+

अस्पताल मन्दिर : बिरामी भगवान

२०८३ वैशाख  १ गते १७:१४ २०८३ वैशाख १ गते १७:१४

योग, ध्यान, आयुर्वेद, परम्परागत उपचार पद्धतिलाई जब आधुनिक चिकित्सासँग जोड्न सक्छौँ त्यसै दिनदेखि हाम्रो भाग्यको उदय हुनेछ।

Shares
अस्पताल मन्दिर : बिरामी भगवान

ईएनटी केयरमा उपचार गर्न आएका १०० बिरामीमा एक सानो अनुसन्धान गरिएको थियो । झण्डै आधा बिरामीमा उहाँहरूका पुराना रिपोर्टहरू तथा नयाँ जाँचबाट पनि समस्या अनुसारको चित्तबुझ्दो हिसाबले रोग पहिल्याउन गाह्रो भयो ।

उहाँहरूको मानसिक र भावनात्मक स्वास्थ्य स्थितिलाई नियाल्दा के स्पष्ट हुन्थ्यो भने– अब पनि उही ट्याब्लेटले निको पार्न गाह्रो छ । जुन उहाँहरूले कैयौ स्वास्थ्य संस्थाबाट लामो समयदेखि प्रयोग गर्दै आउनुभएको थियो ।

थप उपचारका लागि उहाँहरूलाई केही उपायहरू सुझाइयो:

पहिलो : मानसिक रोग विशेषज्ञलाई देखाउने । जुन ७० प्रतिशतले ठाडै इन्कार गर्नुभयो।

दोस्रो : मनोपरामर्शदातालाई भेटेर लाभ लिने । त्यो पनि ४० प्रतिशतले इन्कार गरेपछि लामो परामर्शपश्चात् उहाँहरूलाई तेस्रो बाटो सुझाइयो।

तेस्रो : प्रत्येक दिन योग, प्राणायाम र ध्यान गर्ने।

झण्डै २१ दिनको प्रयोगपछि मात्रै पनि अधिकांश (५८ प्रतिशत) का समस्याहरू निको वा धेरै कम भएर उहाँहरूमा खुसीको सञ्चार भएको देखियो । लागेको थियो कि ‘अब हामीले गर्ने उपचारको मोडल कतै पुनर्विचार गर्नुपर्ने बेला आएको त हैन ?’

अन्तर्राष्ट्रिय अनुभव

अन्तर्राष्ट्रिय अनुभवमा पनि झण्डै १५ देखि ५० प्रतिशत बिरामीमा यस्तै समस्या देखिने गर्दछ, जसलाई ‘मेडिकल्ली अनएक्सप्लेन्ड सिम्टमस् (एमयुएस) भनिन्छ ।

विश्व स्वास्थ्य संगठनले के भन्छ ?

विश्व स्वास्थ्य संगठनले शरीर ठीकठाक हुनुलाई मात्र स्वास्थ्य मान्दैन । व्यक्ति मानसिक, भावनात्मक र सामाजिक रूपमा पनि स्वस्थ हुनुपर्दछ भन्ने उसको मान्यता छ ।

हाम्रो चिकित्सा शिक्षाको अवस्था के छ ?

जतिसुकै पूर्णस्वास्थ्यको विषयवस्तु उठान गरे पनि हाम्रो पाठ्यक्रमले शरीर विज्ञान र थोरै मनभन्दा माथिका अवयवहरूलाई छुन सकेको देखिँदैन । त्यसैले हाम्रा स्वास्थ्यकर्मीहरूमा शरीरको एकदमै राम्रो ज्ञान छ, विज्ञानका नयाँ-नयाँ चमत्कारहरूसँग राम्रो साक्षात्कार छन् तर मनको विज्ञान बुझ्ने स्वास्थ्यकर्मी एकदमै कम छन् ।

भावनात्मक र चेतनाको स्वास्थ्य बुझेर यसलाई प्रयोगमा ल्याउनका लागि अहिलेको पाठ्यक्रममा यस्ता विषयहरू थप्नै पर्ने टड्कारो आवश्यकता देखिन्छ ।

के हो त भावनात्मक स्वास्थ्य ?

