News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फिफा, एएफसी र एन्फाबीच संयुक्त बैठकको लागि पत्र पठाएको छ।
- राखेपले एन्फाको निर्वाचन प्रक्रिया स्थगन गरेको र आवश्यक परे पुनर्विचार गर्न तयार रहेको जनाएको छ।
- फिफा र एएफसीले एन्फाको निलम्बन र निर्वाचन ७ दिनभित्र सुनिश्चित नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन्।
२५ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियन फुटबल महासंघ (एसीसी) र अखिल नेपाल फुटबल संघ (एन्फा)बिच संयुक्त बैठक आयोजना गर्न पत्र पठाएको छ ।
निलम्बनको विषयमा फिफा, एएफसी र एन्फाले लेखेको पत्रको जवाफ दिँदै राखेपले बुधबार वर्तमान अवस्थामा सबै सरोकारवालाहरुबाट संयुक्त समिक्षा आवश्यक रहेको उल्लेख गरेको हो ।
उक्त छलफलमार्फत एन्फा साधारणसभाका निर्णय र लागु विधानलाई ध्यानमा राख्दै निर्वाचन समयरेखा र प्रक्रिया सम्बन्धी सहमति तयार गर्न राखेप खेलकुद विकास प्रमुख सरोजकुमार श्रेष्ठद्वारा हस्तारक्षित पत्रमा उल्लेख छ । यस्तै यही विषय समेटेर राखेपका सदस्य सचिव रामचरित्र मेहताले फिफालाई पनि छुट्टै पत्र पठाएका छन् ।
आवश्यक परेमा र आपसी सहमतिअनुसार हाल लगाइएको स्थगन पुनर्विचार गरी हटाउन तयार रहेकोसमेत राखेपले जनाएको छ । राखेपले राष्ट्रिय कानुनको पालना गर्दै नेपाली फुटबलको स्वायत्ततालाई समर्थन गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
यस्तै सम्पूर्ण प्रक्रिया पारदर्शी, निष्पक्ष र कानुनी रूपमा सुसंगत ढंगले सञ्चालन हुने सुनिश्चित गर्न चाहेको राखेपको जिकीर छ । २०२५ मे ६ मा धुलिखेलमा भएको साधारणसभाबाट भएको निर्णय विपरित एन्फाले निर्वाचन गर्न लागिएको राखेपको ठहर छ ।
विधानको पालना र संस्थागत इमान्दारिता कायम राख्ने उद्देश्यले नै हालको निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ ।
स्वीकृतिबिना नै निर्वाचन गर्न लागेको भन्दै राखेपले चैत १२ गते एन्फालाई ३ महिनासम्मका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फाले नेतृत्वले चैत १३ गते तय गरिएको निर्वाचन स्थगित गरेको थियो ।
फिफा र एएफसीले शनिबार पत्र लेख्दै एन्फाको निलम्बन र निर्वाचन ७ दिनभित्र हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया 4