+

हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

२०८२ फागुन  २६ गते १७:२९ २०८२ फागुन २६ गते १७:२९
Shares
हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधुमेहका बिरामीहरूले हरेक तीन महिनामा एचबिएवानसी परीक्षण गराउनु आवश्यक छ, जसले विगत २ देखि ३ महिनाको औसत ब्लड शुगर स्तरको सही जानकारी दिन्छ।
  • अमेरिकन डाइबेटिज एसोसिएसनले मधुमेह व्यवस्थापनका लागि हरेक तीन महिनामा एचबिएवानसी परीक्षण गर्न सिफारिस गरेको छ।
  • समयमै र नियमित एचबिएवानसी परीक्षणले मधुमेह नियन्त्रण, जटिलता कम र जीवनको गुणस्तर सुधार गर्न मद्दत गर्छ।

आजभोलिको व्यस्त र अनियमित जीवनशैलीमा मधुमेह निकै सामान्य बनेको छ । यो समस्याले विश्वभरी नै धेरै मानिसहरुलाई प्रभावित गरिरहेको छ, र यसलाई समयमै नियन्त्रण नगरे आँखा, मिर्गौला, मुटु तथा नसाहरूमा गम्भीर जटिलता निम्त्याउन सक्छ । तर मधुमहेलाई पूर्णरूपमा उल्ट्याउन नसकिए पनि यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ र त्यसको सबैभन्दा महत्वपूर्ण हतियार हो ।

एचबिएनावसी परिक्षण एक साधारण रगत जाँच हो जसले विगत २ देखि ३ महिनाको औसत ब्लड शुगर स्तर को सही जानकारी दिन्छ । त्यसैले, मधुमेहका बिरामीहरूले नियमित रूपमा यसको परीक्षण गराइरहनुपर्छ ताकि ब्लड शुगरको स्तरको सही जानकारी प्राप्त होस् ।

ब्लड सुगर जाँचका लागि कुन परीक्षण आवश्यक छ ?

हरेक तीन महिनामा मधुमेह परीक्षण, विशेष गरी एचबिएवानसी ‘ग्लाइकोसिलेटेड हेमोग्लोबिन’ परीक्षण गराउन अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था जस्तै ‘अमेरिकन डाइबेटिज एसोसिएसन’ले सिफारिस गरेका छन् । यो परीक्षणलाई मधुमेहकने व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उपकरण मानिन्छ किनभने यसले विगत २ देखि ३ महिनाको औसत ब्लड ग्लुकोज स्तर को सही र विश्वसनीय जानकारी दिन्छ । रातो रक्त कोषिकाहरूको औसत आयु लगभग १२० दिन अर्थात् ३ महिना हुन्छ ।

यस अवधिमा रगतमा ग्लुकोजको स्तर उच्च रह्यो भने हेमोग्लोबिन प्रोटिनमा ग्लुकोज स्थायी रूपमा टाँसिन्छ जसलाई एचबिएवानसी प्रतिशतले मापन गर्छ । दैनिक फास्टिङ वा खाना खाएपछि गर्ने ब्लड शुगर जाँचले तत्कालको अवस्था मात्र देखाउँछ, तर एचबिएवानसीले दीर्घकालीन नियन्त्रणको स्पष्ट चित्र प्रस्तुत गर्छ । यसै कारणले यो परीक्षणलाई हरेक तीन महिनामा दोहोर्‍याउनु उपयुक्त मानिन्छ ।

हरेक तीन महिनामा मधुमेह परीक्षण किन गराउन सल्लाह दिइन्छ ?

मधुमेह भएका बिरामीहरूको लागि उपचार योजना प्रभावकारी छ कि छैन भन्ने कुरा चाँडै थाहा पाउन यो तीन महिनाको अन्तराल धेरै उपयोगी हुन्छ । यदि एचबिएवानसी स्तर लक्ष्यभन्दा उच्च छ भने डाक्टरले औषधिको मात्रा बढाउन, नयाँ औषधि थप्न, इन्सुलिन सुरु गर्न वा आहार, व्यायाम तथा जीवनशैलीमा परिवर्तन सिफारिस गर्न सक्छन् ।

यो परिवर्तनको प्रभाव हेर्न पनि तीन महिना पर्याप्त समय हुन्छ, किनकि एचबिएवानसीले पुरानो अवस्थालाई प्रतिबिम्बित गर्छ र नयाँ उपचारले गरेको सुधारलाई देखाउन समय लाग्छ ।

यदि बिरामीको अवस्था स्थिर छ र एसबिएवानसी लक्ष्यमा पुगेको छ भने परीक्षणलाई ६ महिनामा एक पटक पनि गर्न सकिन्छ, तर धेरैजसो अवस्थामा विशेष गरी उपचार परिवर्तन भएका वा नियन्त्रण कमजोर भएका बिरामीहरूमा तीन महिनामा जाँच गर्नु अनिवार्यजस्तै मानिन्छ । यसले समयमै समस्या पत्ता लगाई उपचार समायोजन गर्न मद्दत गर्छ।

यति मात्र होइन, हरेक तीन महिनामा ब्लड शुगरको स्तर जाँच गर्दा यो थाहा हुन्छ कि औषधिबाट बिरामीको स्वास्थ्य ठीक छ कि छैन । लामो समयसम्म ब्लड सुगर नियन्त्रणमा नरहेमा आँखा, मिर्गौला र मुटुमा नकारात्मक प्रभाव पर्न सक्छ । यसबाट बच्न पनि ब्लड शुगरको जाँच आवश्यक हुन्छ ।

हरेक तीन महिनामा मधुमेह परीक्षण गराउँदा फाइदाहरू

उपचारको प्रभावको जानकारीः एचबिएवानसी परीक्षणबाट औषधि प्रभावको सही जानकारी प्राप्त हुन्छ । यसबाट थाहा हुन्छ बिरामीले आफ्नो आहार वा जीवनशैलीमा कुनै परिवर्तन गर्नुपर्छ कि पर्दैन ।

लामो समयका रोगहरूबाट बचावः एचबिएवानसी परीक्षण गराउँदा लामो समयमा हुने रोगहरूको जोखिम कम गर्न सकिन्छ । जानकारीका लागि भन्नुपर्दा, डायबिटिजको औषधिले शरीरका अंगहरू जस्तै मिर्गौलालाई प्रभावित गर्न सक्छ । यस्तोमा यी समस्याको जोखिमबाट बच्न परिक्षण महत्वपूर्ण हुन्छ ।

बिरामीको अवस्थामा निगरानीः एचबिएवानसी परीक्षणबाट बिरामीको स्वास्थ्यको रेकर्ड राख्न सकिन्छ । विशेष गरी, प्री–डायबिटिक बिरामीहरूले यो परीक्षण अवश्य गराउनुपर्छ, ताकि थाहा होस् महुमेहको समस्या भएको छ कि छैन भनेर ।

ध्यान दिनुपर्ने कुरा

मधुमेह दिर्घकालीन रोग हो जसको स्थायी उपचार छैन, तर राम्रो व्यवस्थापनबाट सामान्य जीवन जिउन सकिन्छ । यसका लागि एचबिएवानसी परीक्षण मात्र होइन, दैनिक घरेलु ग्लुकोमिटर जाँच, नियमित आँखा÷मिर्गौला÷खुट्टा जाँच तथा डाक्टरसँग निरन्तर परामर्श पनि आवश्यक छ ।

व्यक्तिगत अवस्थाअनुसार लक्ष्य एचबिएवानसी फरक हुन सक्छ ‘जस्तै वृद्ध वा अन्य रोग भएकाहरूमा ७.५–८ प्रशित पनि स्वीकार्य हुन सक्छ’ त्यसैले आफ्नो डाक्टरसँग छलफल गरी नियमित जाँच गराउनु उत्तम हुन्छ ।

समयमै र नियमित एचबिएवानसी परीक्षणले मधुमेहलाई नियन्त्रणमा राख्न, जटिलताहरू कम गर्न र जीवनको गुणस्तर उच्च बनाउन ठूलो भूमिका खेल्छ ।

मधुमेह
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय