सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सेनाको सङ्ख्या घटाएर ‘तिब्बत ओरिजिनल ब्लड (टिओबी)’लाई सीमा सुरक्षाको जिम्मा दिने गरी बाचा पत्र ल्याएको दाबी गरिएको छ।
तर, हाम्रो तथ्य जाँचमा यो दावी भ्रामक देखियो, यसलाई पुष्टि हुने कुनै प्रमाण भेटिएन।
के हो दाबी ?
५ हजार ९ सय फलोअर भएका अरुणिमा साह नामक फेसबुक प्रयोगकर्ताले फेब्रुअरी १९ राति ८:१८ बजे पोस्ट गरेको सामग्रीमा रवि लामिछाने, बालेन्द्र शाह र स्वर्णिम वाग्लेसहितको डिजाइन गरिएको ग्राफिक्स प्रयोग गरिएको छ।
त्यसमा लेखिएको छ:
“सेनाको सङ्ख्या घटाउने, सिमानामा काँडेतारको जिम्मा तिब्बत ओरिजिनल ब्लड (टिओबी)लाई दिने।”
पोस्टमा “रास्वपा कन्ट्र्याक्ट पेपर” शीर्षक प्रयोग गरिएको छ।
तथ्य जाँचको समयसम्म उक्त पोस्टमा ८२ रियाक्सन, १४ कमेन्ट र १७ पटक शेयर भएको देखियो। हेर्नुस् स्क्रिनसट

उक्त फेसबुक पोस्टको लिङ्क र अर्काइभ लिङ्क
के हो तथ्य ?
हामीले फेब्रुअरी १९ मा सार्वजनिक भएको रास्वपाको आगामी प्रतिनिधि सभा निर्वाचनका लागि जारी ‘बाचा पत्र २०८२’ अध्ययन गर्यौँ।
बाचा पत्रको बुँदा ९७ मा सीमा सुरक्षासम्बन्धी नीति उल्लेख गरिएको छ। उक्त बुँदामा सशस्त्र प्रहरी बललाई आधुनिक प्रविधि, पर्याप्त जनशक्ति र भौतिक पूर्वाधारसहित ‘विशिष्टीकृत सीमा सुरक्षा बल’का रूपमा परिचालन गर्ने उल्लेख छ।
त्यसमा नाइट–भिजन क्यामेरा, ड्रोन निगरानी, डिजिटल इन्ट्री–एक्जिट प्रणाली लागू गर्ने तथा सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्ने कुरा उल्लेख गरिएको छ।
तर, सेनाको सङ्ख्या घटाउने वा ‘तिब्बत ओरिजिनल ब्लड (टिओबी)’लाई सीमा सुरक्षाको जिम्मा दिने विषय कतै उल्लेख गरिएको छैन।
हेर्नुहोस् स्क्रिन सट :

रास्वपाको वाचा पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्
साथै, हामीले २०७९ असार ७ गते स्थापना भएको रास्वपाले आफ्नो स्थापनाको केही दिन पछि ‘यति काम चाहिँ गर्छौ गर्छौ’ भन्दै गरेको प्रतिज्ञा फेला पार्यौँ।
त्यसमा सीमा सुरक्षा शीर्षकमा सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा बलमा परिणत गरिने, देशका सिमानामा काँडेतार लगाइने र सीमा विवादको छिटो अन्त्य गर्न अन्तर्राष्ट्रिय मञ्चमा पहल गरिने उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा फैलिएको ग्राफिक्समा प्रयोग भएको टुक्रा र यो उस्तै देखिन्छ।
तर, यसमा पनि सिमानामा काँडेतारको जिम्मा तिब्बत ओरिजिनल ब्लड (टिओबी)लाई दिने कुरा कहीँ कतै उल्लेख गरिएको छैन ।
हेर्नुहोस् स्क्रिनसट :

‘यति काम चाहिँ गर्छौ गर्छौ’ भन्दै रास्वपाले गरेको प्रतिज्ञा हेर्न यहाँ क्लिक गर्नुहोस्
तथ्य जाँच
दावी : रास्वपाको बाचा पत्रमा सेनाको सङ्ख्या घटाएर टिओबीलाई सीमा सुरक्षाको जिम्मा दिने उल्लेख भएको।
दाबीकर्ता : अरुणिमा साह नामक फेसबुक प्रयोगकर्ता।
तथ्य : भ्रामक सूचना। रास्वपाको आधिकारिक ‘बाचा पत्र २०८२’ तथा पूर्व सार्वजनिक प्रतिबद्धता सूची अध्ययन गर्दा उक्त विषय कतै उल्लेख भएको भेटिएन। रास्वपाको पुरानो ‘यति काम चाहिँ गर्छौँ’ शीर्षकको सूचीमा ‘देशका सिमानामा काँडेतार लगाइने’ उल्लेख गरिए पनि भन्दै सिमानामा काँडेतारको जिम्मा टिओबीलाई दिने कतै उल्लेख गरिएको छैन।
अनलाइनखबर र nepalfactcheck.orgको सहकार्य
सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।
प्रतिक्रिया 4