News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा हालसम्म करिव १ सय ६० मतदान केन्द्रले मत विवरण उपलब्ध नगराएको छ।
- जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले प्रत्येक तीन घण्टामा मतदान विवरण गुगल सिटमा भर्नुपर्ने बताए।
- गोरखा–१ मा १६ हजार र गोरखा–२ मा ११ हजार मत १२ बजेसम्म खसेको छ, तर कुल मत प्रतिशत एकीन हुन सकेको छैन।
२१ फागुन, गोरखा । जिल्लामा हालसम्म खसेको मत संख्याको एकीन विवरण संकलन हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान अधिकृतहरुले विवरण उपलब्ध गराएका छैनन् ।
‘प्रत्येक तीन घण्टामा सबै मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा महिला पुरुषको आधारमा खसेको मत गुगल सिटमा भर्नुपर्ने हो,’ कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘तर अधिकांश केन्द्रबाट त्यो अपडेट भएको छैन ।’
करिव १ सय ६० मतदान केन्द्रले हालसम्म विवरण उपलब्ध नगराएको उनले जानकारी दिए । जिल्लामा कुल २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र छन् ।
विवरण उपलब्ध नहुँदा हालसम्म खसेको मत प्रतिशत समेत एकीन गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार ती वाहेक अन्य मतदान केन्द्रबाट प्राप्त विवरण अनुसार १२ बजेसम्म गोरखा–१ मा १६ हजार र गोरखा–२ मा ११ हजार मत खसेको छ ।
गोरखा–१ को कुल मतदाता संख्या १ लाख २० हजार ५२५ रहेको छ भने गोरखा–२ मा १ लाख ८ हजार ५३३ कुल मतदाता छन् ।
नेटवर्क समस्याका कारण पनि विवरण अपलोडमा समस्या भएको हुन सक्ने सुवेदीको अनुमान छ । ‘कतै मतदान अधिकृतहरु व्यस्त भएर पनि हुन सक्छ, कतै प्रविधिमा अपडेट नभएका कारण पनि समस्या भएको हुनसक्छ,’ उनले भने ।
प्रतिक्रिया 4