News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिले सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गरेको छ ।
- क्यानले २०८३ वैशाख २७ र २८ गते विराटनगरमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
- नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको छ ।
२३ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग एनपीएल २०२५ को आय-व्यय अनुमोदन गरेको छ। सोमबार बसेको बैठकले आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।
यस्तै सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट पनि अनुमोदन गरेको छ। साथै, क्यानको वार्षिक साधारण सभा २०८३ वैशाख २७ र २८ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गर्ने निर्णय गरिएको छ।
बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार अवधि थप गर्न र हाल राष्ट्रिय खेलकुद परिषद अन्तर्गत सञ्चालनमा रहेको तल्लो मुलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ।
‘त्रिभुवन विश्वविद्यालयसँगको करार अवधि समाप्त हुन लागेको उक्त खेलमैदानलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशालाको पहिलो चरणको काम सम्पन्न भई फ्लड लाईट समेत जडान भएको र उक्त मैदान नेपाली क्रिकेट खेलको विकासको लागि अपरिहार्य रहेको हुँदा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि थपका लागि अनुरोध गर्ने निर्णय गरिएको छ’ क्यानले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, चार वर्षे कार्यकाल सकिएका २० जिल्लाका कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप गरिएको छ र साधारण सभा पछि अनिवार्य रूपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरिएको छ।
यसैगरी, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आय–व्यय विवरण अनुमोदन गरिएको छ। एनपीएलबाट कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएकोमा करिब २१ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ।
खर्च कटाएर करिब २५ करोड ३९ लाख रुपैयाँ बाँकी रहेकोमा ८ फ्रेन्चाइज टोलीलाई ५० प्रतिशत रकम वितरण गरिएको छ भने क्यानले करिब ९ करोड २१ लाख रुपैयाँ प्राप्त गर्नेछ।
त्यस्तै, आईसीसीको निर्देशनअनुसार महिला क्रिकेट विकासका लागि वार्षिक ५ लाख अमेरिकी डलर लगानी गर्ने निर्णय पनि गरिएको छ।
हेर्नुस् निर्णयहरू

प्रतिक्रिया 4