News Summary
Generated by OK AI. Editorially reviewed.- क्यान्सरको जोखिम घटाउन खानपान, आराम र व्यायाम महत्वपूर्ण छन् र खानपानले शरीरका कोषहरूमा प्रत्यक्ष प्रभाव पार्छ।
- फलफूल, तरकारी, सवुत अन्न र सिड्सहरूको नियमित सेवनले क्यान्सरको जोखिम ३०–५० प्रतिशतसम्म घटाउन सक्छ।
- मोटोपन, धुम्रपान, प्रशोधित मासु र बारम्बार प्रयोग गरिएको तेलले क्यान्सरको जोखिम बढाउँछन् भने एचपिभी र हेपाटाइटिस खोपले केही क्यान्सरबाट बचाउँछन्।
क्यान्सर एक गम्भीर रोग हो जसले विश्वभरि लाखौं मानिसहरूलाई प्रभावित गर्छ । यस रोगको विकासमा आनुवंशिकता, वातावरणीय कारकहरू र जीवनशैलीको महत्वपूर्ण भूमिका हुन्छ । तर, खानपान र जीवनशैलीलाई परिवर्तन गरेर क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ । स्वस्थ आहारले क्यान्सरको रोकथाममा महत्वपूर्ण योगदान दिन सक्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्
क्यान्सर रोकथाममा खानपानको महत्व
क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचानमा लगानी गर्नु आवश्यक छ । यदि क्यान्सरलाई सुरुमै पत्ता लगाएर उपचार गरियो भने, यो सुगर, प्रेसर वा थाइराइड जस्ता रोगहरू भन्दा पनि सजिलै नियन्त्रण गर्न सकिन्छ । रोकथामका लागि तीन मुख्य कुराहरू महत्वपूर्ण छन् खानपान, आराम र व्यायाम । यीमध्ये खानपानलाई विशेष ध्यान दिनुपर्छ किनकि यसले शरीरका कोषहरूमा प्रत्यक्ष प्रभाव पार्छ ।
विश्व स्वास्थ्य संगठन र अन्य संस्थाहरूका अनुसार, क्यान्सरको करिब ३०–५० प्रतिशत मामिलाहरू जीवनशैली र खानपानसँग सम्बन्धित हुन्छन् ।
फलफूल, तरकारी, ताजा खानेकुरा तथा सिड्सहरूको नियमित सेवनले क्यान्सरको जोखिम घटाउँछ भनिएको छ । यसले एन्टिअक्सिडेन्ट्स, फाइबर, भिटामिन र मिनरल्स प्रदान गर्छ जसले सेलहरूलाई क्षति हुनबाट बचाउँछ । फलफूल र तरकारीहरूको बढी सेवनले कोलोन क्यान्सरको जोखिम घटाउने कुरा अध्ययनले देखाएको छ ।
राम्रो खानपान : नेपाली परम्परागत आहार
विश्वका अन्य ठाउँका खाना भन्दा नेपाल तथा भारतीय प्रायद्धीपको परम्परागत खाना सन्तुलित मानिन्छ । हामीले नियमित खाने खाना भातमा कार्बोहाइड्रेट, दालमा प्रोटिन, तरकारीमा फाइबर, भिटामिन र मिनरल्स पाइन्छ । यससँगै अचार वा कागतीले भिटामिन सी प्रदान गर्छ, जसले रोगप्रतिरोधि प्रणालीलाई बलियो बनाउँछ । यो आहारलाई निरन्तरता दिँदा शरीरलाई आवश्यक पोषक तत्वहरू मिल्छन् र क्यान्सरको जोखिम कम हुन्छ ।
थप तथ्यहरूले यसलाई समर्थन गर्छन् । मेयो क्लिनिकका अनुसार, फलफूल र तरकारीहरूको नियमित सेवनले दीर्घकालीन तथा नसर्ने रोगहरूको जोखिम घट्छ । अमेरिकन इन्स्टिच्युट फर क्यान्सर रिसर्चले पनि भन्छ कि- तरकारी, फलफूल, सवुत अन्न र सिड्डहरू भरिएको आहारले विभिन्न क्यान्सरहरू जस्तै ब्रेस्ट, कोलोरेक्टलको जोखिम घटाउँछ ।
उदाहरणका लागि, दूध र यसबा६ उत्पादिन खानाले क्याल्सियम प्रदान गर्छ जसले कोलोरेक्टल क्यान्सरको जोखिम १३ प्रतिशतसम्म घटाउँछ । गहुँ, जौ ले पनि कोलोरेक्टल क्यान्सरको जोखिम १६ प्रतिशत घटाउँछ भन्ने कुरा अध्ययनमा देखिएको छ ।
नराम्रो खानपान : जोखिम बढाउने कारकहरू
बासी सडेगलेको खानेकुरा, एउटै तेल बारम्बार प्रयोग गरेर पकाएको खानेकुरा वा धुँवामा पकाएको सेकुवा जस्ता खानाहरूले क्यान्सरको जोखिम बढाउँछन् किनकि यिनीहरूमा क्यान्सर उत्पन्न गर्ने तत्व कार्सिनोजेन पाइन्छन् । धेरै आगोमा पकाएको वा धुवाँधुलोमा तयार पारिएको खानाले कार्बन मोनोक्साइड जस्ता हानिकारक तत्वहरू उत्पादन गर्छ।
धुम्रपान र मध्यपानबाट बच्दा ९० प्रतिशतसम्म क्यान्सर र अन्य दीर्घरोगहरूको जोखिम घटाउन सकिन्छ । अल्कोहलले आन्द्रा, स्तन, भोजन नली, कलेजो आदि क्यान्सरको जोखिम बढाउँछ । विश्व क्यान्सर रिसर्च फन्डका अनुसार प्रशोधित मासुहरू जस्तै ससेज, सलामी र रेड मिटको बढी सेवनले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।
चिनीको बढी सेवनले सिधै क्यान्सर नगराए पनि मोटोपन बढाउँछ जसले क्यान्सरको जोखिम बढाउँछ ।
तेलको प्रयोगमा पनि सावधानी अपनाउनु पर्छ । एउटै तेलको प्रयोग बारम्बार गर्दा, धुवाँ आउने गरी तताएको तेल वा डिप फ्राई गरिएको तेलले कार्सिनोजेन उत्पादन गर्छ र क्यान्सरको जोखिम बढाउँछ । तर ओलिभ आयल जस्ता हेल्दी तेलहरूले जोखिम घटाउँछन् यदि सही तापक्रममा प्रयोग गरियो भने ।
मोटोपन र जीवनशैलीको प्रभाव
मोटोपन क्यान्सरको प्रमुख कारक हो जसले एसोफेजस, कलेजो, मलाशय, प्यान्क्रियास, प्रोस्टेट र ब्रेस्ट क्यान्सर बढाउँछ । मोटोपनले बोसोमा कार्सिनोजेन र अतिरिक्त हर्मोनहरू उत्पादन गर्छ जसले सेलहरूलाई प्रभावित गर्छ । उदाहरणका लागि, महिलाहरूमा मोटोपनले ब्रेस्ट क्यान्सरको जोखिम बढाउँछ ।
एमडी एन्डर्सन क्यान्सर सेन्टरका अनुसार, स्वस्थ आहारले मोटोपन नियन्त्रण गर्छ र क्यान्सरको जोखिम घटाउँछ । फिजिकल एक्टिभिटी र नियमित आरामले पनि यसमा सहयोग गर्छ । लामो समय बसिरहँदा हिँडडुल गर्नुपर्छ । परम्परागत जीवनशैली जस्तै राति छिट्टै सुत्ने र बिहान छिट्टै उठ्नेले प्राकृतिक सन्तुलन कायम राख्छ ।
थप वैज्ञानिक तथ्यहरू र सिफारिसहरू
एचपिभी भाइरसको कारण हुने क्यान्सरहरुबाट बच्न एचपिभी खोप लगाउन सकिन्छ । साथै हेपटाइटिस खोप लगाएपछि हेपाटाइटिस–बी भाइरसको कारण हुने कलेजोको क्यान्सरबाट बच्न सकिन्छ।
दैनिक फलफूल र तरकारीहरूको सेवनले क्यान्सरको जोखिम २० प्रतिशत घटाउँछ । सवुत अन्न र तरकारीहरूबाट पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ र कोलोरेक्टल क्यान्सरको जोखिम घटाउँछ।
हरियो तरकारीहरूमा पाइने एन्टिअक्सिडेन्ट्स तत्वहरूले सेल क्षति रोक्छन् । तर, कुनै एकल खाना होइन समग्र आहार महत्वपूर्ण छ । कुनै एक खानाले मात्र क्यान्सर रोक्ने वा लाग्ने भन्ने हुँदैन ।
आहारलाई व्यक्ति अनुसार मिलाएर खान सकिन्छ । जसमा व्यक्तिको जेनेटिक बनावट, उमेर, लिङ्ग, तौल, जीवनशैली, शारीरिक सक्रियता तथा विद्यमान रोगको अवस्थालाई आधार मानिन्छ । यसरी व्यक्तिगत आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार मिलाइएको आहारले रोग नियन्त्रणमा सहयोग गर्नुका साथै समग्र स्वास्थ्य सुधार गर्न मद्दत पुर्याउँछ।
प्रतिक्रिया 4