२३ फागुन, स्याङ्जा । स्याङ्जा क्षेत्रनम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. धनञ्जय रेग्मी विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार डा. रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गरेका हुन् । ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङले १६ हजार ८०४ मत पाउँदै तेस्रो स्थानमा सीमित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले भने १५५२ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक स्वतन्त्र उम्मेदवारसहित कुल १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
पुतलीबजार नगरपालिका–५ निवासी डा. रेग्मी पेसाले भूवैज्ञानिक तथा हिमनदी विज्ञ हुन् । उनले जापानको होकाइदो विश्वविद्यालयबाट सन् २००६ मा ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । हाल तालबाट जलविद्युत उत्पादन गरी पानीको स्तर व्यवस्थापन गर्ने नयाँ प्रविधिमा उनी सक्रिय रहेका छन् ।
दुई निर्वाचन क्षेत्र रहेकोमा स्याङ्जा–१ अन्तर्गत हरिनास, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, फेदिखोला गाउँपालिका, पुतलीबजार नगरपालिका तथा भीरकोट नगरपालिका–१, २, ३ र ४ साथै वालिङ नगरपालिका–३ र ४ का मतदाताले मतदान गरेका थिए ।
यस क्षेत्रमा एक लाख ३० हजार ८८६ मतदाता रहेकोमा ७० हजार ९४४ मत खसेको थियो । त्यसमध्ये २९०८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ एक स्वतन्त्र र ११ दलका उम्मेदवारसहित कुल १२ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
मतगणनाको अन्तिम नतिजासँगै स्याङ्जा–१ मा रास्वपाले प्रतिनिधिसभा सदस्यमा जित सुनिश्चित गरेको हो । डा. रेग्मीले पहिलो पटक निर्वाचन लड्दै संसदीय यात्रा तय गरेका हुन् ।
प्रतिक्रिया 4