News Summary
Generated by OK AI. Editorially reviewed.- प्यानक्रियाजले खाना पचाउने इन्जाइम र रगतमा सुगर सन्तुलन गर्ने हर्मोन उत्पादन गर्छ।
प्यानक्रियाजलाई नेपालीमा अग्न्याशय पनि भनिन्छ । यो हाम्रो शरीरमा पेटको पछाडि रहेको एउटा महत्वपूर्ण ग्रन्थी हो । यो पेटको पछाडि, कलेजो, आमाशय, सानो आन्द्राका पहिलो र दोश्रो खण्ड पित्तथैली र फियोबाट घेरिएको हुन्छ ।
प्यानक्रियाज एक लामो, चेप्टो आकारको अंग हो जसको लम्बाई सामान्यतया १५ सेन्टिमिटरको हुन्छ । यो चेपागाँडा जस्तो वा टाउको, गर्दन, शरीर र पुच्छर भएको लाम्चो देखिन्छ । यसको बाहिरी बनावट मकैको घोगाजस्तो हुन्छ । यसको रङ पहेँलो–गुलाबी हुन्छ र यो नरम तथा स्पन्ज जस्तो हुन्छ । यसमा स–साना थैलीहरू हुन्छन् जसले यसलाई स्पष्ट भागहरूमा विभाजित गर्छ ।
यो अंगले खाना पचाउने इन्जाइमहरू उत्पादन गरेर पोषक तत्वहरू अवशोषणमा सहयोग गर्छ र इन्सुलिन जस्ता हर्मोनहरू स्रावित गरेर रगतमा सुगरको स्तरलाई सन्तुलित राख्छ।
के काम गर्छ, कसरी गर्छ ?
प्यानक्रियाजका दुई मुख्य कार्यहरू छन् एक्जोक्राइन र इन्डोक्राइन । एक्जोक्राइन कार्यमा यसले पाचन इन्जाइमहरू जस्तै एमाइलेज (कार्बोहाइड्रेट पचाउने), लाइपेज (बोसो पचाउने) र ट्रिप्सिन (प्रोटिन पचाउने) उत्पादन गर्छ ।
यी इन्जाइमहरू दैनिक १ देखि ४ लिटरसम्मको प्यानक्रियाटिक जुसमा मिसिएर प्यानक्रियाटिक डक्ट मार्फत् सानो आन्द्रामा पुग्छन् र खानालाई सानो टुक्रामा टुक्रयाउँछन् ताकि शरीरले पोषक तत्वहरू अवशोषण गर्न सकोस् । यसले बाइकार्बोनेट पनि उत्पादन गर्छ जसले आन्द्रामा अम्लता नियन्त्रण गर्छ ।
इन्डोक्राइन कार्यमा यसले हर्मोनहरू जस्तै इन्सुलिन ब्लड सुगर घटाउने, ग्लुकागन ब्लड सुगर बढाउने, सोमाटोस्टाटिन अन्य हर्मोनहरूको स्राव नियन्त्रण गर्ने र प्यानक्रियाटिक पोलिपेप्टाइड पाचन नियन्त्रक हर्मोन गर्ने उत्पादन गर्छ । यी हर्मोनहरू सिधै रगतमा स्रावित हुन्छन् र ब्लड सुगर स्तरलाई सन्तुलित राख्छन् । प्यानक्रियाजका प्यानक्रियाटिक आइलेट्समा रहेका विशेष कोषहरू जस्तै बिटा कोषहरू इन्सुलिन, अल्फा कोषहरू ग्लुकागन, डेल्टा कोषहरू सोमाटोस्टाटिनले यी हर्मोनहरू बनाउँछन् । यसरी, यो अंगले खाना पचाउने र ऊर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ ।
यसमा देखा पर्ने समस्या के के हुन् ?
