News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनको बार्सिलोना शहरमा अप्रिल ५ देखि ९ तारिखसम्म पाँच दिने आध्यामिक महोत्सव आयोजना गरिने भएको छ।
- गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले महोत्सव नेपाल घर निर्माणको दीर्घकालीन लक्ष्यसहित आयोजना गरिएको बताए।
- महोत्सवका लागि हालसम्म ९ हजार युरोभन्दा बढी आर्थिक प्रतिबद्धता आइसकेको र विभिन्न उपसमितिहरू सक्रिय रूपमा काम गरिरहेको जानकारी दिइएको छ।
बार्सिलोना । स्पेनको इतिहासमै पहिलोपटक ५ दिने आध्यामिक महोत्सव आयोजना हुने भएको छ ।
नेपाली समुदायको बाक्लो उपस्थिति रहेको बार्सिलोना शहरमा आगामी अप्रिल ५ देखि ९ तारिखसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।
पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले आइतबार बार्सिलोनामा आयोजित पत्रकार सम्मेलनमार्फत दिएको हो।
एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले ‘नेपाल घर’ निर्माणको दीर्घकालीन लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताए।
‘स्पेनमा नेपाली समुदायको संख्या उल्लेख्य रूपमा बढेको छ।यस्तो अवस्थामा ‘नेपाल घर’ निर्माण अहिलेको आवश्यकता हो,’ उनले भने, ‘यसका लागि सबैले आ-आफ्नो तर्फबाट सानो-सानो सहयोग गर्दै हातेमालो गर्न आग्रह गर्दछु।’
संघका प्रवक्ता रमेश खनालका अनुसार महोत्सवका लागि हालसम्म ९ हजार युरोभन्दा बढी आर्थिक प्रतिबद्धता आइसकेको छ।
उनले महोत्सव व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू सक्रिय रूपमा काम गरिरहेको पनि जानकारी दिए।
पत्रकार सम्मेलनका क्रममा धार्मिक महोत्सवहरूमा ठूलो रकम प्रतिबद्धता आउने तर संकलनमा चुनौती हुने विषयमा उठेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष श्रेष्ठले यस विषयमा आफू सचेत रहेको बताए।
‘स्पेनमा ‘नेपाल घर’ निर्माण अत्यन्त आवश्यक परियोजना हो। यहाँका नेपालीहरूले गरेको प्रतिबद्धता पूरा गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु,’ उनले भने।
महोत्सवमा स्पेनका विभिन्न शहरहरूबाट नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ।
प्रतिक्रिया 4