News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ।
- नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल फाइनल दौडबाट बाहिरिएका छन्।
- सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गर्दै पहिलोपटक फाइनलमा पुग्ने सम्भावना बनाएको छ।
२९ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ । मधेश प्रदेशमा जारी क्रिकेटमा आर्मीले २ खेल अगावै फाइनलमा स्थान बनाएको हो । आर्मीले ७ खेलबाट १३ अंक जोडेको छ ।
विभागीय टोलीमध्ये आर्मी फाइनलमा पुग्दा अर्का दुई टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब फाइनल दौडबाट बाहिरिएका छन् ।
एक खेल खेल्न बाँकी रहेका पुलिस र एपीएफ समान ९ अंक जोड्दै फाइनल होडबाट बाहिरिएका हुन् । दुवैले ४ खेलमा जित र ३ खेलमा हार बेहार्दा एक खेल नतिजाविहीन भए ।
आजै भएको खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । सुदूरले दिएको १९२ रनको लक्ष्य पछ्याएको पुलिस १३५ रनमै अलआउट भयो ।
अब अन्तिम खेलमा पुलिस र एपीएफले मधेश प्रदेशको सामना गर्नेछन् । मधेशलाई भने फाइनलमा पुग्न पुलिस र एपीएफ दुवैलाई पराजित गर्नुपर्नेछ ।
कुनै एक खेलमा पराजित भएमा पनि सुदूरपश्चिम प्रदेश फाइनलमा पुग्नेछ । लिग चरणका सबै खेल खेलिसकेको सुदूरपश्चिम १२ अंक जोड्दै दोस्रो स्थानमा छ । सुदूर पीएम कपको इतिहासमा पहिलोपटक फाइनल खेल्ने संघारमा पुगेको छ ।
मधेशले ७ खेलबाट ९ अंक जोडेको छ । लिग चरणका ६ खेल बाँकी हुँदा ८ टोलीको जय ट्रफी खेल्ने सम्भावना कायमै छ । लिग चरणको अन्तिममा शीर्ष ६ मा रहने टोलीले जय ट्रफी बहुदिवसीय क्रिकेट खेल्नेछन् ।
कर्णाली र कोशी प्रदेशको शीर्ष ६ मा पर्ने सम्भावना सकिँदा अन्य ८ टोलीको सम्भावना कायमै छ ।
प्रतिक्रिया 4