बिहान उठ्नेबित्तिकै खाली पेटमा के खाने वा पिउने भन्ने कुरामा धेरै जना अलमलिन्छन् । कसैले तातो पानी, कसैले कागती पानी, कसैले मेथी पानी, कसैले चिया वा कफी नै सिफारिस गर्छन् । तर वैज्ञानिक र चिकित्सकीय दृष्टिले हेर्दा सबैभन्दा सरल, सुरक्षित र उपयुक्त विकल्प के हुन्छ त ?
बिहान पेटको वास्तविक अवस्था के हुन्छ ?
राति ८–१० घण्टा उपवासपछि शरीरमा पानीको कमी हुन्छ, पाचन एन्जाइमहरू सुस्त हुन्छन् र आन्द्राको गति कम हुन्छ । यस अवस्थामा पहिले शरीरका लागि पानीको मात्रा पूर्ति गर्नु आवश्यक हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलिल मिया बताउँछन् । ‘पानीले पेटलाई ‘जागृत’ गर्छ, रगतको प्रवाह बढाउँछ र प्राकृतिक रूपमा मल त्याग सहज बनाउँछ’ उनी भन्छन् ।
वैज्ञानिक रूपमा उत्तम विकल्प : मनतातो पानी
डा.मियाका अनुसार बिहानको समयमा सबैभन्दा पहिले मनतातो पानी पिउनु सरल र राम्रो हो । उठ्नेबित्तिकै १–२ गिलास मनतातो पानी पिउनु पर्ने डा. मियाको सुझाव छ । मनतातो पानीले आन्द्राको गति बढाउँछ र कब्जियत कम गर्छ भन्ने कुरा केही अध्ययनहरूले पनि पुष्टि गरिसकेका छन् । ‘यसले पाचन प्रणालीलाई आराम दिन्छ, डिहाइड्रेशन हटाउँछ र दिनको सुरुवात राम्रो बनाउँछ’ उनले भने ।
विशेष लाभ चाहिनेका लागि अन्य विकल्पहरू
१. चियासिड
खाली पेटमा चिया सिड खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ चिया सिडमा घुलनशील फाइबर प्रशस्त हुन्छ, जसले कब्जियत घटाउने र पेट सफा राख्न मद्दत गर्ने पोषणविद् आयुष अधिकारी बताउँछन्।
‘पानीमा भिजेपछि चिया सिड फुल्छ, पेट भरिएको अनुभूति दिन्छ र अनावश्यक भोक कम गर्छ’ अधिकारी भन्छन्, ‘फाइबरले ग्लुकोजको अवशोषण ढिलो गराउँछ, जसले मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल घटाउन र मुटु स्वस्थ राख्न मद्दत गर्छ ।’
२. मेथी पानी
आयुर्वेदिक चिकित्सक डा. अमृत भण्डारीका अनुसार बिहानको समयमा मेथी पानी पिउनु पनि फाइदाजनक हुन्छ । किनकी मेथीमा घुलनशील फाइबर (ग्याल्याक्टोम्यान) हुन्छ जसले ब्लड सुगर नियन्त्रण गर्छ, इनसुलिन संवेदनशीलता बढाउँछ र भोक कम गर्छ ।
केही अध्ययनहरूले पनि टाइप–२ मधुमेहका बिरामीमले दैनिक मेथी पानी पिउँदा फास्टिङ ब्लड सुगर, एचबिएवानसी र तौल नियन्त्रणमा सहयोग गर्छ भन्ने देखाएको डा.अधिकारी बताउँछन् । यसको सेवनले पाचन राम्रो बनाउँने कब्जियत घटाउने उनको भनाइ छ । तर सबैका लागि मेथीपानी सबैभन्दा राम्रो हो भन्ने हुँदैन । सामान्य अवस्थामा सादा पानी नै काफी हुने उनी बताउँछन् ।
३. जमराको जुस
बिहानको समयमा जमरा जुसको सेवनले पनि फाइदा पुग्न सक्छ । फाइबरले भरिपूर्ण हुने भएकाले पाचन सहज हुने, तौल नियन्त्रण र ब्लड सुगर स्थिर राख्न मद्दत गर्छ । बिहान खाली पेटमा पिउँदा शरीरमा पानीको मात्रा पूर्ति गर्ने र हल्का ‘क्लिन्ज’ प्रभाव दिने डा. भण्डारी बताउँछन् ।
४. कागती र महसहित पानी
आयुर्वेदिक चिकित्सक डा. अमृत भण्डारीका अनुसार कागती पानीमा मह मिसाएर सेवन गर्नाले भिटामिन सी र एन्टिअक्सिडेन्ट दिन्छ । पाचन उत्तेजित गर्ने काम गर्छ ।तर कागती एसिडिक हुन्छ । एसिड रिफ्लक्स, अल्सर वा संवेदनशील पेट भएकालाई जलन हुन सक्छ । मह थोरै मात्रा १ चम्चामा राख्दा राम्रो हुन्छ । तर यसको सेवनले स्वाटै तौल घट्ने भने होइन ।
५. काँचो लसुन
कतिपय व्यक्तिहरुले खाली पेटमा काँचो लसुनको सेवन पनि गर्ने गर्छन् । काँचो लसुनको सेवनले रोगप्रतिरोधि क्षमता बढाउन मुटु स्वस्थ राख्न मद्दत पुग्छ । तर खाली पेटमा खाँदा पेट पोल्ने, जलन, ग्यास, एसिडिटीको समस्या देखिन सक्छ । अध्ययन र चिकित्सकहरूले समेत ‘खाली पेटमा लसुन नखानू’ भन्ने नै सल्लाह दिने गरेको डा भण्डारीले बताए ।
६. जिरा पानी
बिहान उठ्नसाथ खाली पेटमा जिरा पानी पिउनु पनि पेटका लागि राम्रो हुन्छ । एक गिलास पानीमा एक चम्चा जति जीराको दाना मिसाएर उमाल्नुपर्छ । मनतातो भएपछि पिउन सकिन्छ । जिरामा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ, जुन पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्ने भण्डारी बताउँछन् ।
के नखाने ?
बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया कफी खानु हुँदैन । यसमा हुने क्याफिन र एसिडले ग्यास्ट्रिक बढाउँछ । एसिडका कारण पेट दुख्ने र अम्लीयपना जस्ता समस्या निम्त्याउन सक्छ । जसले एसिड रिफ्लक्स, जलन, ग्यास्ट्राइटिस निम्ताउने डा. खलील मिया बताउँछन् ।
दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्ने आयुर्वेद चिकित्सक अमृत भण्डारी बताउँछन् । ‘दहीमा ल्याक्टिक एसिड हुन्छ, यसले पेटमा अम्लीयपना बढाउँछ’ उनी भन्छन्, ‘पेटमा अम्लको स्तर बिगार्छ । खाली पेटमा दूधबाट उत्पादन हुने खानेकुराहरूले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ र यसले अम्लीयपना बढाउँछ । त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।’
कुनै पनि प्रकारको कार्बोनेटेड पेय खाली पेटमा पिउनु हुँदैन । यो आफैँमा एसिडिक हुन्छ । यसले एसिडको मात्रा बढ्छ जसले दिनभरि पाचन प्रणाली बिगार्न सक्ने पोषणविद् आयुष अधिकारी बताउँछन् । ‘यस्ता धेरै गुलियो पेयपदार्थ बिहान खाली पेटमा पिउँदा दिनभर चिनीको मात्रा बढ्छ । यसका कारण दिनभर थकित महसुस हुन्छ र कुनै पनि काम गर्न मन लाग्दैन ।’
कहिले पनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नुहुँदैन । खाली पेटमा मसला र पिरो खानेकुरा खाँदा पेटमा जलन पैदा हुन्छ । खाली पेटमा खाइने यस्ता खानेकुराले अम्लिय प्रतिक्रिया गराउने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउँछ । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गम्भीर असर पुर्याउन सक्ने पोषणविद् अधिकारीले बताए ।
व्यावहारिक दिनचर्या अपनाउनुपर्छ
पोषणविद् अधिकारीका अनुसार बिहान उठ्ने बित्तिकै १–२ गिलास मनतातो पिउनुपर्छ । यदि मन लाग्यो भने मेथी पानी, जौ पानी वा थोरै कागती पानी पिउन सकिन्छ । ३०–४५ मिनेटपछि हल्का व्यायाम÷योग गनुपर्छ । त्यसपछि प्रोटिन, फाइबर र स्वस्थ चिल्लो भएका सन्तुलित खानेकुरा खानुपर्छ ।
कुनै पनि नयाँ बानी सुरु गर्दा शरीरको प्रतिक्रिया हेर्नु आवश्यक हुने पोषणविद् अधिकारी बताउँछन् । उनका अनुसार दीर्घरोग भए चिकित्सकसँग सल्लाह लिनुपर्छ । कुनै कुरा खानु पिउनुले चमत्कारी नतिजा दिँदैन । तर नियमित र सन्तुलित बानीले नै स्वास्थ्य राम्रो हुन्छ ।
प्रतिक्रिया 4