यारो भयो भने मौसम नै हो । प्राकृतिक समस्याबाहेक मानव सिर्जित समस्या छैन,’  सीडीओ पौड्यालले भने, ‘तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा  छौँ । अन्य कारणले चुनाव रोकिने छैन ।”

नार्पाभूमि गाउँपालिकाका पाँच वडामा ४८८ मतदाता छन् । बाटो खुले पनि गाउँले भने गाउँ फर्किएका छैनन् । जाडो छल्न काठमाडौं, पोखरा बेँसी झरेका अधिकांश मतदाता फर्किने क्रममा रहेको पौड्यालले बताए । ‘अहिले गाउँमा चौँरी गोठाला र केही ज्येष्ठ नागरिक मात्रै हुनुहुन्छ । काठमाडौं बस्ने मतदाता १४/१५ गतेतिर गाउँ फर्किने जानकारी प्राप्त भएको छ’, उनले भने । गाउँले नहुँदा आफूहरू पनि जानसक्ने स्थिति नरहेको उनले बताए । ‘गाउँले फर्किएपछि जाने तयारीमा छौँ,’ सीडीओ पौड्यालले अगाडि भने ।

निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले  मतदान अधिकृत र सहायक कर्मचारीलाई तालिम दिएपछि सुरक्षा घेरासहित मतपत्र र मतपेटिका सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भएको जानकारी दिए ।

उता नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले मतदातालाई गाउँ फर्काउन प्रयास भइरहेको जानकारी दिए । ‘अधिकांश मतदाता काठमाडौंमै हुनुहुन्छ । १४ देखि १७ गतेसम्ममा सबै मतदाता गाउँ फर्कन अनुरोध गरेका छौँ’, उनले भने, ‘परिवारका एक जना सदस्य अनिवार्य रुपमा फर्कन सुझाव दिएका छौँ ।’

मनाङमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट यशोदा सुवेदी र मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले उम्मेदवार छन् । यसअघि एमाले र राप्रपाले समेत उम्मेदवारी दिएकामा कांग्रेसलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका थिए ।

मनाङमा यस निर्वाचनमा महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ गरी कूल सात हजार मतदाता छन् । २९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?