News Summary
Generated by OK AI. Editorially reviewed.- कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल २४ हजार ४१८ मतान्तरले विजयी भएका छन्।
- उत्तमप्रसादले ३१ हजार ९११ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी रश्मि आचार्यले ७ हजार ४९३ मत पाएकी छिन्।
- एमालेले कास्की–२ लाई आफ्नो विरासत मान्दै बलियो प्रभाव क्षेत्र ठानेको थियो तर उत्तमप्रसादले त्यो विरासत तोडेका छन्।
२२ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमप्रसादले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् ।
५२ हजार ५ सय १९ मत खसेकोमा १ हजार ८४४ मत बदर भएको छ । रास्वपाका उत्तमप्रसादले ३१ हजार ९११ मत कास्की–२ बाट प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । यो क्षेत्रमा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १ हजार ६४३ मत प्राप्त गरे ।
राप्रपाभन्दा पछि नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ मत पाएका छन् ।
उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन् । अन्य पार्टीले भने झिनो मत प्राप्त गरे । अहिलेसम्म नेकपा एमालेले जित्दै आएको क्षेत्रमा एमालेले युवा नेता केन्द्रीय सदस्य रश्मिलाई उठाएको थियो ।
एमालेले कास्की–२ लाई आफ्नो विरासतसँग जोड्दै बलियो प्रभाव क्षेत्र मान्ने गरेको थियो । एमालेबाट सुरुमा कास्की इन्चार्ज तथा पूर्व सांसद कृष्ण थापालाई टिकट दिने निर्णय गरेको थियो । तर, थापा अलोकप्रिय रहेको भन्दै एमाले नेता कार्यकर्ताबाटै आवाज उठेपछि उनको टिकट खोसेर रश्मिलाई टिकट दिएइएको थियो ।
रश्मिलाई वैचारिक, युवा नेताका रुपमा प्रस्तुत गरिएको थियो भने ३ पटकसम्म रविन्द्र अधिकारी र २ पटकसम्म विद्या भट्टराईले जितेको बिरासत जोगाउन उम्मेदवारका रुपमा एमालेले अघि सारेको थियो ।
तर, नयाँप्रतिको लहर र पत्रकारिताको अनुभवलाई जनताको सेवामा लगाउने भन्दै मैदानमा उत्रिएका रविका निकट पात्र उत्तमप्रसादले एमालेको बिरासत तोड्दै संसदको यात्रा तय गरेका हुन् ।
प्रतिक्रिया 4