२२ फागुन, काठमाडौं । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
बिहीबार भएको निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाए ।
रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा चिनिएको नाम हो । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिइन् ।
त्यसबेला नेपालमा भूमिगत र कतिपय मूल राजनीतिमा रहेका दलहरूले समेत नेपाल बन्दको घोषणा गर्थे । त्यस्तो बन्द-हड्तालले नागरिकलाई सास्ती दिएको भन्दै विरोधमा रञ्जु सडक आन्दोलनमा सक्रिय भइन् । उनको समेत सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ सञ्चालन भएको थियो ।
यसका अलावा उनी समाज सेवामा पनि सक्रिय भइन् । २०७२ सालमा महाभूकम्प गयो । त्यसपछि राहत तथा पुनर्स्थापनाको कार्यमा सक्रिय भइन् । डा. गोविन्द केसीले भ्रष्टाचारविरुद्ध अनसन बस्दा रञ्जु सहयोगी भूमिकामा देखिएकी थिइन् ।
पार्टीमा पनि उनको प्रभाव बढ्दै थियो । २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । जसमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनिन् । त्यसबेला उनी २२ वर्षकी थिइन् ।

‘काठमाडौं विश्वको सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी रञ्जुको उम्मेदवारीले ठूलो चर्चा पायो । उक्त निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरिन् र तेस्रो भइन् । त्यसबेला काठमाडौं महानगरको मेयरमा भने नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भए । त्यो चुनावले रञ्जुलाई राष्ट्रिय चर्चामा ल्यायो ।
२०७८ सालमा विवेकशीलमा आन्तरिक कलह चुलियो । रञ्जु पार्टीबाट राजीनामा दिएर केही समय स्वतन्त्र रहिन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनिन् । तर चुनाव जित्न सकिनन् । त्यसबेला उनले जम्मा ६०० मत पाएकी थिइन् ।
२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन् । रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् । रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।
प्रतिनिधिसभा सदस्य भएर सुशासनको निम्ति काम गर्ने उनको वाचा छ । सुशासन, भ्रष्टाचारविरुद्ध कडा कदम, ह्विस्टल ब्लोअर प्रोटेक्सन नीति, पारदर्शी र उत्तरदायी प्रशासन रञ्जुका प्राथमिकताका विषय हुन् ।
‘सुशासन विना विकास सम्भव छैन’ भनेर मत मागेकी उनले ‘हरित शहर र खुला स्थान’, ‘सार्वजनिक खुला स्थानको संरक्षण’, हरित क्षेत्र विस्तार’, ‘स्वच्छ, सुरक्षित र बस्नयोग्य काठमाडौं’ लगायतका नारा प्रस्तुत गरेकी छन् ।
ग्रिन काठमाडौं, हेल्दी काठमाडौं उनको अर्को प्रतिबद्धता छ ।
सुरक्षा प्रणाली सुदृढीकरण गर्ने, संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्थापनमा ध्यान दिने, आधुनिक सुरक्षा प्रणाली, सुरक्षित र व्यवस्थित शहर निर्माण गर्ने रञ्जुको वाचा छ ।
‘सुरक्षित शहर, सुरक्षित नागरिक’’ नारा दिएकी उनले ट्राफिक व्यवस्थापनमा ख्याल गर्ने भनेकी छन् । जस अन्तर्गत, वैज्ञानिक ट्राफिक व्यवस्थापन, पैदल यात्रु र साइकल लेन बनाउने गरी प्रभावकारी सार्वजनिक यातायात नीति बनाउन पहल लिने प्रतिबद्धता जनाएकी छन् । यसका अर्को उनले दिएको अर्को नारा हो – ‘सहज यात्रा, व्यवस्थित शहर’’
सुकुम्बासी समस्या समाधान गर्ने रञ्जुको अर्को वाचा छ । जस अन्तर्गत उनले सम्मानजनक आवास व्यवस्था, मानव अधिकारमैत्री पुनर्स्थापना गर्ने भनेकी छन् ।
दिगो समाधानको पहल लिने भन्दै उनले ‘सबैका लागि सम्मानजनक जीवन’ को नारा दिएकी छन् ।
मानसिक स्वास्थ्य सेवा अन्तर्गत मानसिक स्वास्थ्य नीतिको विकास, विद्यालयदेखि अस्पतालसम्म सेवा, युवा, विद्यार्थी र महिलामा केन्द्रित कार्यक्रम चलाउने भनेकी छन् ।
उद्यम र सिप विकासलाई प्राथमिकता दिने उनको अर्को योजना छ ।
साना उद्यम प्रवर्द्धन, सीप विकास कार्यक्रम, युवालाई रोजगारीका अवसर सिर्जना गर्ने भन्दै उनले नारा दिएकी छन्–’सीप र उद्यमबाट समृद्धि ।’
रञ्जुले महिला सशक्तिकरणलाई छुटाएकी छैनन् ।
महिलाका लागि उद्यम, सीप विकास र रोजगारीका अवसर विस्तार, समान राजनीतिक सहभागिता, डिजिटल पहुँच र सुरक्षामा काम गर्ने भन्दै उनले ‘सशक्त महिला, सशक्त समाज’ को सपना देखाएकी छन् ।
प्रतिक्रिया 4