२५ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको नतिजा लगभग सकिएको छ । समानुपातिक तर्फको मतगणना जारी छ । मतगणना यही फागुन २७ गते बिहानसम्म सक्ने निर्वाचन आयोगको लक्ष्य छ ।
समानुपातिकतर्फको समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।
निर्धारित संख्यामा समानुपातिक क्लष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी क्लष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ जना भने प्रत्यक्ष निर्वाचित हुन्छन् ।
संघीय संसद् सचिवालय पनि नयाँ सांसदहरूको व्यवस्थापनका लागि तयारीमा जुटिसकेको छ । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार नयाँ सांसदहरूलाई सिंहदरबारभित्रै संसद्को अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनमा सपथ ग्रहण गरायने तयारी छ ।

नयाँ संसद् भवन सिंहदरबारको पुतली बगैँचामा बन्दैछ ।
शहरी विकास मन्त्रालयले आगामी चैत १ गतेसम्म निर्माणधिन संसद् भवनका सम्पन्न भएका हल र भवन संसद् सचिवालयललाई हस्तान्तरण गर्ने भनेको छ ।
सिंहदरवारमा बन्दै गरेको नयाँ संसद भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।
नयाँ संसद् भवन क्षेत्रको मध्य भागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्ने बित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एकापट्टी संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एका पट्टी संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।

७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभा हल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबी छ ।
साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाइएको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।
संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैँचा र सानो चौर रहनेछ ।
प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मिल्ने पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र हुनेछ ।































प्रतिक्रिया 4