News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बाले खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाउन आग्रह गरेकी छन्।
- राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघबीचको विवादले अप्रिल १२ र १५ मा हुने फिफा सिरिज नेपाली महिला टोलीले गुमाएको थियो।
- एन्जिलाले राजनीतिक फोहोरी खेलले खेलाडीको अवसर खोसिएको र नेपाली महिला फुटबलको भविष्य अन्धकारमा परेको बताएकी छन्।
२० चैत, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान एन्जिला तुम्बापो सुब्बाले खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाउन आग्रह गरेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेपछि अप्रिल १२ र १५ मा तय भएको फिफा सिरिज नेपाली महिला टोलीले गुमाएको थियो ।
त्यसपछि एन्जिलाले सामाजिक सञ्जालमार्फत राजनीतिको फोहोरी खेलका कारण अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर खोसिएको बताएकी हुन् ।
‘अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु एउटा खेलाडीको लागि एउटा पर्व जस्तै हो । एउटा सपनाको शिखर हो । तर जब अन्तिम समयमा आएर राजनीतिको फोहोरी खेलले गर्दा हाम्रो अवसर खोसिन्छ, तब त्यो पीडा कस्तो हुन्छ, के तपाईंहरूले कहिल्यै महसुस गर्नुभएको छ ? तपाईंहरू त केवल न्युज पढ्नुहुन्छ र अफसोस मान्नुहुन्छ, तर मैदानमा ओर्लिन नपाउँदा एउटा खेलाडीको मन कति पटक मर्छ, त्यो हामीलाई मात्र थाहा छ,’ उनले लेखेकी छन् ।
खेलाडीको १० वर्षको कडा मेहेनत स्वार्थ र राजनीतिका कारण १० मिनेटमै खरानी भएको एन्जिलाले बताइन् । व्यक्तिगत स्वार्थ र राजनीतिक खिचातानीले आज नेपाली महिला फुटबल र समग्र खेलाडीको भविष्य अन्धकारमा धकेलिएको उनको भनाइ छ ।
‘खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाइदिनुस् । हामी देशको लागि खेल्न चाहन्छौं, तपाईंहरूको अहङ्कारका लागि होइन। खेललाई खेल नै रहन दिनुस्, यसलाई राजनीतिको अखडा नबनाउनुस्,’ उनले लेखेकी छन् ।
प्रतिक्रिया 4