सजग भएर, खुसी बनेर, धेरै आशा र भरोसा बोकेर आएका बिरामीहरूलाई आफ्ना परिवारका प्रिय सदस्यलाई जस्तै सेवा गर्नसक्ने क्षमताको विकास नै भावनात्मक स्वास्थ्यको व्यावहारिक बुझाइ हो । सुन्दा हुनै पर्ने र गर्न सकिन्छ जस्तो लाग्ने यो विषयवस्तु व्यवहारमा लागू गर्न भने त्यति सजिलो हुँदैन, जबसम्म व्यक्ति आफूतर्फ फर्कने अभ्यास गर्न सिक्दैन।

यसलाई दिव्य नवव्रतको पालना भनिन्छ । जसका आयामहरू निम्न प्रकारका छन्:

सत्यता, स्वाध्याय, निरहङ्कारिता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवा भाव, मधुरवाणी, लक्ष्यसँग एकाकार, मुमुक्ष ।

आफैँ रोगले ग्रस्त, दुःखी अनि नकारात्मक भावले युक्त स्वास्थ्यकर्मीले कसैलाई स्वस्थ बनाउने जिम्मेवारी लिनु भनेको आफैँप्रति र बिरामीप्रति ठूलो अन्याय गर्नु हो ।

संयुक्त राष्ट्रसंघले नेपालको एकल प्रस्तावमा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को रूपमा मनाउने घोषणा गरेसँगै स्वास्थ्यको बुझाइले धेरै फराकिलो आयाम पाएको छ । स्वास्थ्य भन्नाले केवल रोग नहुनु मात्र होइन शारीरिक, मानसिक, सामाजिक, भावनात्मक, सांस्कृतिक, पर्यावरणीय तथा आध्यात्मिक कल्याण हो भन्ने सन्देश स्पष्टसँग विश्वमाझ सम्प्रेषण भइसकेको छ।

जीवन विज्ञानका श्रद्धेय गुरुदेवहरूका सत्प्रेरणाले नेपाल सरकारलाई यो प्रस्ताव अघि बढाउन उत्प्रेरणा दिएको थियो । यो विषयवस्तु सरकारको पहिलो १०० कार्यक्रममा पनि समावेश भएको छ र सन् २०२७ लाई ‘आरोग्य वर्ष’को रूपमा मनाउने निर्णय भइसकेको छ।

विश्वभर र नेपालको टुँडिखेलमा अप्रिल १५ का दिन बिहान ७:३०–९:०० बजेसम्म विशेष कार्यक्रमहरू आयोजना हुँदैछ । त्यसैगरी सोही दिन दिउँसो १:१५–१:३० बजेसम्म १५ मिनेटका लागि १५ लाख व्यक्तिहरूले एकैपटक सामूहिक ध्यान गर्दैछन् ।

अबको बाटो के त ?

आरोग्य अब सबैको मनमनमा पुग्न जरुरी छ । जस्तै: स्वास्थ्य, शिक्षा, पर्यटनमा आरोग्य । यसको मतलब हरेक कर्म क्षेत्रमा शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा खुसी र आत्मिक रूपमा आनन्दित व्यक्तिहरू भेटिनुपर्छ । सहकार्य, प्रेम र सेवा हाम्रो मूल आधार बन्नुपर्दछ । प्रकृतिलाई प्रेम गर्नुपर्छ ।

स्वास्थ्य क्षेत्रलाई कसरी आरोग्य स्थल बनाउने ?

स्वास्थ्य क्षेत्रमा सेवाग्राहीको रूपमा आउने प्रत्येक व्यक्तिहरूलाई लागोस् कि, ‘म एउटा मन्दिरमा आएको छु । आफू सुरक्षित छु र मलाई सेवा दिने समूहले निको पारेर छाड्छन् ।’

स्वास्थ्यकर्मीलाई लागोस् कि, ‘मेरो एउटै धर्म भनेको निस्वार्थ मेरा बिरामीहरूलाई निको पार्नु हो, उहाँहरूको मुहारमा खुसी ल्याउनु हो । उहाँहरूको सारा दुःख हरण गरेर आशीर्वाद लिनु हो ।’

कसरी उहाँहरूको दुई पैसा जोगिन्छ त्यसमा लाग्नु, आफ्नो परिवारको सदस्य सम्झेर सेवा गर्नु हो।

त्यो कसरी सम्भव छ ?

