+
+
Shares

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई बचतको साटो सेयर दिइने

निक्षेप फिर्ता गर्न पनि बैंक पुन: सञ्चालन आवश्यक 

कर्णाली डेभलपमेन्ट बैंक पुन: सञ्चालनका लागि आवश्यक पूँजी जुटाउन केन्द्रीय बैंकले बचतकर्तालाई नै सेयरधनी बनाउने प्रक्रिया सुरु गरेको हो । 

भुवन पौडेल भुवन पौडेल
२०८२ चैत १८ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई सेयरधनी बनाउने प्रक्रिया सुरु गरेको छ।
  • बैंकको सम्पत्तिभन्दा दायित्व करिब २५ प्रतिशत बढी छ र निक्षेपकर्तालाई सबै पैसा फिर्ता दिन नसकिने अवस्था छ।
  • सेयरमा रूपान्तरण गर्दा प्रतिसेयर मूल्य १ सय रुपैयाँ हुनेछ र पूँजी नपुगेमा स्वदेशी वा विदेशी लगानीकर्ताबाट पूँजी जुटाइने योजना छ।

१८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई सेयरधनी बनाउने भएको छ ।

यो बैंक पुन: सञ्चालनका लागि आवश्यक पूँजी जुटाउन केन्द्रीय बैंकले बचतकर्तालाई नै सेयरधनी बनाउने प्रक्रिया सुरु गरेको हो ।

केन्द्रीय बैंकको निणन्त्रणमा रहेको कर्णाली बैंकको सम्पत्तिभन्दा दायित्व करिब २५ प्रतिशत धेरै छ । संस्थालाई विगठन गरेर सम्पत्ति दायित्व राफसाफ गर्न पनि नमिल्ने भएपछि पुन: सञ्चालनको योजनामा केन्द्रीय बैंक पुगेको हो ।

त्यसका लागि केन्द्रीय बैंक सञ्चालक समितिले निर्णय गरेर नेपाल धितोपत्र बोर्डलाई समेत सहजीकरणका लागि अनुरोध गरेको छ ।

बचतकर्तालाई सेयरधनी बनाउने प्रक्रियाका सन्दर्भमा धितोपत्र बोर्डको स्वीकृति आवश्यक हुन्छ । बोर्डको अनुमति लिन आवश्यक निर्णयका लागि छलफल भइरहेको राष्ट्र बैंकबाट गएको व्यवस्थापन समितिका संयोजक टीकाराम खतिवडाले बताए ।

‘बैंकमा निक्षेप र सम्पत्तिको मिसम्याच छ,’ खतिवडाले भने, ‘अहिले ४ अर्ब ३० करोड निक्षेप र सम्पत्ति ३ अर्ब ६५ करोड जति छ ।’

बैंकको सम्पत्ति सबै व्यवस्थापन गर्दा पनि बचतकर्तालाई दिन नपुग्ने उनले बताए । साथै, बैंकको कर्जाको गुणस्तर पनि कमजोर रहेको उनले बताए ।

‘सुपरभाइजरी हेयरकट’ हेर्दा पनि निक्षेपकर्तालाई सबै पैसा दिन नसकिने उनको भनाइ छ । त्यसैले निक्षेपकर्तालाई सुरक्षित गर्ने आधार भनेको संस्था पुन: सञ्चालन नै रहेको उनको भनाइ छ । ‘हालको सम्पत्ति बिक्री गर्दा करिब–करिब २५ प्रतिशत निक्षेपकर्ताले पैसा पाउँदैनन्,’ उनले भने ।

संस्था पुन: सञ्चालनमा ल्याई बचतकर्ताको पैसा फिर्ता दिन निक्षेपकर्तालाई सेयरधनी बनाउनुपर्ने उनको भनाइ छ । संस्थाको पूँजी लगानी थप गर्नुपर्ने भएकाले नयाँ विकल्पका रूपमा निक्षेपकर्ताको पैसालाइ सेयरमा रूपान्तरण गर्ने प्रस्ताव अघि बढाएको उनले बताए ।

‘केन्द्रीय बैंकले तोकेको पूँजी पुर्‍याउन, सेयर जारी गर्न दुई वटा विकल्पमा काम गरिरहेका छौं, निक्षेपकर्तालाई आफ्नो निक्षेप बराबर वा कम निक्षेपकर्ताले चाहे अनुसार लिन सक्ने व्यवस्था गरेर पूँजी जुटाउन खोजिएको हो, प्रारम्भिक सर्वे गर्दा निक्षेपकर्ताहरू राजी भएको अवस्था छ,’ खतिवडाले भने ।

यसरी सेयरमा रूपान्तरण गर्दा प्रतिसेयर १ सय रुपैयाँ हुने उनले बताए । राष्ट्र बैंकले तोकेको पूँजी निक्षेपकर्ताबाट आएको पैसाले नपुगेको खण्डमा स्वदेशी वा विदेशी, इच्छुक लगानीकर्तालाई सेयर बिक्री गर्ने उनको भनाइ छ ।

‘अपचलनमा संलग्न संस्थापक र साधारण सेयरधनीको सेयर घटाइसक्यौं, उनीहरूको प्रतिकित्ता सेयर मूल्य १ रुपैयाँमा झारेका छौं, अर्थात १ सय कित्ता सेयर भएको व्यक्तिको १ कित्तामा झारेका छौं,’ उनले भने, ‘अहिलेको ५० करोड पूँजीमा २३ करोड घटाइदिएका छौं, त्यो घटाइसकेपछि २७–२८ करोडको क्यापिटल बाँकी छ, अब चुक्ता पूँजी कायम गर्ने तथा अहिलेको दायित्व व्यवस्थापन गरेर संस्था सञ्चालन गर्न ४ अर्ब बढी पूँजी चाहिन्छ, त्यसका लागि बचतकर्ता र लगानीकर्ताबाट लगानी ल्याउने योजना छ ।’

हाल बैंकको सेयर संरचना संस्थापन पक्षको ५१ र सर्वसाधारण ४९ प्रतिशत हो । पुन: सञ्चालनपछि बैंकको सेयर संरचना ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणको बनाइने उनले बताए  ।

राष्ट्र बैंक ऐन २०५८ अनुसार काम गर्दै आएको र सेयरतर्फ काम गर्दा धितोपत्र बोर्डको स्वीकृति आवश्यक हुने खतिवडाले बताए ।

धितोपत्र बोर्डले पनि हालसम्म नगरेको अभ्यास केन्द्रीय बैंकले गर्न खोजेको भन्दै कसरी गर्न सकिन्छ भनेर छलफल गरिराखेको बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले बताए ।

‘कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताको निक्षेप सेयरमा रूपान्तरण गर्ने सन्दर्भमा बोर्ड र केन्द्रीय बैंकबीच छलफल चलिरहेको छ,’ उनले भने, ‘कानुनमा स्पष्ट व्यवस्था नहुँदा कसरी जाने भन्ने छ, त्यसका लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली सहित केही निर्देशिका संशोधन आवश्यक हुन सक्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?