प्यानक्रियाजमा विभिन्न प्रकारका समस्याहरू हुन सक्छन् । जसमा मुख्य एक्युट वा क्रोनिक प्यानक्रियाटाइटिसले सूजन जसले पेट दुखाइ, वाकवाकी, उल्टी, ज्वरो र पाचन समस्या निम्त्याउछ । यो अंग पाचन र रगतको चिनी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले, यसमा समस्या आएमा खाना पच्न नसक्ने, तौल घट्ने, डायबिटिज र गम्भीर जटिलताहरू निम्तिन सक्छन् ।
१. एक्युट प्यानक्रियाटाइटिस्
यो अचानक र तीव्र सुन्निने समस्या हो । यो धेरै पटक आपतकालीन अवस्था बन्छ । एक्युट प्यानक्रियाटाइटिसको कारणहरूमा गलस्टोन (पित्त थैलीको ढुंगा), अत्यधिक मदिरा सेवन, उच्च ट्राइग्लिसराइड स्तर, केही औषधि वा संक्रमण हुन सक्छ ।
लक्षणहरू
-माथिल्लो पेटमा जोरले दुखाइ हुन्छ, जुन पछाडि सर्छ ।
-उल्टी, ज्वरो, पेट फुल्ने, दुखाइले खान नसक्ने ।
-गम्भीर भएमा श्वासप्रश्वास समस्या, रक्तचाप घट्ने, कजयअप सम्म पुग्न सक्छ ।
२. क्रोनिक प्यानक्रियाटाइटिस
यो लामो समयसम्म सुन्निने समस्या हो । जसले प्यानक्रियाजलाई स्थायी रूपमा बिगार्छ । क्रोनिक प्यानक्रियाटाइटिस बारम्बार तीव्र पेट दुखाइ वा लामो समयसम्म मदिरा सेवनबाट यसले तौल घट्ने हुन्छ । पोषण कमी गराउँछ । यसको मुख्य कारण लामो समयको रक्सी र चुरोट सेवन र बारम्बार एक्युट प्यानक्रियाटाइटिस हो । साथै वंशाणुगत कारणले पनि यो समस्या हुन सक्छ ।
लक्षणहरू
-बारम्बार वा निरन्तर पेट दुखाइ ।
-खाना नपच्ने, तेलयुक्त र दुर्गन्धयुक्त दिसा ।
-तौल घट्ने, कुपोषण ।
-पछि इन्सुलिन उत्पादन घटेर मधुमेह हुन सक्छ ।
प्यानक्रियाजमा देखा पर्ने अन्य समस्या
एक्युट प्यानक्रियाटाइटिस र क्रोनिक प्यानक्रियाटाइटिस बाहेक प्यानक्रियाजमा देखा पर्ने अन्य मुख्य समस्याहरूमा प्यानक्रियाटिक क्यान्सर सबैभन्दा खतरनाक रोग हो, जसमा प्यानक्रियाजको कोषहरू अनियन्त्रित रूपमा बढेर ट्युमर बन्छन् । यो प्रायः ढिलो पत्ता लाग्ने भएकाले उपचार गर्न गाह्रो हुन्छ र लक्षणहरू जस्तै पेट दुखाइ, जन्डिस आँखा र छाला पहेँलो हुने, तौल घट्ने, भोक नलाग्ने आदि देखिन्छन् ।
अर्को महत्वपूर्ण समस्या भनेको प्यानक्रियाटिक सिस्ट हो । जसमा प्यानक्रियाजमा पानी जम्मा हुने थैली वा विभिन्न प्रकारका सिस्टिक नियोप्लाज्म बन्छन् यीमध्ये केही सौम्य हुन्छन् भने केही क्यान्सरमा बदलिन सक्छन् ।
प्यानक्रियाटिक न्यूरोएन्डोक्राइन ट्युमर अर्को दुर्लभ तर महत्वपूर्ण समस्या हो, जुन हर्मोन उत्पादन गर्ने कोषबाट उत्पन्न हुन्छ । केहीले अत्यधिक हर्मोन निकालेर रगतमा चिनी घट्ने, पेटमा अल्सर जस्ता समस्या निम्त्याउँछन् भने केहीले कुनै लक्षण नदेखाई बढ्छन् ।
अटोइम्यून प्यानक्रियाटाइटिस् भने शरीरको प्रतिरक्षा प्रणालीले नै प्यानक्रियाजमा आक्रमण गर्दा हुने समस्या हो, जसले क्यान्सर जस्तै देखिन सक्छ र स्टेरोइड औषधिले राम्रोसँग नियन्त्रण गर्न सकिन्छ ।
यसबाहेक ‘हेरेडिटरी प्यानक्रियाटाइटिस’ वंशाणुगत कारणले बारम्बार प्यानक्रियाज सुन्निने, ‘सिस्टिक फाइब्रोसिस’ जन्मजात रोगले प्यानक्रियाजको नली बन्द हुने, ‘प्यानक्रियाज डिभिजम’ जन्मजात नलीको असामान्य संरचना रहनुले पनि हुन्छ । ‘एक्जोक्राइन प्यानक्रियाटिक इन्सफिसियन्सी’एन्जाइम कम बन्दा खाना नपच्ने र ‘प्यानक्रियाटिक इन्सफिसियन्स’ जस्ता समस्याहरू पनि देखिन सक्छन् । यी सबैले खाना पच्न नसक्ने, डायबिटिज निम्त्याउने, वजन घट्ने वा अन्य जटिलताहरू ल्याउन सक्छन् ।
सामान्य लक्षण जसले प्यानक्रियाजमा समस्या रहेको संकेत गर्छ
–माथिल्लो पेट दुखाइ ।
–बारम्बार उल्टी, वजन घट्ने ।
–तेलयुक्त दिसा, जन्डिस ।
–नयाँ वा बिग्रिएको डायबिटिज ।
यी समस्याहरूको लक्षण देखिएमा ढिलो नगरी चिकित्सककहाँ गएर अल्ट्रासाउन्ड, सीटी स्क्यान, एमआरआई वा अन्य परीक्षण गराउनु आवश्यक छ, किनकि प्रारम्भिक चरणमा पत्ता लागेमा उपचार प्रभावकारी हुन्छ । रक्सी–चुरोट छोड्ने, स्वस्थ खानपान र नियमित जाँचले धेरै जोखिम कम गर्न सकिन्छ ।
स्वस्थ राख्न के कुरामा ध्यान दिने ?
प्यानक्रियाजलाई स्वस्थ राख्न स्वस्थ आहार महत्वपूर्ण हुन्छ । त्यसैले तरकारी, फलफूल पूर्णअनाज, कम बोसोयुक्त प्रोटिन र कम चिनीयुक्त खाना खानुपर्छ । प्रशोधित खाना, उच्च बोसोयुक्त भोजन र अत्यधिक चिनी कम गर्नुपर्छ जसले मोटोपन र मधुमेहको जोखिम घटाउँछ ।
प्यानक्रियाजलाई स्वास्थ्य राख्न रक्सी सेवन कम गर्नुपर्छ । अत्यधिक मदिराले प्यानक्रियाटाइटिस निम्त्याउन सक्छ । साथै धुम्रपानले क्यान्सरको जोखिम तीन गुणा बढाउँछ, त्यसैले यसलाई पूर्णरूपमा त्याग्नुपर्छ । धुम्रपान छोड्दा जोखिम घट्छ ।
प्यानक्रियाजलाई स्वस्थ राख्न तौल नियन्त्रण पनि महत्वपूर्ण हुन्छ । मोटोपनले मधुमेह र क्यान्सरको जोखिम बढाउँछ, त्यसैले नियमित व्यायाम गर्नुपर्छ । नियमित स्वास्थ्य जाँचबाट समस्याहरू प्रारम्भमा पत्ता लग्छ र गम्भीर हुने जोखिम कम हुन्छ । त्यसैले प्यानक्रियाजको अवस्था थाहा पाउन समय समयमा ब्लड सुगर जाँच, ट्राइग्लिसेराइड स्तर जाँच र परिवारमा इतिहास भएमा जेनेटिक परीक्षण वा वार्षिक अल्ट्रासाउन्ड गर्न सकिन्छ ।
प्यानक्रियाजलाई स्वस्थ राख्न हाइड्रेट रहनुपर्छ । जसका लागि दैनिक पर्याप्त पानी पिउने र समग्र स्वस्थ जीवनशैली अपनाउनुपर्छ । उच्च ट्राइग्लिसराइड वा क्याल्सियम स्तर नियन्त्रणमा राख्नु पनि आवश्यक छ।
समग्रमा, प्यानक्रियाज हाम्रो पाचन प्रणाली र शरीरको ऊर्जा सन्तुलनका लागि अत्यन्तै महत्वपूर्ण अङ्ग हो । त्यसैले यसको बारेमा जानकारी राख्नु, लक्षणलाई बेवास्ता नगर्नु र स्वस्थ जीवनशैली अपनाउनु नै यसको सुरक्षाको मुख्य उपाय हो ।
प्रतिक्रिया 4