+

पाचनसम्बन्धी समस्यामा ज्वानोले दिन्छ छिट्टै राहत

२०८२ फागुन  २० गते १२:१३ २०८२ फागुन २० गते १२:१३

ज्वानो भुटेर राखेर पाचनमा समस्या हुँदा खान सकिन्छ । विशेष गरी, पेट दुखाइमा ज्वानोलाई बिरे नुनसँग मिसाएर खाँदा तुरुन्त राहत मिल्छ ।

पाचनसम्बन्धी समस्यामा ज्वानोले दिन्छ छिट्टै राहत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्वानो प्राकृतिक जडीबुटी हो जसले पाचन समस्यामा छिट्टै राहत दिन्छ र आयुर्वेदमा यसलाई शतक भनिन्छ।
  • ज्वानोमा उच्च मात्रामा पोषक तत्वहरू छन् जसले पाचन प्रक्रियालाई मजबुत बनाउँछन् र शरीरलाई ऊर्जा प्रदान गर्छन्।
  • ज्वानोको अत्यधिक सेवनबाट बच्नुपर्छ किनभने यसले पेटको अल्सर, हार्टबर्न र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

शरीरमा कुनै पनि समस्या भएपछि हामी तुरुन्तै डाक्टरकहाँ दौडिन्छौं र कतिपय अवस्थामा यस्तो गर्नु ठीक पनि हो । तर, डाक्टरकोमा जानु भन्दा अघि राहतका लागि वा सामान्य समस्यामा घरेलु उपाय पनि अपनाउन सकिन्छ । कोही व्यक्ति कहिँलेकाँही यति धेरै व्यस्त हुन्छन् कि खाना खाने र आराम गर्ने समय पनि छुट्याउन भ्याउँदैनन् ।

त्यस्तै कारणले पाचन समस्या बढ्न सक्छ । पाचनमा समस्या हुँदा कहिले पेट दुख्ने, कहिले डायरिया हुने हुन्छ । यस्तोमा घरेलु उपाय अपनाएर पनि समस्या कम गर्न सकिन्छ । ज्वानो यस्तो एक प्राकृतिक जडीबुटी हो, जसले पाचन समस्यामा छिट्टै राहत दिन्छ । यसलाई आयुर्वेदमा शतकका नामले पनि चिनिन्छ ।

ज्वानोको पोषण मूल्य

ज्वानोमा उच्च मात्रामा पोषक तत्वहरू पाइन्छन् जसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ । प्रति १०० ग्राम ज्वानोमा लगभग ३०५–३३० क्यालोरी, २५ ग्राम चिल्लो, ४३–४७ ग्राम कार्बोहाइड्रेट, १६–२४ ग्राम प्रोटिन र ३९–४७ ग्राम फाइबर हुन्छ । यसबाहेक, यसमा आइरन (१६.१९ मिलिग्राम), क्याल्सियम (६६७ मिलिग्राम), पोटासियम (१३३३ मिलिग्राम), थायमिन, रिबोफ्लाभिन, नियासिन जस्ता खनिजहरू र भिटामिनहरू पनि प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरूले पाचन प्रक्रियालाई मजबुत बनाउँछन् र शरीरलाई ऊर्जा प्रदान गर्छन् ।

पेट दुखाइमा बिरे नुन र ज्वानो

ज्वानोको सेवन साँच्चै फाइदाजनक छ । यसलाई खाँदा नै पेटको ग्यास, पेट दुखाइ, अपच र ग्यास जस्ता समस्याबाट राहत मिल्छ । ज्वानो भुटेर राखेर पाचनमा समस्या हुँदा खान सकिन्छ । विशेष गरी, पेट दुखाइमा ज्वानोलाई बिरे नुनसँग मिसाएर खाँदा तुरुन्त राहत मिल्छ । यसले पेटको अम्लता नियन्त्रण गर्छ र दुखाइ कम गर्छ ।

ज्वानोबाट ग्यास, अपच र ब्लोटिङ कम

ज्वानोमा पाचन गुण हुन्छ जसले ग्यास, अपच र ब्लोटिङ कम गर्न मद्दत गर्छ । ज्वानोमा थाइमोल नामक यौगिक पाइन्छ जसले पाचनलाई राम्रो बनाउँछ र खाना सजिलै पच्छ । वैज्ञानिक अध्ययन अनुसार, ज्वानोले पेटको एसिडको प्रवाह बढाउँछ, जसले अपच, ब्लोटिङ र ग्यासबाट राहत दिन्छ । यसले पेटका एन्जाइमहरूलाई सक्रिय बनाउँछ र पेटको घाउ तथा आन्द्राको घाउहरूमा पनि फाइदा पुर्‍याउन सक्छ।

आयुर्वेदका सिद्धान्त अनुसार, ज्वानोले ‘डाइजेस्टिभ फायर’ लाई तीव्र बनाउँछ, जसबाट खाना सजिलै पच्छ । ज्वानोलाई खानामा समावेश गर्दा पोषक तत्वहरू राम्रोसँग शरीरमा अवशोषित हुन्छन् । यसबाहेक, ज्वानोले पाचन एन्जाइमहरूको उत्पादन बढाउँछ, बाइल स्राव बढाउँछ जसले बोसो पचाउन मद्दत गर्छ र आन्द्राको मांसपेशीहरूलाई आराम दिन्छ ।

आन्द्राको स्वास्थ्यका लागि फाइदाजनक छ ज्वानो

ज्वानोको सेवनले आन्द्रामा अवरोध हटाउन मद्दत गर्छ । अर्थात् जुन खाना आन्द्रामा अड्किएको छ वा त्यसैले ब्लोटिङ भएको छ, ज्वानोले यो समस्या हटाउन सक्छ । यसले आन्द्रा सुन्निने समस्या कम गर्छ र पाचन प्रक्रियालाई सुधार्छ । ज्वानोले आन्द्राको मांसपेशीहरूमा प्रभाव पारेर संकुचन कम गर्ने र पाचन एन्जाइमहरूको गतिविधि बढाउँछ भन्ने कुरा अध्ययनहरूले देखाएको छ ।

यसले पेटको तीव्र दुखाइ र मांसपेशी खुम्चिएर हुने पीडा जस्ता समस्या पनि कम गर्छ । ज्वानोमा एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ, जसले पेटको अस्तरलाई सुरक्षा दिन्छ र अल्सरबाट बचाउँछ ।

अन्य फाइदाहरू

पाचनबाहेक, ज्वानोले श्वासप्रश्वास समस्या, रुघाखोकी, जोर्नी दुखाइ, कीटाणुनाशक गुण, तौल घटाउन मद्दत गर्ने, कोलेस्टेरोल नियन्त्रण जस्ता फाइदाहरू पनि दिन्छ । ज्वानो सामान्य घरेलु उपाय हो, तर गम्भीर समस्यामा यसमा मात्र भर पर्नु हुँदैन । तुरुन्त स्वास्थ्य संस्था गई स्वास्थ्य चिकित्सकको सल्लाह लिनुपर्छ ।

कसरी प्रयोग गर्ने ?

ज्वानोलाई प्रयोग गर्न पहिले यसलाई पकाउनुपर्छ । आधा चम्चा ज्वानोलाई पानीमा उमालेर पिउन सकिन्छ । यसलाई दिनभरि दुई–तीन पटक प्रयोग गर्न सकिन्छ । यदि पाचन समस्या बढी छ भने ज्वानोलाई पाउडरका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यदि खानामा रुचि कम छ भने खानामा बिरे नुनसँग ज्वानो मिसाउन सकिन्छ । यसबाहेक ज्वानोलाई पुदिना, मिश्री, अमला वा अनारको रससँग पनि सेवन गर्न सकिन्छ । १ चम्चा ज्वानो रातभर पानीमा भिजाएर बिहान उमालेर पिउँन सकिन्छ ।ज्वानोलाई दहीसँग मिसाएर खान पनि सकिन्छ ।

दैनिक १–२ चम्चा मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।

सावधानी

ज्वानो फाइदाजनक छ, तर यसको अत्यधिक सेवनबाट बच्नुपर्छ । यदि कोही व्यक्तिलाई पित्त दोष छ, हाइपर एसिडिटी छ वा हार्टबर्नको समस्या छ भने ज्वानोको सेवनबाट बच्नुपर्छ । साथै यदि इन्फ्लेमेटरी डिजिजका बिरामी छन् भने पनि ज्वानोको सेवनबाट बच्नुपर्छ ।

यसबाहेक, ज्वानोले पेटको अल्सरलाई झन् खराब बनाउन सक्छ, वाकवाकी, उल्टी, एलर्जी, टाउको दुखाइ, चक्कर लाग्ने, मुखको घाउ, एसिडिटी, हार्टबर्न, कलेजोको समस्या, रगतको ग्लुकोज घटाउने, गर्भावस्थामा समस्या निम्त्याउने जस्ता साइड इफेक्टहरू हुन सक्छन् ।

मधुमेहका बिरामीहरूले यसको सेवन गर्दा रगतमा ग्लुकोजको स्तर जाँच गर्नुपर्छ । शल्यक्रियापूर्व यसलाई रोक्नुपर्छ किनकि यसले रगत जम्ने प्रक्रियामा असर पार्न सक्छ । गर्भवती महिलाहरूले डाक्टरको सल्लाह बिना प्रयोग गर्नु हुँदैन किनकि यसले शरीरको तापक्रम बढाउँछ ।

ज्वानो पाचन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय