+

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

२०८२ चैत  २० गते १३:३१ २०८२ चैत २० गते १३:३१

नेपालको सन्दर्भमा बाल क्यान्सरका बिरामीमध्ये करिब एक तिहाइले मात्र उपचार पूरा गर्ने अवस्था देखिन्छ । धेरैजसो केसमा या त क्यान्सर समयमै पहिचान हुँदैन या उपचार सुरु नै गरिँदैन ।

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेस क्षेत्रमा बाल क्यान्सर उपचारमा लैंगिक विभेद, गरिबी र पारिवारिक असहयोग मुख्य कारण हुन्, जसले छोरीको उपचारमा बाधा पुर्‍याउँछ।
  • नेपालमा बाल क्यान्सर उपचार बीचमै छोड्ने दर करिब ३० प्रतिशत छ, जसमा छोरीको उपचार बीचैमा छाड्ने प्रवृत्ति धेरै छ ।
  • सरकारले १४ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार सुरु गरेपछि उपचारमा सुधार हुँदैछ ।

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा ५ वर्षीया बालिकालाई भर्ना गरियो । उनलाई रक्त क्यान्सर भएको थियो । छोरीलाई क्यान्सर भएको थाहा पाएपछि थप उपचार गर्न आनाकानी गरे उनका परिवारले ।

अनौठो त के भने, उनीहरूले छोरीको थप उपचार गर्न नचाहनुमा घरको आर्थिक अवस्था कमजोर भएर मात्र होइन सानो छोराको पनि निहुँ बनाए । छोरीलाई उपचार गर्ने क्रममा डेढ वर्षको छोरोको हेरचाह राम्ररी हुँदैन भन्ने बुझाइ थियो ।

त्यसो त छोरा र छोरीबीचको विभेद यतिमा सीमित छैन । छोरालाई रोग लागे जसरी पनि उपचार गर्न खोज्ने परिवार छोरीको हकमा त्यति जाँगर देखाउँदैनन् । खासगरी क्यान्सर जस्तो जटिल र खर्चिलो रोगमा यस्तो विभेद देखिएको चिकित्सकहरू बताउँछन् ।

यो कुनै एक व्यक्तिको मात्र कथा होइन । समग्र मधेसको कथा हो । बाल क्यान्सर रोग विशेषज्ञ डा. निभा तिवारीले यस्ता थुप्रै घटना व्यहोरेकी छिन् । उनी भन्छिन्, ‘छोरीलाई क्यान्सर लागेमा उपचार गर्न चाहँदैनन् । यसको कारण गरिबी मात्र होइन मानसिकता पनि हो ।’

कतिपय घटनामा के पनि देखिएको छ भने यसले श्रीमान र श्रीमतीबीच नै फाटो ल्याएको छ । जस्तो ८ वर्षीया रिया (नाम परिवर्तन) लाई क्यान्सर भयो । छोरीलाई क्यान्सर भएपछि श्रीमानले उपचार गर्दै नगर्ने भनी जिद्दी गरे । ‘छोरीको उपचारमा पैसा सक्ने भए मलाई पनि श्रीमान नभन्नू’ उनले श्रीमतीलाई यही भने ।

डा. निभा तिवारी ।

हाम्रो समाजमा बाल क्यान्सरको उपचार छाड्ने मुख्य कारणहरूमा लैंगिक विभेद, गरिबी र पारिवारिक असहयोग भएको बाल क्यान्सर रोग विशेषज्ञ डा. तिवारी बताउँछिन् ।

‘धेरैजसो केसमा पारिवारिक सहयोगको अभाव हुन्छ’ उनी सुनाउँछिन्, ‘घरमा सानो बच्चा हुन्छन् , श्रीमान्÷परिवारले साथ दिँदैनन् र उपचारमा लामो समय लाग्ने भएकाले आमालाई सबै बोझ पर्न जान्छ ।’

छोरी भएमा उपचार नगरे पनि हुन्छ जस्तो सोच राख्ने र छोरा भएमा बढी ध्यान र लगानी गर्ने प्रवृत्ति आफूले देखेको डा. तिवारीको भनाइ छ ।

‘क्यान्सर रोग पीडित छोरा भएमा परिवारले बढी मेहेनत गर्ने गरेको हामीले देखेका छौं’ उनी भन्छिन्, ‘यो समाजको गहिरो जरा गाडेको पितृसतात्मक सोचको उपज हो । यसले छोरीको स्वास्थ्यलाई कम महत्व दिन्छ ।’

उपचार बीचैमा छाड्ने मुख्य कारण भने गरिबी र आर्थिक समस्या नै रहेको डा. तिवारी बताउँछिन् । ‘अहिले विभिन्न कार्यक्रमले औषधि नि:शुल्क गरेको छ, त्यसैले यो कम भएको छ’ डा. तिवारी भन्छिन्, ‘तर यात्रा, बसाइ, खाना जस्ता अप्रत्यक्ष खर्चले पनि समस्या परिरहेको छ ।’

नेपालमा बाल क्यान्सर उपचारमा लैंगिक विभेद कम गर्न र परिवारलाई सहयोग गर्न सचेतना, परामर्श र सामुदायिक सहयोग बढाउन आवश्यक रहेको डा. तिवारी बताउँछिन् ।

यदि यस्ता सहयोग मिल्यो भने उपचार निरन्तर राख्न सकिने उनको भनाइ छ ।

बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु लामिछानेका अनुसार नेपालको सन्दर्भमा बाल क्यान्सरका बिरामीमध्ये करिब एक तिहाइ बालबालिकाले मात्र उपचार पूरा गर्ने अवस्था देखिन्छ । धेरैजसो केसमा या त क्यान्सर समयमै पहिचान हुँदैन, या उपचार सुरु नै गरिँदैन ।

उपचार सुरु गरेपछि पनि बीचमै छाड्ने प्रवृत्ति देखिन्छ । विशेषगरी नेपालजस्ता निम्न आय भएका देशमा उपचार बीचमै छोड्ने दर करिब ३० प्रतिशतसम्म पुग्ने बताइन्छ ।

डा. ऋतु लामिछाने ।

यसको मुख्य कारण आर्थिक अवस्था कमजोर हुनु, उपचार केन्द्रसम्म पुग्न भौगोलिक कठिनाइ हुनु, प्रभावकारी रेफरल प्रणालीको अभाव हुनु तथा बाल क्यान्सरमा विशेषज्ञको कमी हुनु हो । यसका साथै सामाजिक र सांस्कृतिक कारणले पनि ठूलो प्रभाव पार्ने डा. लामिछाने बताउँछिन् ।

नेपाली समाजमा अझै पनि छोरालाई प्राथमिकता दिने प्रवृत्ति देखिन्छ, जसका कारण छोरीहरू उपचारसम्म पुग्न वा उपचार निरन्तर गर्नमा पछाडि पर्ने अवस्था रहेको उनले बताइन् ।

उपलब्ध तथ्यांकअनुसार छोरीको उपचार बीचमै छोड्ने दर करिब ३१ प्रतिशतसम्म पुग्दा छोराको हकमा यो करिब २५ प्रतिशत जति देखिन्छ । अभिभावकहरूले क्यान्सरको उपचार महँगो हुने धारणा राख्ने भएकाले सीमित स्रोत भएका परिवारले छोरीको उपचारमा लगानी गर्न हिच्किचाउने प्रवृत्ति पनि देखिन्छ ।

डा. लामिछानेका अनुसार बाल क्यान्सर धेरै अवस्थामा निको हुन सक्ने रोग भए पनि जनचेतनाको अभाव, ढिलो अस्पताल पुग्ने अवस्था, खर्चको डर र सामाजिक धारणाले उपचार प्रक्रियामा बाधा पुर्‍याइरहेका छन् ।

धेरै परिवार उपचार सुरु गर्नु अघि वा निदानपछि पनि खर्च र पारिवारिक सल्लाहका कारण अस्पतालबाट फर्किने वा केही समय हराउने गरेका उदाहरणहरू भेटिन्छन् । कतिपय अवस्थामा डाक्टरहरूले आफैं फोन गरेर बिरामीलाई पुनः बोलाउनुपर्ने, दाता खोज्नुपर्ने तथा अस्पताल प्रशासनसँग सहुलीयतका लागि पहल गर्नुपर्ने अवस्था पनि आउने गरेको उनले अनुभव सुनाइन् ।

विशेष गरी हड्डीको क्यान्सर जस्ता अवस्थामा शल्यक्रिया गर्नुपर्दा खुट्टा काट्नुपर्ने डरले पनि अभिभावकहरू उपचार गर्न हिच्किचाउने गर्छन्, जसले गर्दा कतिपय बिरामी उपचार बीचमै छोडेर जाने गरेका छन् ।

यद्यपि अहिले सरकारले १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार उपलब्ध गराउन सुरु गरेपछि अवस्था बिस्तारै सुधार हुँदै गएको उनको भनाइ छ ।

डा. लामिछानेका अनुसार चिकित्सकको भूमिका औषधि उपचारमा मात्र सीमित नभई जनचेतना बढाउने, अभिभावकलाई मनोवैज्ञानिक रूपमा सहयोग गर्ने र सामाजिक तथा आर्थिक अवरोध हटाउन समुदायस्तरमा काम गर्ने पनि हो । त्यसैले बाल क्यान्सरका बिरामी विशेष गरी छोरीहरूका लागि समान उपचार अवसर सुनिश्चित गर्न स्वास्थ्य सेवा सुदृढीकरण, सामाजिक सचेतना र समुदायस्तरको सहयोग अझै बढाउन आवश्यक रहेको उनले जोड दिइन्।

तराईबाट आउने परिवारमा छोरीभन्दा छोराको उपचारप्रति बढी प्रतिबद्धता देखिन्थ्यो

डा. अञ्जली पण्डित, बाल क्यान्सर रोग विशेषज्ञ

२०११ मा म कान्ति अस्पतालको क्यान्सर विभागमा मेडिकल अफिसरको रूपमा काम गर्दा गर्थेँ । त्यो बेला बाल क्यान्सरका बिरामीहरूमा छोरा र छोरीप्रति स्पष्ट भेदभाव देखिन्थ्यो । धेरैजसो तराई क्षेत्रबाट आउने परिवारहरूले छोरीलाई क्यान्सर देखिँदा उपचार गर्ने कुरामा कन्जुस्याइँ गर्थे । उपचारमा ६ महिना देखि २ वर्षसम्म लाग्न सक्छ । लामो समयसम्म काठमाडौंमा बस्न नसक्ने, अन्य बच्चा वा घरको गाईभैंसी तथा खेतीको समस्या हुने, आर्थिक भार आदि कारण देखाएर उपचार नगरी फिर्ता लैजान्थे ।

तर छोरा भएमा उही परिवारहरूले जतिसुकै समय लागे पनि बस्न र उपचार तयार हुन्थे । उपचार पूरा गरेर बच्चालाई निको बनाएर लैजान्थे । सरकारी अस्पताल भएकाले खर्च कम लाग्ने भए पनि छोरीको हकमा यो प्रवृत्ति निकै प्रबल थियो ।

२०१५ मा एमडी सकेर पुनः कान्तिको क्यान्सर विभागमा फर्किंदा पनि यही समस्या दोहोरियो । छोरीलाई उपचार सुरु गरे पनि २–३ महिनापछि आर्थिक÷पारिवारिक कारण देखाएर बीचमै छोडेर घर फर्किने केस धेरै देखिन्थ्यो । बरू आयुर्वेदिक तथा जडीबुटीका उपचार आदि विकल्पमा लाग्ने परिवारहरू धेरै थिए । छोराको हकमा भने उपचार पूरा गरेर निको पार्ने उदाहरणहरू बढी देखिन्थे । त्यतिबेला देशभर क्यान्सर विशेषज्ञ र बाल क्यान्सर विशेषज्ञहरूको जनशक्ति निकै कम थियो, काठमाडौं बाहिर उपचारको सुविधा र औषधि उपलब्ध थिएन, जसले समस्या झन् बढाएको थियो ।

२०१५ देखि २०१८ सम्मको तीन वर्षमा पनि यो अवस्था उस्तै रह्यो । छोरीलाई बचाउनुपर्छ भन्दा पनि ‘घरमै गएर आयुर्वेदिक उपचार गर्ने’ भन्ने विकल्प रोज्थे, जबकि प्रोपर केमो÷रेडियोथेरापी गर्ने प्रतिबद्धता निकै कम हुन्थ्यो ।

तर अहिले सात वर्षदेखि हरिसिद्धिमा काम गर्दाको अनुभव फरक देखिन्छ । यो भेदभाव निकै कम भएको छ । यहाँ आउने अधिकांश परिवारहरू छोरा होस् वा छोरी दुवैको उपचार पूरा गर्ने प्रतिबद्धता जनाउँछन् । सानो गाँठो आए पनि जाँच गराउन आउनेहरू बढेका छन्, र उपचारबाट बञ्चित हुने अवस्था निकै न्यून छ । यस अस्पतालमा प्राय स्वास्थ्यप्रति सचेत र पहुँच भएका व्यक्तिहरू बढी आउँदा यो सकारात्मक परिवर्तन देखिएको छ ।
यसबाट मलाई व्यक्तिगत रूपमा पनि सन्तुष्टि मिलेको छ, किनकि पहिले छोरीहरूलाई उपचारबाट वञ्चित भएको देख्दा चिकित्सकको हैसियतले निकै मन दुख्थ्यो, तर बाध्यता थियो । अहिले त्यो पीडा कम भएको छ ।

स्वास्थ्य पहुँचको अभाव र लैंगिक असमानताले उपचार निरन्तरता कठिन

डा. अजय कुमार झा, क्यान्सर रोग विशेषज्ञ

तराई–मधेश क्षेत्रमा महिला तथा बालिकामा क्यान्सरको उपचार धेरैजसो बीचमै छोडिनुको कारण केवल चिकित्सकीय समस्या मात्र होइन, सामाजिक र आर्थिक संरचनासँग जोडिएको जटिल समस्या हो । मधेसका धेरै जिल्लामा स्वास्थ्य संरचना कमजोर छन्, आधुनिक प्रविधि र विशेषज्ञ सेवा सीमित छन्, र क्यान्सर जाँच तथा उपचारका लागि बिरामीले प्रायः काठमाडौं, भरतपुर वा भारतसम्म जानुपर्ने बाध्यता हुन्छ ।

यस्तो अवस्थामा गरिब तथा अशिक्षित परिवारका मानिसहरूका लागि उपचार सुरु गर्नु नै ठूलो चुनौती बन्छ । उपचार सुरु गरेपछि झन् समस्या बढ्छ, किनकि क्यान्सरको उपचार लामो समय लाग्ने प्रक्रिया हो ।

कहिलेकाहीँ ६ महिनादेखि एक वर्षसम्म निरन्तर अस्पतालको निगरानीमा बस्नुपर्छ । तर अधिकांश परिवारमा युवा सदस्यहरू विदेशमा हुन्छन्, घरमा वृद्ध अभिभावक मात्र हुन्छन् । बिरामीलाई शहरमा लामो समय बसाएर उपचार गराउने आर्थिक र पारिवारिक क्षमता हुँदैन । यही कारणले उपचार सुरु गरे पनि धेरै बिरामी, विशेषगरी महिला र बालबालिका, केही समयपछि घर फर्कन बाध्य हुन्छन् ।

तराईमा गरिबी, अशिक्षा र जनचेतनाको कमीले पनि समस्या झन् गम्भीर बनाएको छ । धेरै परिवारमा स्वास्थ्यसम्बन्धी लक्षणलाई लुकाउने वा ढिला गरेर मात्र अस्पताल जाने प्रवृत्ति हुन्छ, जसले गर्दा क्यान्सर प्रायः ढिलो चरणमा मात्र पत्ता लाग्छ । यस्तो अवस्थामा उपचार महँगो र लामो हुन्छ, जसले आर्थिक भार झन् बढाउँछ ।

यसका साथै समाजमा रहेको लैंगिक असमानताले पनि महिलाको उपचारमा प्रत्यक्ष असर पार्छ । परिवारमा सीमित स्रोत भएको अवस्थामा धेरैजसो प्राथमिकता पुरुष सदस्यलाई दिइन्छ, जबकि महिलाको उपचारलाई पछि सार्ने वा बीचमै रोक्ने प्रवृत्ति देखिन्छ ।

क्यान्सर उपचारका लागि आउने बिरामीमध्ये पुरुषको संख्या धेरै हुन्छ, जबकि महिलाहरू प्रायः त्यतिबेला मात्र अस्पताल पुग्छन् जब रोग धेरै बढिसकेको हुन्छ । गरिब परिवारका महिलाहरू त उपचार सुरु गरेपछि पनि निरन्तर अस्पतालमा बस्न नसक्ने, घरपरिवार सम्हाल्ने कोही नहुने, वा आर्थिक स्रोत सकिने कारणले बीचमै उपचार छोड्न बाध्य हुने अवस्था धेरै देखिन्छ ।

बालबालिकाको हकमा पनि अवस्था त्यति नै कठिन छ । धेरै अभिभावकका लागि बच्चाको क्यान्सर उपचारका लागि महिनौँसम्म शहरमा बस्नु आर्थिक र सामाजिक रूपमा सम्भव हुँदैन । गाउँमा घर, पशुपालन, खेतीपाती, वृद्ध अभिभावक जस्ता जिम्मेवारी हुन्छन्, जसलाई छोडेर लामो समय बाहिर बस्न गाह्रो हुन्छ । त्यसमाथि उपचारको खर्च पनि चरणबद्ध रूपमा बढ्दै जाने भएकाले सुरुमा उत्साहित भएर उपचार थालेका परिवारहरू केही महिनापछि आर्थिक रूपमा थकित भइहाल्छन् ।

धेरै क्यान्सरको उपचार तीन–चार लाख रुपैयाँमै सम्भव हुन सक्छ, तर व्यवस्थापनको कमजोरी, बारम्बार सहर आउनुपर्ने अवस्था, बसाइ खर्च, जाँच खर्च र समयको अभावका कारण त्यो रकम बढ्दै जाँदा धेरै परिवारले उपचार निरन्तरता दिन सक्दैनन् ।

तराईमा महिला तथा बालबालिकाको क्यान्सर उपचार बीचमै छोडिनुको मुख्य कारण गरिबी, अशिक्षा, स्वास्थ्य सेवाको पहुँचको कमी, सामाजिक संरचनाको कमजोरी र लैंगिक विभेदको संयुक्त प्रभाव हो ।

यदि स्थानीय स्तरमै क्यान्सर जाँच र उपचारको आधारभूत व्यवस्था, चिकित्सकको नेटवर्क र ‘रेफर ब्याक’ प्रणाली विकास गर्न सकियो भने बिरामीलाई आफ्नो नजिकै उपचार जारी राख्न सजिलो हुने थियो र उपचार बीचमै छोड्ने समस्या पनि उल्लेखनीय रूपमा कम हुन सक्थ्यो ।

उपचार बाल क्यान्सर
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

चिकित्सा सेवा सुधारमा सकस

चिकित्सा सेवा सुधारमा सकस