स्वास्थ्यकर्मी आफैँले सबैभन्दा पहिले आफूमा काम गर्नुपर्दछ । आफू पूर्णरूपमा स्वस्थ हुन आलस्य त्याग्नुपर्दछ र प्रत्येक दिन सबेरै उठेर शरीरको लागि योगाभ्यास/व्यायाम, मनका लागि श्वासको विधि (प्राणायाम) तथा एकाग्रता र आनन्दका लागि कम्तीमा पनि १५ मिनेट ध्यान गर्नुपर्दछ ।

फूर्तिलो भएर, हँसिलो भएर जब आफ्नो कर्मथलो गइन्छ, त्यो सामान्य कामकाजको थलोभन्दा धेरै माथि मन्दिरसरह बनाउन सकिँदो रहेछ । आफू खुसी भएपछि बोध हुँदोरहेछ कि आफ्नाहरू खुसी भएको हेर्ने व्यग्रता कस्तो हुँदोरहेछ ।

लेखकको नितान्त निजी अनुभवमा यो प्रयोग विगत तीन वर्षदेखिको नियमित अभ्यास बनेको छ । जीवनशैली बनेको छ। अध्ययन र अनुसन्धानको विषयवस्तु बनेको छ । बिरामीहरू जसलाई शरीरभन्दा माथि जस्तै मन, भावना र चेतनाको शुद्धीकरण अपरिहार्य छ, उहाँहरूलाई निःशुल्क योग, प्राणायाम र ध्यान (ऊर्जा ध्यानको) कक्षा समावेश गराइन्छ । जसलाई अप्रेसन गर्नुपर्छ, भावशक्तिको भरपुर प्रयोग गरेर सेवा गर्ने कोसिस गरिन्छ ।

अस्पतालहरूमा सबेरै मर्निङ मिटिङ पूर्व योग-ध्यानको अभ्यास हुन थालेको छ । अप्रेसन कक्षले मेडिटेसनको धुनमार्फत स्वागतसँगै मन नै आनन्दित हुन थालेको छ । अप्रेसन थियटरमा बिरामीहरूलाई अप्रेसन पूर्व ध्यान गराइन थालेको छ । त्यसैले जीवनको सबैभन्दा डरलाग्दो पल (शल्यक्रिया) समेत उहाँहरूलाई उत्सवस्वरूप एउटा सुखद घटना लागेको महसुस हुन थालेको छ ख ।

स्वास्थ्यकर्मीमा जति सजगताको अभ्यास बढ्दैछ, त्यति नै अप्रेसन कक्ष मन्दिर जस्तै बन्दै गएको आभास हुन थालेको छ । अब चक्कुहरू फूल जस्तै कोमल लाग्दैछन् भने बिरामी साक्षात् भगवानको स्वरूप । अप्रेसन गर्ने हातहरूलाई चलाउने जिम्मा पनि जब ब्रह्माण्डलाई दिइन्छ, तब आइलाग्ने आकस्मिक संकटहरू पनि उसैले हरिदिएका कैयन् घटनाहरूका साक्षी बन्न पाएको अनुभव गर्न सकिँदो रहेछ ।

अप्रेसन गरेका बिरामीहरूलाई साँझ एकपटक भएपनि भेट्न जान मन लाग्नु, नसके एक कल फोन भने पनि गर्ने लत बस्नु, उहाँलाई दुख्दा आफूलाई पीडा महसुस हुनु अनि उहाँ निको हुँदा धेरै खुसी लाग्नु– सायद यस्तै हुनुपर्छ भावनात्मक स्वास्थ्यको प्रयोग, अस्पतालमा आरोग्यको मोडल ।

अबको बाटो

हाम्रो मेडिकल शिक्षा एकदम अब्बल छ । जुनीभरको ऊर्जा दिएर हाम्रा अग्रजहरूले असाध्यै राम्रो मेडिकल शिक्षाको पाठ्यक्रम बनाइदिनुभएको छ। २१औँ शताब्दीका चुनौतीहरूका प्रत्यक्षदर्शी बन्दै गर्दा अहिलेको पुस्ताका स्वास्थ्य समस्याहरू पक्कै पनि अघिल्लो पुस्ताका भन्दा धेरै भिन्न प्रकृतिका छन् । मानसिक समस्याहरू विश्वव्यापी रूपमा जटिल बन्दै गर्दा ती समस्याहरूबाट हाम्रा स्वास्थ्यकर्मीहरू पनि अछुतो छैनन् । एउटा रोगी र दुःखी व्यक्तिको उपचारले यहाँ कोही स्वस्थ हुन सक्दैन ।

त्यसैले सबैभन्दा पहिलो प्रयोग स्वास्थ्यकर्मी आफैँलाई गर्नुपर्ने देखिन्छ । त्यो भनेको आफूलाई आरोग्य बनाउने संकल्प र सोही अनुसारको आचरण र खुसी हुँदै काम गर्ने शिल्पको विकास हो । त्यसका लागि त्याग्नै पर्ने कुरा भनेको घमण्ड हो । घमण्डलाई जलाउने ब्रह्मास्त्र ध्यान हो।

त्यति कुरा प्रयोग गर्दै गर्दा बुझ्न सकियो र यो नै जीवनशैली बन्यो भने त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव परिवार र कर्म क्षेत्रमा सङ्गत हुने साथीभाइ र आफ्ना बिरामीहरूमा पर्न जान्छ ।

कसरी उहाँहरूको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने चिन्तनको विकास हुन्छ । राम्रा व्यक्तिहरूसँग सहकार्य र विचार-विमर्श हुन्छ र तदनुसारका नीति, नियमहरू तथा पाठ्यक्रमहरू बन्नेछन् । सेवा भाव र सकारात्मक सोच बोकेका नयाँ पुस्ता जब निर्माण हुनेछन्, तब आफ्नो उत्तरार्धमा राम्रो उपचार हामीले नै फेरि पाउन सक्नेछौँ ।

पूर्वीय ज्ञानको जननी थलोमा जन्मिएका हामी, ऋषि परम्पराबाट दीक्षित हाम्रो पुस्ता आफैँमा विराट ऊर्जाको खानी हो।

त्यसैले योग, ध्यान, आयुर्वेद, परम्परागत उपचार पद्धतिलाई जब आधुनिक चिकित्सासँग जोड्न सक्छौँ तब त्यसै दिनदेखि हाम्रो भाग्यको उदय हुनेछ।

त्यसै दिनदेखि हाम्रा स्वास्थ्य संस्थाहरू आरोग्य केन्द्र बन्नेछन् । यसलाई सकारात्मक सोचका साथ ब्रान्डिङ र प्याकेजिङ गर्न सकियो भने हामी उपचारका लागि विदेश जाने होइन, विदेशीहरू आरोग्य चिकित्साको रसास्वादन गर्न नेपाल आउनेछन् ।

हाम्रो देश सुख, शान्ति र समृद्धिले सिँगारिएको एक आरोग्य भूमि बन्नेछ।

(लेखक प्रा. डा. दीपक रेग्मी आरोग्य वृत्त (जीवन विज्ञान) संयोजक समेत रहेका छन् । )

आरोग्य
प्रा. डा. दीपक रेग्मी
लेखक
प्रा. डा. दीपक रेग्मी
वरिष्ठ नाक कान घाँटीरोग शल्यचिकित्सक  

मेडिकल काउन्सिल दर्ता नम्बर : ५५४४ एबीबीएस, एमएस ईएनटी अमृतम गमय आदि ईएनटी केयर, अन्नपूर्ण न्युरो अस्पताल, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय