+

नेपाली चिकित्सक दिवस : ७५ वर्षको इतिहास, मर्यादा र मौन प्रतिबद्धता

२०८२ फागुन  २० गते १३:५३ २०८२ फागुन २० गते १३:५३

यस वर्षको नेपाली चिकित्सक दिवसको सन्दर्भ भने विशेष छ । देश निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ र निर्वाचनको मौन अवधि लागू छ ।

नेपाली चिकित्सक दिवस : ७५ वर्षको इतिहास, मर्यादा र मौन प्रतिबद्धता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चिकित्सक संघको स्थापना २००७ साल फाल्गुन २० गते वीर अस्पतालका चिकित्सकहरूको पहलमा भएको थियो।
  • यो वर्ष ७५औँ नेपाली चिकित्सक दिवसमा कुनै औपचारिक कार्यक्रम नभए पनि संघले लोकतान्त्रिक मर्यादालाई सम्मान गरेको छ।
  • नेपाली चिकित्सक दिवसले सेवा, नैतिकता र समाजप्रतिको जिम्मेवारीको निरन्तरता सम्झाउने अवसर प्रदान गर्दछ।

आज फाल्गुन २०, नेपाली चिकित्सक समुदायका लागि केवल स्मृतिको दिन होइन, यो पेशा, इतिहास र जिम्मेवारीको निरन्तर यात्राको प्रतीक हो । वि.सं. २००७ साल फागुन २० गते सुरु भएको यो यात्रा आज ७५औँ वर्षमा प्रवेश गरिसकेको छ ।

यो ७५ वर्ष भनेको सेवा र सङ्घर्षले भरिएको लामो समयको साक्षी पनि हो । २००७ साल, फाल्गुन ७ गते नेपालमा जहानिया राणा शासनको अन्त्य भएर प्रजातन्त्र आएको दिन । त्यसबेला नेपाल राजनीतिक रूपान्तरणको सुरुवाती चरणमा थियो । कमजोर स्वास्थ्य सेवा प्रणाली, चिकित्सकको संख्या न्यून र जनस्वास्थ्यको अवधारणा विकसित भइसकेको थिएन, सायद ।

यही सन्दर्भमा, वीर अस्पतालमा कार्यरत केही चिकित्सकहरूको पहलमा नेपाल चिकित्सक संघको स्थापना भयो । त्यस ऐतिहासिक संस्थाको नेतृत्व गर्दै स्थापना गर्ने अग्रणी व्यक्तित्व हुनुहुन्थ्यो डा. सिद्धिमणि आचार्य दीक्षित । उहाँको नेतृत्वमा सुरु भएको यो संस्था नेपाली चिकित्सकहरूको पेशागत आत्मसम्मान, चिकित्सा नैतिकता र संगठित आवाजको आधार बन्यो । र अझै सम्म त्यो फाल्गुन २० केवल एउटा मिति मात्रै रहेको छैन ।

यस दिन चिकित्सकहरूले आफैँलाई, आफ्नो पेशालाई र समाजप्रतिको उत्तरदायित्वलाई पुनः स्मरण गर्ने अवसरका रूपमा लिने गरेका छन् । यो कुनै आयातित अवधारणा होइन, नेपाली चिकित्सकहरूको आफ्नै इतिहासबाट जन्मिएको दिवस हो ।

हाम्रो इतिहास हो, हाम्रो वर्तमान हो, अनि यो संग हाम्रो भविष्य जोडिएको छ । आज, जब हामी ७५औँ वर्षको संघारमा उभिएका छौँ, यसको महत्त्व अझ गहिरो छ । चिकित्सक हुनु केवल पेशा होइन, यो निरन्तर समर्पण, कठिन निर्णय, संवेदनशीलता र कहिलेकाहीँ आफ्नै पीडा लुकाएर अरूको जीवन जोगाउने साहस हो । अस्पतालका रातहरू, आकस्मिक कक्षका क्षणहरू र असहज समाचार सुनाउनुपर्दा हुने मौनताहरू, यी सबैले चिकित्सकलाई भित्रैबाट परिपक्व बनाउँछन् ।

यस वर्षको नेपाली चिकित्सक दिवसको सन्दर्भ भने विशेष छ । देश निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ र निर्वाचनको मौन अवधि लागू छ । यही संवैधानिक र लोकतान्त्रिक मर्यादालाई सम्मान गर्दै, नेपाल चिकित्सक संघले यस वर्ष कुनै ठूला औपचारिक वा सार्वजनिक कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको छ । यो निर्णय उत्सवबाट टाढा बस्ने कमजोरी होइन, बरू लोकतान्त्रिक मूल्य र संवैधानिक अनुशासनप्रतिको प्रतिबद्धता हो । चिकित्सकहरू समाजका सचेत नागरिक पनि हुन् भन्ने सन्देश यही मौनताले दिएको छ।

औपचारिक कार्यक्रम नगरे पनि, दिवसको अर्थ हराएको छैन। यो वर्ष फाल्गुन २० मौन प्रतिबद्धताको दिन बनेको छ । यहाँ शब्दभन्दा जिम्मेवारी ठूलो छ, यहाँ उत्सवभन्दा मर्यादा गहिरो छ। चिकित्सकहरू आफ्नो कर्तव्यमा छन्, शल्य कक्षमा मात्रै होइन, बिरामीका छेउमा पनि उभिएका छन् ।

आजको सन्दर्भमा नेपाली चिकित्सक दिवस अझै आवश्यक छ । स्वास्थ्य क्षेत्र दबाबमा छ, चिकित्सकहरू असुरक्षित छन्, निर्णयहरू कानुनी डरले घेरिएका छन्, र समाजमा अविश्वास बढ्दो छ । यस्तो बेला यो दिवसले सम्झाउँछ कि स्वास्थ्य प्रणाली केवल भवन र उपकरणले चल्दैन, विश्वास, नैतिकता र मानवताले चल्दछ । र यसको केन्द्रमा चिकित्सक हुन्छन् । फाल्गुन २० अन्ततः उत्सवभन्दा बढी आत्ममूल्याङ्कनको दिन हो । हामीले आफूलाई प्रश्न गर्ने दिन हो ।

के हामी अझै सेवामा इमानदार छौँ ? के विज्ञानसँगै संवेदनालाई पनि बचाइरहेका छौँ ? के समाजसँगको विश्वासलाई हामीले जोगाइरहेका छौँ ? ७५ वर्षअघि सुरु भएको एउटा सानो प्रयास आज राष्ट्रिय पहिचान बनेको छ । नेपाली चिकित्सक दिवस गौरवको घोषणाभन्दा पनि निरन्तर उत्तरदायित्वको सम्झना हो । सेवामा, संवेदनामा र समाजप्रतिको प्रतिबद्धतामा नेपाली चिकित्सकहरुले आफैले आफ्नो मुल्यांकन गर्ने अवसर हो । सबै नेपाली चिकित्सकहरूलाई ७५औँ नेपाली चिकित्सक दिवसको हार्दिक सम्मान।

चिकित्सक
लेखक
डा. बालकृष्ण साह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय