+

‘गाइनोकोलोजी पुरुषको पनि क्षेत्र हो’

२०८२ चैत  २९ गते १२:११ २०८२ चैत २९ गते १२:११

एकजना बिरामीले ओपीडीमा हिस्ट्री लेखिसकेपछि एक्जामिनेसन रुममा गएर ‘महिला डाक्टर पठाइदिनुहोस्’ भनेर भनिन् ।

‘गाइनोकोलोजी पुरुषको पनि क्षेत्र हो’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. नितेश घिमिरेले जिल्ला अस्पतालमा पुरुष गाइनोकोलोजिस्टको भूमिका र बिरामीको विश्वास जितेको अनुभव सुनाएका छन्।

२०२२ मा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘डक्टर जी’ मा आयुष्मान खुरानाले स्त्री रोग विशेषज्ञको भूमिका निर्वाह गरेका छन् । फिल्ममा प्रस्तुत गरिएको कथाले एक पुरुष स्त्री रोग विशेषज्ञले के कस्तो अवस्थाबाट गुज्रनुपर्छ भनेर देखाएको छ ।

फिल्ममा आयुष्मान हड्डी रोग ‘अर्थोपेडिक्स’मा विशेषज्ञता गर्न चाहन्छन्, तर सिट नपाएपछि इच्छा नभए पनि गाइनोकोलोजी ‘स्त्री रोग’ विभागमा पुग्छन् ।

उनी त्यहाँ एक्लो पुरुष विद्यार्थी बन्छन् । बिरामीहरूले ‘पुरुष डाक्टरले के बुझ्छन्, महिला डाक्टर चाहिन्छ’ भन्ने दृष्टिकोण राख्छन् । सहकर्मी र सिनियर डाक्टरबाट आउने चुनौती र आफ्नै मनभित्रको दुविधाले उनलाई घेरिरहन्छ । फिल्मले हास्य प्रदान तरिकाबाट एउटा गम्भीर सन्देश दिन्छ चिकित्सकको लिङ्ग होइन, उसको व्यावसायिकता, ज्ञान र बिरामीप्रतिको समर्पणले मात्र विश्वास जितिन्छ ।

धेरै पुरुष गाइनोकोलोजिस्टका लागि यो अत्यन्त परिचित र यथार्थपरक कथा लाग्न सक्छ ।

00 00 00

ठ्याक्कै यही फिल्मको उदाहरणसँग मिल्दोजुल्दो यात्रा डा. नितेश घिमिरेको पनि छ । उनले पनि कहिल्यै ‘म गाइनो पढ्छु’ भनेर योजना बनाएका थिएनन् । तर जिल्ला अस्पतालमा काम गर्दागर्दै उनी स्त्री रोग तथा प्रसूति विभागमा पुगे । यो क्षेत्रमा पुरुष डाक्टरको भूमिका कति महत्वपूर्ण रहेछ भन्ने कुरा व्यवहारबाटै बुझ्दै गए ।

अहिले उनी काठमाडौँ मोडल अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गरिरहेका छन् । साथै सोशल मिडिया तथा युट्युब मार्फत् महिलाको स्वास्थ्य सम्बन्धी जागरण फैलाइरहेका छन् ।

गाइनोकोलोजी पुरुष–महिलाको साझा यात्रा हो

डा. घिमिरे भन्छन्, ‘प्रेग्नेन्सी एक्लो महिलाको यात्रा होइन, यो श्रीमान् र श्रीमती दुवैको साझा यात्रा हो ।’ जब दम्पती सँगै आउँछन्, तब मात्र पूर्ण यात्रा सुरु हुन्छ । जिल्ला अस्पतालमा डेलिभरी, अपरेसन, फलो–अप र जटिल केसहरूमा पुरुष डाक्टरले पनि उत्तिकै भूमिका खेल्न सक्छन् भन्ने उनले महसुस गरे । अहिले धेरै बिरामीहरू ‘म फलानो डाक्टरमार्फत डेलिभरी हुन्छु’ भनेर आउँछन्, यस्तोमा महिला पुरुषको प्रश्न नै उठ्दैन ।

तर सुरुवाती दिनहरू सजिला थिएनन् । हुम्लाजस्तो दुर्गम जिल्ला अस्पतालमा बिरामीहरू पुरुष डाक्टर देख्नेबित्तिकै अप्ठ्यारो मान्थे । ‘महिला डाक्टर पठाइदिनुहोस्’ भन्ने गर्थे ।

डा. घिमिरेले काठमाडौँमा नै भएको एउटा घटना सम्झिए:-  एकजना बिरामीले ओपीडीमा हिस्ट्री लेखिसकेपछि एक्जामिनेसन रुममा गएर ‘महिला डाक्टर पठाइदिनुहोस्’ भनेर भनिन् ।

सिस्टरहरूले महिला डाक्टर पठाइदिए । तर पछि जब डा. घिमिरेले नै बिरामीलाई उनको समस्या ‘डिस्चार्ज, स्ट्रबेरी जस्तो सर्विक्स’ जस्ता लक्षणहरू बारे विस्तृत रूपमा बुझाए, गुगलमा फोटो देखाएर उपचार योजना बताए, तब बिरामी पूरै सन्तुष्ट भइन् । उनले डा. घिमिरेप्रति पूरै विश्वास देखाइन् । यो घटना हरेक दुई–तीन महिनामा एकचोटि दोहोरिने उनी बताउँछन् ।

ग्रामीण क्षेत्रको चुनौती र यथार्थ

पुरुष डाक्टरसँग जाँच गराउँदा महिलाहरू अझै पनि लाज र संकोच मान्छन् । दुर्गम ठाउँमा यो समस्या अझै बढी छ । डा. घिमिरे हुम्लाको एउटा घटना सम्झदै भन्छन्, ‘एक जना डेलिभरी गर्न आउनुभएको महिला त पुरुष डाक्टरले डेलिभरी गर्ने भनेको सुनेर बेडबाट तल हामफाल्नुभयो । त्यसपछि स्वास्थ्य स्वयंसेविकाको सहयोगमा उनको डेलिभरी भयो ।

डाक्टरलाई भन्दा पनि लामो वर्षदेखि काम गरेका अनुभवी सिस्टरहरूलाई नै समस्या देखाउन महिलाहरूले सहज ठान्थे । तर पछिल्लो समय जटिल समस्या भएका बेला अस्पताल पुगिसकेपछि जसले जाँच गरे पनि गाह्रो हुँदैन भन्ने बुझाइ बढ्दै गएको छ ।

डा. घिमिरेले जिल्ला अस्पतालमा देखेका मुख्य समस्याहरू

हुम्लाका महिलामा महिनावारीको समयबाट नै समस्या सुरु हुन्छ । महिनावारीको बेला के–के कुरामा ध्यान दिने भन्ने आधारभूत ज्ञान धेरैलाई हुँदैन । महिनावारीको कुरा अरूलाई सुनाउन लजाउने गरेको पाइन्छ । जसले गर्दा विभिन्न प्रजनन् समस्याबाट उनीहरू गुज्रिनुपर्छ ।

बच्चा नबस्ने समस्या र उकालो–ओरालो धेरै गर्नुपर्ने तथा भारी काम गर्नुपर्ने भएकाले बच्चा बसे पनि गर्भ तुहिने समस्या धेरै छ । बच्चा जन्माइसकेपछि तथा महिनावारी सुक्ने बेला पाठेघर खस्ने समस्या हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाका महिलामा देखिने मुख्य समस्या हो ।

नेपालमा लाखौं महिलाहरू यो समस्याबाट पीडित छन्, जसको मुख्य कारण अत्यधिक भारी काम, कम उमेरमा बारम्बार बच्चा जन्माउनु, प्रसूतिपछि पर्याप्त आराम नगर्नु र पोषणको कमी हो । हुम्लामा १४–१५ दिनमा नै सुत्केरी महिलाहरूले काम गर्न थाल्छन्, जसले गर्दा पनि त्यहाँ पाठेघर खस्ने समस्या बढी हुन्छ । साथै प्रसूतिको क्रममा मृत्यु हुने समस्या पनि हुम्लामा उल्लेखनीय छ ।

शहरमा देखिने नयाँ समस्या : पिसिओएस

काठमाडौँ जस्ता शहरी क्षेत्रमा बिरामीहरू अलि बढी खुला हुन्छन्, तर पछिल्लो समय नयाँ चुनौती देखिन थालेको छ पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम । जंक फुड, तारे–भुटेका खानेकुरा, मोनोसोडियम ग्लुटामेटयुक्त खानेकुरा, व्यायामरहित जीवनशैली र तनावले गर्दा अण्डाको गुणस्तर घट्दै गएको छ ।

नेपालमा चिकित्साशास्त्र पढिरहेका विद्यार्थीहरूमा पनि पिसिओएस पोलिसिस्टिक ओभेरियन सिन्ड्रोमको दर करिब ९.१८ प्रतिशत रहेको पाइएको छ । यस्ता बिरामीहरूमा महिनावारी अनियमित हुने ८३ प्रतिशत, शरीरमा पुरुष हार्मोनको असर बढ्ने अर्थात् हाइपरएन्ड्रोजेनिज्म ८२ प्रतिशत र सन्तान नहुने समस्या अर्थात् इनफर्टिलिटी ४३ प्रतिशत जस्ता लक्षणहरू बढी देखिन्छन् ।

डा. घिमिरेका अनुसार अहिले ३२–३३ वर्षकै उमेरमा पनि बच्चा नहुने, अण्डाको गुणस्तर घट्ने समस्या बढ्दै गएको छ । यसै कारण भविष्यमा धेरैजसो दम्पतीहरूलाई आईभीएफ ‘इन–भिट्रो फर्टिलाइजेशन’को सहारा लिनुपर्ने अवस्था आउन सक्ने देखिन्छ ।

फिल्म र वास्तविकताको अन्तर

‘डक्टर जी’ फिल्मले देखाएजस्तै, डा. नितेश घिमिरेको सुरुमा ‘म गाइनोमा काम गर्दिन’ भन्ने सोच थिएन । तर जिल्ला अस्पतालको अनुभवले उनी यो क्षेत्रमा रमाउन थाले ।

फिल्ममा जस्तै बिरामीको प्राथमिकता, लाज–संकोच र ‘पुरुष डाक्टरले हेर्न हुन्न’ भन्ने धारणाको सामना उनीले पनि गरे । तर जब बिरामीले रोग बुझ्छिन् र उपचारबाट राहत पाउँछिन्, तब पुरुष र महिलाको कुरा पृष्ठभूमिमा हराउँछ ।

डा. घिमिरेको अनुभवले फिल्मको सन्देशलाई व्यवहारमा प्रमाणित गर्छ । व्यावसायिकता, स्पष्ट कुराकानी, बिरामीसँगको आत्मीयता र समर्पणले लिङ्गको सीमा पार गर्न सक्छ ।

उनको यात्राले देखाउँछ कि चुनौतीहरू जति ठूला भए पनि, सही दृष्टिकोण र निरन्तर प्रयासले पुरुष गाइनोकोलोजिस्टले पनि महिलाको स्वास्थ्यमा उल्लेखनीय योगदान दिन सक्छन् ।

गाइनोकोलोजी पुरुष
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय