सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताको साथबाट स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद गरिएको दाबीसहितको एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले बरामद सामग्रीबारे बोलिरहेको दृश्यसँगै पैसाको थुप्रो देखाइएर ‘रास्वपाको कार्यकर्ताबाट बरामद स्रोत नखुलेको रकम’ भन्ने लेख राखिएको छ ।
तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा उक्त दाबी भ्रामक भएको भेटियो। भिडिओमा देखाइएको दृश्य र पैसाको तस्बिर फरक–फरक सन्दर्भका सामग्रीलाई जोडेर बनाइएको पाइयो।
के हो दाबी ?
its_me_lkr9 नामक टिकटक प्रयोगकर्ताले फागुन ११ गते (फेब्रुअरी २३, २०२६) ३३ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन्। भिडिओको माथिल्लो भागमा प्रहरी अधिकारी बोलिरहेको देखिन्छ भने तल्लो भागमा पैसाको थुप्रो देखाइएको छ। त्यसमा ‘रास्वपाको कार्यकर्ताबाट बरामद स्रोत नखुलेको रकम’ लेखेको देखिन्छ।
भिडिओमा बोलिरहेका प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रचार सामग्री (भेस्ट ५९ थान, टोपी ३० वटा, कपडाका टुक्रा ४० वटा) बरामद भएको बताएका सुनिन्छन्। पत्रकारले ‘कुन पार्टीको हो?’ भन्ने प्रश्न गर्दा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको’ भनेर जवाफ दिएको अंश पनि राखिएको छ ।
तथ्य जाँच गर्ने समयसम्म उक्त भिडिओमा २९ हजारभन्दा बढी प्रतिक्रिया, २ हजारभन्दा बढी कमेन्ट र ६ लाखभन्दा बढी पटक हेरिएको छ ।
its_me_lkr9 नाम गरेको टिकटक प्रयोगकर्ताले गरेको पोष्टको स्क्रिन रेकर्ड हेर्नुहोस्–
ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
यसै भिडिओ Manu Pitha नामक फेसबुक प्रयोगकर्ताले पनि फेब्रुअरी २४ मा फेसबुकमा पोस्ट गर्दै मधेशमा रास्वपा कार्यकर्ताबाट स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएको दाबी गरेका छन्। यो तथ्य जाँच गर्ने समयसम्ममा भिडिओमा १४९ पटक लाईक, १२ पटक कमेन्ट र ५६ पटक सेयर भएको छ ।
हेर्नुहोस् फेसबुक पोष्टको स्क्रिनसट–

पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
के हो तथ्य ?
१) प्रहरी दृश्यको स्रोत
भिडिओका दुई अलग–अलग फ्रेम निकालेर विश्लेषण गर्दा माथिल्लो भाग (प्रहरी बोलिरहेको दृश्य) लाई गुगल रिभर्स इमेज सर्च गर्दा कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालित पश्चिम आजको आधिकारिक फेसबुक पेजमा फागुन ८ (फेब्रुअरी २०, २०२६) मा प्रकाशित १ मिनेट ५६ सेकेन्डको भिडिओ फेला पर्यो। भिडिओमा कञ्चनपुर लेखिएको हुनाले हामीले त्यहाँको प्रहरी कार्यालयमा सम्पर्क गर्यौँ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडिओमा देखिएका प्रहरी अधिकारी प्रहरी उपरीक्षक (एसपी) खडक खत्री भएको पुष्टि गर्यो। नेपालफ्याक्टचेकसँगको कुराकानीमा एसपी खत्रीले भाइरल भिडिओमा देखिएको व्यक्ति आफू नै भएको बताए ।
तर, रास्वपा कार्यकर्ताबाट नगद बरामद गरिएको दाबी असत्य रहेको उनले स्पष्ट गरे। उनका अनुसार उक्त कार्यक्रम पत्रकार सम्मेलन नभई निर्वाचन तयारीसम्बन्धी अन्तर्क्रिया थियो ।
उनले त्यो सामग्री कुनै राजनीतिक दलका कार्यकर्ताको साथबाट नभई पटके चोरबाट बरामद गरिएको नेपालफ्याक्टचेकलाई बताए ।
हेर्नुहोस् पश्चिम आजले सार्वजनिक गरेको भिडिओको स्क्रिनसट–

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
२) पैसाको तस्वीरको स्रोत
भिडिओको तल्लो भागमा देखाइएको पैसाको फोटोलाई अलग गरेर गुगल रिभर्स इमेज सर्च गर्दा धनुषाबाट सञ्चालित टुडे आवाजमा फागुन ८ मा प्रकाशित समाचारमा प्रयोग गरिएको उही तस्बिर भेटियो।
उक्त समाचारअनुसार सिरहाको औरही गाउँपालिका–५ बाट १४ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका थिए। सो समाचार इकान्तिपुरमा पनि प्रकाशित भएको थियो।
तर जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले नेपालफ्याक्टचेकसँग कुरा गर्दै १४ लाखसहित पक्राउ परेको घटना सत्य भए पनि बरामद पैसाको फोटो सार्वजनिक नगरिएको बताए। पक्राउ परेका व्यक्तिको राजनीतिक सम्बन्धबारे पनि केही नखुलेको जानकारी दिए।
भाइरल भिडिओमा भने त्यही तस्बिरमा ‘रास्वपाको कार्यकर्ताबाट बरामद’ भन्ने शब्द थपेर प्रयोग गरिएको देखिन्छ।

समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ
यही फोटो र यही दावीसहितको समाचार इकान्तिपुर डटकमले पनि प्रकाशित गरेको भेटियो ।

कान्तिपुरमा प्रकाशित समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।
समाचारमा समावेश पैसाको तस्बिर र भाइरल भिडिओमा समावेश पैसाको तस्बिर समान देखिन्छ । तर त्यहाँ लेखिएको अक्षर केही फरक छ । भाइरल भिडिओको पैसाको फोटोमा ‘रास्वपाको कार्यकर्ताबाट बरामद’ शब्द थपिएको देखिन्छ ।
दुई तस्वीरलाई तुलना गरेर हेर्दा यस्तो देखियो ।

फोटोमा एआई प्रयोग भएको छ कि छैन भनेर हाइभ मोडरेसनमार्फत् परीक्षण गर्दा १.५ प्रतिशत मात्र एआई संकेत देखियो। यसले फोटो पूर्णरूपमा एआई–निर्मित नभई वास्तविक फोटोमा अक्षर थपेर दुरुपयोग गरिएको सम्भावना देखाउँछ।
तथ्य जाँच
दाबी : रास्वपा कार्यकर्ताको साथबाट स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद।
दावीकर्ता : @its_me_lkr9 (टिकटक) र Manu Pitha (फेसबुक)।
तथ्य/निश्कर्ष: भ्रामक (Misleading)। भाइरल भिडिओमा फरक–फरक सन्दर्भका प्रहरी दृश्य र पैसाको तस्बिर जोडेर ‘रास्वपा कार्यकर्ताबाट २० लाख बरामद’ भएको भ्रामक निष्कर्ष सिर्जना गरिएको छ। उपलब्ध प्रमाण, प्रहरीको आधिकारिक प्रतिक्रिया र दृश्य विश्लेषणका आधारमा उक्त दाबी पुष्टि हुँदैन।
–अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्य
(सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ ।)
प्रतिक्रिया 4