+
+
Shares

मोरङका सीडीओ भन्छन्- ब्यालेट सुरक्षाका लागि बुलेट चल्नसक्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १६:४२

१७ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका सुरक्षाका लागि प्रशासनले गोली चलाउन सक्ने मोरङका सुरक्षा निकायका प्रमुखले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रमुख उपरीक्षक कवित कटवालले  विशेष परिस्थितिमा मतदान भइरहेका कारण ब्यालेट सुरक्षाका लागि सुरक्षा निकायले बुलेट चलाउनसक्ने बताएका हुन् ।

उनीहरूले निर्वाचनमा अवाञ्छित गविधि नगर्न पनि आग्रह गरे ।

नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आम सञ्चार विषयक अन्तर्क्रियामा कट्टेलले मतदान प्रक्रियामा अवरोध नगर्न सीडीओ कट्टेलले आग्रह गरे ।

राष्ट्रपतिबाट घोषणा भएको निर्वाचनको ऐतिहासिक महत्व रहेको बताउँदै उनले सुरक्षा सतर्कता बढाइएको बताए । ‘अहिलेको निर्वाचनमा अवाञ्छित गतिविधि हुन गयो भने त्यो बेला गर्ने सुरक्षा कारवाही दण्डको प्रोटोकल अनुसारको तयारीमा छौं,’ उनले भने, ‘अवाञ्छित गतिविधि गरे ब्यालेटलाई संरक्षण गर्न बुलेटलाई पनि प्रयोग गर्छाैं ।’

ब्यालेट बक्सको सुरक्षाका लागि अधिकतम बल प्रयोग गर्ने बताउँदै उनले भने, ‘सुरक्षाकर्मीले आफ्नो ज्यानको बाजी लगाएर भएपनि मतपेटिका सुरक्षा गर्छन् ।’

मोरङ प्रहरी प्रमुख कटवालले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन एकीकृत सुरक्षा योजना कार्यान्वयन भइरहेको बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, राष्ट्रिय अनुसन्धानसँगै निर्वाचन प्रहरी पनि सुरक्षामा खटिएको बताए ।

मतदान स्थलमा टोली खटिएको बताउँदै उनले ब्यालेटको सुरक्षाका लागि प्रहरीले गोली चलाउन सक्ने पनि बताए ।

‘ब्यालेट(मतपेटिका) को सुरक्षाका लागि प्रहरीले आवश्यकता अनुसार बल प्रयोग गर्छ, यो विषयमा  सुरक्षाकर्मीलाई निर्देश भइसकेको छ,’ उनले भने, ‘प्रहरीले आवश्यक पर्याे भने सुरक्षाका लागि बुलेट प्रयोग गर्छ,।’

निर्वाचन बिथोल्न खोज्ने केही व्यक्ति पक्राउ पनि परेको बताए । शंकास्पद गतिविधि गर्नेहरु प्रहरीको निगरानीमा रहेको बताए । सीमा क्षेत्रमा हुनसक्ने गतिविधि नियन्त्रणका लागि पनि सतर्कता अपनाइएको बताए ।

उनका अनुसार मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । १२५ वटा निर्वाचन स्थललाई संवेदनशील भनिएको छ । १३४ वटा निर्वाचन स्थल सामान्य रहेको बताउँदै उनले भने,‘ संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालित छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?